१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जनकपुरमा चार गुना पर्यटक

यताउता जान संकेत बोर्ड र अन्य पर्यटकीय स्थलबारे प्रचारप्रसार नहुँदा बसाइ लम्ब्याउन नसकिएको व्यवसायीको गुनासो 
श्यामसुन्दर शशि

जनकपुर — भ्रमण वर्ष २०२० सुरु भएसँगै जनकपुरधाममा पर्यटक आगमन बढेको छ । यहाँका होटल तथा धर्मशाला भरिभराउ छन् । धर्मशाला सञ्चालकका अनुसार भारतीय पर्यटकको आगमन चौबरले बढेको छ । 

जनकपुरमा चार गुना पर्यटक

गंगासागर र धनुषसागरको किनारमा अवस्थित यहाँको सबभन्दा पुरानो गोपाल धर्मशालामा दैनिक ७ देखि १५ वटासम्म ठूला बस पर्यटकले भरिएको हुन्छ । भारतको विहार, उत्तर प्रदेश, हरियाना, दिल्ली, मध्यप्रदेशदेखि महाराष्ट्रसम्मका पर्यटक बोकेर आउने ती बसमा न्यूनतम ६० पर्यटक हुन्छन् । सामान्य दिनमा २ देखि ५ वटासम्म भारतीय बस आउने गरेकोमा अचेल दैनिक २० वटासम्म आउन थालेको गोपाल धर्मशालाका प्रबन्धक राजकुमार झाले जानकारी दिए ।


जनकपुरका पगलाबाबा धर्मशाला, मारवाडी सेवा समिति, रौनियार धर्मशाला, कलवार सेवा समितिसहित ठूला होटल तथा लज पनि आन्तरिक र बाह्य पर्यटकले भरिभराउ छन् । ‘पुस र माघमा भारतीय पर्यटकको चाप बढ्छ,’ प्रबन्धक झाले भने ।


जनकपुरधाम आउने अधिकांश पर्यटक काठमाडौं, पोखरालगायत धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण सकेर यहाँ आउँछन् । धार्मिक स्थलको दर्शन गर्न आउने यस्ता पर्यटकमध्ये अधिकांशलाई भने नेपाल भ्रमणवर्षबारे थाह छैन । पर्यटन प्रवर्धन हुने किसिमका ब्यानर, तुल र स्थान बुझाउने संकेत बोर्ड नहुँदा पर्यटक अलमलमा पर्छन् । गोपाल धर्मशालाबाट मुस्किलले ३ सय मिटरको दुरीमा रहेको जानकी मन्दिर पुग्न उनीहरूले स्थानीयसँग सोधपुछ गर्नुपर्ने बाध्यता छ । पर्यटकीय गन्तव्यबारे थाह नहुँदा पर्यटक एकै दिनमा फर्किन्छन् ।


गोपाल धर्मशालामा भेटिएका भारत, मध्य प्रदेशका राधेश्याम मिश्रले संकेत बोर्ड नभएकैले धर्मशाला पुग्न बस चालकलाई एक घण्टा भौंतारिनु परेको बताए । ‘नगरमा प्रवेश गर्नेबित्तिकै धर्मशाला, मन्दिर तथा अन्य पर्यटकीय गन्तव्यबारे जानकारीसूचक बोर्डहरू राखिदिँदा नयाँ पर्यटकलाई सजिलो हुन्छ,’ मिश्रले भने ।


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत प्रदेशभित्र धार्मिक पर्यटनको पर्याप्त सम्भावना रहेको बताउँछन् । उनले प्रदेशभित्रका हिन्दु, इस्लाम, बौद्ध, सिख तथा जैन धर्मसँग सम्बन्धित संरचनाको पुनर्निर्माण, सौन्दर्यीकरण तथा व्यवस्थापनसम्बन्धी योजना थालिएको बताए । राउतका अनुसार जनकपुरको जानकी मन्दिर, सप्तरी सखडाको छिनमस्ता, महोत्तरीको रौजा मोजार, बाराको गढीमाईलगायत धार्मिक स्थलको सौन्दर्यीकरण परियोजना सुरु हुँदै छ ।

मिथिला संस्कृतिको उद्गमस्थल जनकपुरधाममा पर्यटकको ओइरो लागे पनि अधिकांश पर्यटक जानकी मन्दिर, राममन्दिर र राजदेवीलगायत केही मन्दिरको दर्शन गरेर फर्किने गरेका छन् । उनीहरूलाई जनकपुरभित्र र वरिपरिका अन्य मठ–मन्दिरबारे जानकारी हुन्न ।


जनकपुरलाई ५२ कुटी र ७२ कुण्ड अर्थात् पोखरीको सहर पनि भनिन्छ । यहाँका दुलहा–दुलही मन्दिर, रत्नसागर मठ, कपिलेश्वर नाथ, कूपेश्वरनाथ मन्दिर, हनुमान गढी, चमिनिया माई, अमरखना देवी, पियरिया माईलगायत दर्जनौं मठ–मन्दिर तथा गंगासागर, धनुषसागर, अंगराग सर, महाराज सर, दशरथ सरलगायत पोखरी पनि छन् ।


सफाइ अभियन्ता रामाशिष यादवको पहलमा गंगासागरमा सुरु गरिएको दैनिक महागंगा आरती तथा अभियन्ता पवन सिंघानियाको पहलमा निर्माण गरिएको स्वर्गद्वारी पनि पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पर्यटकलाई यी गन्तव्यबारे जानकारी दिएर उनीहरूको बसाइ लम्ब्याउन सकिने स्थानीयको भनाइ छ । यसबाहेक मिथिला भोजन, पोसाक, रहनसहन तथा संस्कृतिबारे जानकारी दिएर पनि पर्यटकलाई आकर्षित गर्न सकिने संस्कृतिविद् सुनील मल्लिक बताउँछन् ।


‘जनकपुर मिथिला संस्कृतिको उद्गम स्थल हो । यहाँका मठमन्दिर मात्र होइन, कला–संस्कृति पनि हेर्न लायक छन् । सानो प्रयासले पाहुनाको बसाइ लम्ब्याउन सकिन्छ,’ मल्लिकले भने ।

प्रकाशित : पुस २८, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?