सेनाको जागिर छोडेर च्याउखेती

सुनिता बराल

(महोत्तरी) — नेपाली सेनाको जागिरे उनलाई आफ्नै व्यवसाय गर्ने हुटहुटीले सताउन थाल्यो । २०६३ सालमा जागिर छोडे, अनि सुरु गरे च्याउखेती । महोत्तरीको बर्दिवास–३ पाटुका रामकृष्ण कार्की अहिले महिनामा ४ लाख रुपैयाँ आम्दानी गर्छन् । १४ वर्षअघि थालेको च्याउखेतीले उनी मालामाल भएका छन् । उनले ८ वटा टनेलबाट दैनिक १ क्विन्टलभन्दा बढी च्याउ उत्पादन गर्दै आएका छन् ।

सेनाको जागिर छोडेर च्याउखेती

२ लाख लगानी गरेर सुरु गरेको च्याउखेतीमा अहिले ९ लाख रुपैयाँ थपेका छन् । ८ जनालाई रोजगारी समेत दिएका छन् । प्रतिकामदार १५ हजारदेखि १८ हजार रुपैयाँसम्म तलब दिएको उनले बताए ।


कार्कीले उत्पादन गरेको च्याउ सिन्धुली, सर्लाही र महोत्तरीसम्म निकासी हुने गरेको छ । मागअनुसार च्याउ पुर्‍याउन नसकिएको उनले बताए । उनले. प्रतिकेजी च्याउ थोकमा १ सय ६० रुपैयाँमा विक्री गर्दै आएका छन् । बिहान उज्यालो भएपछि घरमै पनि च्याउ लिन आउनेको भीड लाग्ने गरेको उनले बताए । कार्कीले प्रदेशका झण्डै ५ सय किसानलाई च्याउखेती गर्ने सीप सिकाएका छन् । सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा तालिम दिएपछि २० जनाले व्यावसायिक च्याउखेती थालेको उनले बताए ।


उनको काम देखेर गाउँमा च्याउखेतीप्रति आकर्षण बढेको छ । कार्कीबाटै सिकेर गाउँमा अहिले २५ भन्दा बढी व्यक्तिले व्यावसायिक च्याउखेती गर्दै आएका छन् । चिसो मौसम च्याउका लागि उपयुक्त हुने भएकाले दिनमा एउटै गाउँबाट ५ क्विन्टलसम्म च्याउ निकासी हुने गरेको छ ।


गतवर्ष च्याउखेतीबाट आफूले १४ लाख रुपैयाँ आम्दानी गरेको अर्का किसान कृष्ण खड्काले जानकारी दिए । दुईजना मिलेर साझा खेती गरेका खड्काले यस वर्ष दोब्बर च्याउ उत्पादन गर्ने लक्ष्य राखेका छन् । आयस्रोत बढाउन उपाय खोजिरहेका बेला च्याउखेतीको तालिम पाएपछि जीवन नै बद्लिएको स्थानीय अनिता कार्कीले बताइन् । मनग्य आम्दानी हुने भएकाले ४ वर्षदेखि च्याउखेती गर्दै आएको उनले जनाइन् ।


व्यावसायिक खेतीका लागि सरकारले सहुलियत नदिएको किसानको गुनासो छ । व्यावसायिक खेती गर्नर्लोई ६ प्रतिशत ब्याजदरमा सरकारले सहुलियत ऋण उपलब्ध गराउने सुने पनि हालसम्म नपाएको उनीहरूको भनाइ छ । बर्दिवास–३ को उत्तरी क्षेत्रलाई च्याउ पकेट क्षेत्र घोषणा गरिएको छ । सरकारले सहयोग गरिदिए बजारको मागअनुसार च्याउ उत्पादन गर्न सकिने नेपाल च्याउखेती महासंघ प्रदेश २ का अध्यक्षसमेत रहेका कार्कीले बताए ।

प्रकाशित : पुस २६, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?