१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अस्पतालमा दुई नवजात शिशुको मृत्यु घटना छानबिन सुरु

भरत जर्घामगर

सिरहा — शल्यक्रियाद्वारा प्रसूति गराइएका दुई महिलाका शिशुको मृत्यु भएपछि लहानस्थित सप्तऋषि अस्पतालविरुद्ध स्थानीय प्रशासनले छानबिन सुरु गरेको छ ।

अस्पतालमा दुई नवजात शिशुको मृत्यु घटना छानबिन सुरु

शल्यक्रियामा संलग्न चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै जाहेरी परेपछि स्थानीय प्रशासनले चासो लिएको हो । गत शुक्रबार साँझ प्रसूति गराइएका सिरहा सखुवानन्कारकट्टी–३ दिनाजपुरकी जानकी यादव र औरही–१ दरैयाकी प्रमिला यादवका शिशुको मृत्यु भएपछि पीडितका आफन्तले प्रहरीमा संयुक्त जाहेरी दिएका थिए ।


जानकीका पिता घुरन साहले शुक्रबार साँझ ७ बजे छोरीलाई अस्पताल भर्ना गरे पनि चिकित्सकले ढिला अपरेसन गरेका कारण शिशुको मृत्यु भएको आरोप लगाए । शल्यक्रिया डा. सुनील बिराजीको टोलीले राति १२ बजे गरेको उनले बताए । शल्यक्रियामा संलग्न चिकित्सक, अस्पताललाई कारबाही र क्षतिपूर्तिको मागसहित प्रहरीमा जाहेरी दिएको उनले बताए ।


घटना छानबिनका लागि मंगलबार जिल्ला प्रशासनले इलाका प्रशासन कार्यालय लहानका प्रमुख उपसचिव कमलराज भण्डारीको संयोजकत्वमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवसहितको समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पीडितका आफन्तले शल्यक्रियामा संलग्न चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएको, उपचारमा लापरबाही गरेको र स्वास्थ्य संस्थाहरूको कानुनी कागजपत्रसहित घटनाको छानबिनका लागि समिति बनाएर अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।


सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जाहेरीका आधारमा प्रहरीले पनि अनुसन्धान अगाडि बढाइएको बताएका छन् । ‘शिशु गाडेको भनिएको स्थल बलान नदी किनारमा खोजी गर्दा एउटा शव भेटियो, अर्को भेटिएको छैन,’ उनले भने । गत शुक्रबार शल्यक्रियाबाट जन्मेका दुई शिशुको मृत्यु भएको र एक शिशुको सामान्य प्रसूतिका क्रममा मृत्यु भएको अस्पतालबाट बुझिएको प्रहरीले जनाएको छ ।


अस्पताल प्रशासनले भने डा. रन्जिता जयसवालको टोलीले शल्यक्रिया गरेको र उपचारका क्रममा लापरबाही नदेखिएको दाबी गरेको छ । ‘बच्चा र सुत्केरी दुवैको अवस्था खराब देखिँदा आमालाई हामीले बचाउन सफल भयौं,’ अस्पताल प्रमुख डा. पशुपति चौधरीले भने, ‘एउटा बच्चाले पेटभित्रै दिसा खाएको र एकजना सुत्केरीको शल्यक्रिया गर्नुभन्दा अघि नै पाठेघर फुटेकै अवस्थामा भर्ना गरिएकाले शिशुको मृत्यु भए पनि शल्यक्रियामा सुत्केरीलाई बचाएका हौं ।’ शल्यक्रिया गरिएका जानकीको पाठेघर फुटेको र प्रमिलाको पेटभित्रै बच्चाले दिसा सेवन गरेकाले बचाउन नसकिएको उनले दाबी गरे ।

प्रकाशित : पुस २२, २०७६ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?