तस्करी आरोपमा ट्र्याक्टर नियन्त्रण, व्यवसायीले मुख्यमन्त्री गुहारे

भूषण यादव

(वीरगन्ज) — पर्सा प्रहरीले शुक्रबार बिहान वीरगन्ज–२१ बगहीबाट अवैध रूपमा बालुवा भारत लैजान लागेको भन्दै ६ वटा ट्र्याक्टर नियन्त्रणमा लियो । 

त्यही दिन साँझ ती ट्र्याक्टर अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । ट्र्याक्टर नियन्त्रणमा लिइएको स्थान सीमाक्षेत्रभन्दा ८ किमि यता पर्छ ।


बाराको दुधौरा खोलाबाट रोयल्टी तिरेर बालुवा बिक्रीका लागि वीरगन्ज ल्याउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले आरोप लगाएका छन् । वीरगन्ज–३१ बेल्वा र मिलनचोकका ट्र्याक्टर धनी, चालक र स्थानीयले आइतबार प्रहरीविरुद्ध नाराबाजी गरे । मुख्यमन्त्री लालबाबु राउत जिल्ला समन्वय समितिको कार्यक्रममा आएको थाहा पाएपछि उनीहरूले त्यहीँ पुगेर प्रहरीले अनावश्यक पीडा दिएको दुखेसो सुनाए ।


‘ट्र्याक्टरको किस्ता तपाईंहरू नै तिरिदिनू,’ बेल्वाका शेख भिखारीले मुख्यमन्त्रीलाई भने, ‘काम गरेर खान खोज्दा प्रहरीले किसानको ट्र्याक्टर नियन्त्रणमा लिएर लिलामका लागि भन्सार बुझाइदियो ।’ सीमाभन्दा ८/१० किमि यतै नियन्त्रणमा लिइएका ट्र्याक्टर प्रहरीले कुन आधारमा भारततर्फ गइरहेको भनेको भन्दै उनले प्रश्न गरे– ‘सीमानाकामा यति धेरै नेपाल प्रहरी र सशस्त्र प्रहरीका चौकी छन्, भारततर्फ बालुवा तस्करी गर्नेले त्यही नाका भएर लैजान्छन् ?’

मुख्यमन्त्री राउतले यो विषयमा आइजीपीसँग पनि कुरा भएको सुनाए । ‘यसमा प्रहरी पूर्वाग्रही देखियो,’ उनले भने, ‘हामी के गर्न सक्छौँ, तपाईंहरूको मर्काप्रति प्रदेश सरकार गम्भीर छ, पीडामा सँगै छौँ ।’ बालुवालगायत नदीजन्य पदार्थको व्यवस्थापन अहिले प्रदेश सरकार मातहत पर्छ । ‘४० प्रतिशत रोयल्टी स्थानीय सरकार र ६० प्रतिशत प्रदेश सरकारले बाँडफाँड गर्छन्,’ मुख्यमन्त्रीले भने, ‘बालुवामा गैरकानुनी काम भएको छ भने त्यो हेर्ने वन कार्यालय हो, भन्सार हैन ।’


प्रहरीले शुक्रबार बिहान लालपर्सा–गाईगोठ सडकखण्डबाट ६ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको सुलेमान मियाँले जनाए । बिहीबार सोही स्थानबाट प्रहरीले परवानीपुरका ५ वटा ट्र्याक्टरसँग दुई हजार ५ सय रुपैयाँ लिएर छाडेको ट्र्याक्टर चालक सेख सद्दामले सुनाए ।


अर्का चालक सेख जावेदले प्रहरीले लालपर्साबाट नियन्त्रणमा लिए पनि जिल्ला प्रहरी कार्यालयमा सिर्सिया भन्सार हुँदै भारततर्फ जान लागेको अवस्थामा नियन्त्रणमा लिएको भनी लेखिएको पत्रमा जबरजस्ती हस्ताक्षर गराएको आरोप लगाए । ‘६ जना चालकमध्ये निरक्षर रहेका ४ जनाले हस्ताक्षर गरे,’ चालक सेख सद्दामले भने, ‘हामी दुई जनाले पढेर सही गर्न मानेनौँ ।’ बरामदी मुचुल्कामा हस्ताक्षर गर्न नमानेका सद्दाम र सेख जकरुद्दिनलाई प्रहरीले साँझसम्म थुनेको थियो ।


‘पुस १५ गते लोड भएको बालुवा अंग्रेजी नयाँ साल र खराब मौसमका कारण १८ गते बिहान ल्याइरहेका थियौँ,’ सद्दामले भने, ‘सिर्सिया बोर्डरतिर गएका रहेछौँ भने हाम्रो मोबाइलको लोकेसन जाँच होस्, सही र गलत थाहा भइहाल्छ ।’ एक ट्र्याक्टर बालुवाको ८ सय रुपैयाँ लोयल्टी बुझाएर वीरगन्ज ल्याउँदा ३ हजार २ सय रुपैयाँमा बिक्री हुने गरेको व्यापारी बताउँछन् । एक हजार रुपैयाँ डिजेल र चालकको खुराक गरी एक ट्रिपमा मुस्किलले ७/८ सय रुपैयाँ जोगिने मुमताजले बताए ।


यसैगरी प्रहरीले गत मंसिर १४ मा सीमावर्ती भिस्वा बजारमा ज्याकेट, ल्वाङ, छोकडा, अलैंची, ज्वानो, ब्ल्यांकेटलगायत सामान लोड गरिएको ना४त ५३२२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर भन्सारमा बुझाएको थियो । बिलबीजकसहित सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी वीरगन्जबाट किनेर ल्याउँदा पनि प्रहरीले तस्करी आरोपमा भन्सारमा बुझाउने गरेको भन्दै भिस्वाका व्यवसायीले एक सातासम्म विरोध प्रदर्शन गरेका थिए । ‘तस्करी गर्नेलाई कारबाही गर्नुपर्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक व्यापारीले भने, ‘तर, आफैं तस्करसँग सेटिङ गर्ने अनि पैसा नदिने व्यापारीलाई दुःख दिन भएन ।’


गत पुस २५ मा विन्ध्यवासिनीनजिकै किराना सामान तस्करी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भारतबाट मोटरसाइकलमा सामान ल्याएका उनलाई २५ हजार रुपैयाँ लिएर छाडिएको फोन रेकर्ड नै सार्वजनिक भएको ती व्यापारीले बताए । पर्सा प्रहरी प्रवक्ता वीरेन्द्र शाहीले भने बालुवा भारत जान लागेको सूचना आएपछि नियन्त्रणमा लिइएको बताए । ‘बालुवा, मरिच, केराउ जाने भनेकै भारत हो,’ उनले भने, ‘नियन्त्रणमा लिएपछि विरोध गर्छन् ।’ बालुवा लोड भएको ट्र्याक्टर छाड्न पैसाको प्रस्तावसमेत आएको उनले खुलाए ।

प्रकाशित : पुस २२, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?