२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बीओपी थप्न सशस्त्रलाई जग्गा अभाव

जिल्लामा सशस्त्रका प्रहरीका अधिकांश इकाइसँग आफ्नै जग्गा र भवन छैन । यस्तोमा सरकारले प्रस्ताव गरेका थप पाँचवटा बीओपी कहाँ राख्ने भन्ने अन्योल छ । 
शंकर आचार्य

पर्सा — सरकारले भर्खरै थप्ने निर्णय गरेका सशस्त्र प्रहरीका १ सय ४४ बिओपी (बोर्डर आउट पोस्ट) मध्ये पाँचवटा पर्सामा पर्छन् । छिपहरमाई, धोबिनी, जगरनाथपुर, जिराभवानी र ठोरी गाउँपालिकामा बिओपी प्रस्ताव गरिएका हुन् । छिपहरमाई–१ मिर्जापुरमा एक महिनाभित्रै स्थापना गर्न सशस्त्र प्रहरी मुख्यालयले सीमा सुरक्षा कार्यालयलाई निर्देशन दिएको स्रोत बताउँछ । तर त्यहाँ पोस्ट बनाउन जोडतोडसाथ जग्गा खोजिए पनि टुंगो लागिसकेको छैन । 

बीओपी थप्न सशस्त्रलाई जग्गा अभाव

जिल्लाका सशस्त्र प्रहरी प्रमुख एसपी दीपेन्द्र कुँवरले मिर्जापुरमा ३ बिघा ऐलानी जग्गा फेला परेको बताए । ‘गाउपालिकाले उक्त जग्गा बिओपीका लागि दिने निर्णय गरेको छ,’ उनले भने, ‘तर सम्पूर्ण प्रकृया पूरा गरी जग्गा प्राप्त गर्न थप समय लाग्नेछ ।’ अन्य बिओपीका लागि पनि जग्गा खोजी भइरहेको तर नपाएको उनले बताए ।

जिल्लामा सशस्त्र प्रहरी आएको १२ बितिसक्दा पनि यसका अधिकांश इकाइसँग आफ्नै जग्गा र भवन छैन । सीमा सुरक्षा जिल्ला कार्यालय नै गत वर्ष वीरगन्ज चिनी कारखानाको जग्गामा भवन बनाई सञ्चालन भएको छ । यसबाहेक बिओपी अलौंको आफ्नै ७ कट्ठामा बनेको भवन छ । पकाहामैनपुर गाउँपालिकामा बिओपी सबैठवाको ५ कट्ठा ३ धुर जग्गा छ । यी जग्गा पनि सम्बद्ध पालिका तथा स्थानीयको सहयोगमा उपलब्ध भएका हुन् ।

अधिकांश स्थानमा नारायणी सिँचाइ आयोजना, वीरगन्ज चिनी कारखानाजस्ता प्रयोगविहीन सरकारी भवनमा सशस्त्रका इकाइ राखिएका छन् । बिओपी छपकैया जिल्ला शिक्षा समन्वय समितिको भवनमा छ । जिल्लामा वीरगन्ज–३ छपकैया, वीरगन्ज–२६ सुगौलीवीर्ता, बिन्दवासिनी–३ इटियाही, पकाहामैनपुर–३, पकाहामैनपुर–५ सबैठवा, छिपहरमाई–४ बन्जारी, धोबिनी–२ भिखमपुर, ठोरी–५ गडुवालाइन र ठोरी–२ मा गरी ९ वटा बिओपी सञ्चालित छन् ।

यसबाहेक सशस्त्र प्रहरीकै वीरगन्ज कारागार, वीरगन्ज, बेल्वा, बहुअर्वाभाठा, बागेश्वरी तित्रौना र पोखरियामा गरी आधा दर्जन बेस सञ्चालनमा छन् । कारागार बेस वीरगन्ज कारागार भवनमा, वीरगन्ज बेस जिल्ला प्रशासन कार्यालय, बेलवा बेस पशु सेवा विकास केन्द्र, बहुअर्वाभाठा बेस कृषि कार्यालय, बागेश्वरी तित्रौना बेस सिँचाइ कार्यालय र पोखरिया बेस पोखरिया विद्युत् शाखा कार्यालयको भवनमा छ ।

अधिकांश इकाइको आफ्नो भवन नहुँदा समस्या परिरहेको प्रहरी उपरीक्षक कुँवर बताउँछन् । ‘पुराना, मक्किएका, जीर्ण भवनमा वर्षा र हिउँदको परबाह नगरी कार्यालय सञ्चालन गरेका छौं,’ उनले भने, ‘पुरानै युनिटका लागि नपाइरहेको अवस्थामा प्रस्तावित थप ५ वटा बिओपीका लागि जग्गा खोज्नु अत्यन्त जटिल काम भएको छ ।’

प्रहरीलाई भनेपछि सकेसम्म कसैले जग्गा दिन नचाहने प्रवृत्ति रहेको उनको बुझाई छ । ‘सशस्त्र प्रहरी गाउँमा बस्दा सीमापारिबाट हुने तस्करी गर्न नपाइने र अन्य केही गलत बुझाइका कारण स्थानीयले सकेसम्म जग्गा दिन चाहँदैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा जग्गा पाउन र आफ्नै भवन निर्माण गर्न अत्यन्त गार्‍हो हुन्छ ।’ सीमा सुरक्षा तथा निगरानी प्रयोजनका लागि बसे पनि जिल्लामा सशस्त्र प्रहरीका अधिकांश इकाइ नेपाल–भारत सीमाबाट निकै टाढा स्थापना गरिएका छन् । यसले सीमापारिबाट हुने तस्करी र अपराध नियन्त्रण तथा सीमा अतिक्रमण रोक्नेतर्फ सशस्त्र प्रहरीको ध्यान कम जान सक्छ ।

जिल्लामा सशस्त्रका अधिकांश इकाइ सीमाबाट ४ देखि ७ किमि दुरीमा छन् । बिओपी भिखमपुर सीमाबाट करिब १२ किमी उत्तरमा छ । एसपी कुँवर बाध्यताले गर्दा यस्तो हुन पुगेको बताउँछन् । ‘सीमामा सार्वजनिक भवन तथा संरचना नभएकाले त्यहाँबाट जति नजिक त्यस्ता भवन भेटियो, त्यहीँ इकाइ स्थापना गरेका हौं,’ उनले भने, ‘सीमानजिकै पाइए हामीलाई त्यहाँ बस्न कुनै अप्ठेरो छैन ।’ भारतीय सीमा सुरक्षा फौज (एसएसबी)का इकाइ भने सीमाक्षेत्रमै स्थापना गरिएका छन् । यसले सीमामा बस्ने नेपालीको मनोबलसमेत खस्कने गरेको छ ।

प्रकाशित : पुस २१, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?