१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चिसोमा दलित परिवार भोकै

घरमा डोजर चलाइएपछि त्रिपालमुनि आइपुगेका उनीहरु चिउराको भरमा छन् । चिसोले बालबालिका र वृद्धवृद्धालाई सकस छ ।
भरत जर्घामगर

(सिरहा) — घरमा डोजर चलेपछि त्रिपालमुनि चिसो काटिरहेका सिरहा नगरपालिका–६ बसबिट्टाका सुकुम्बासी परिवार दुई दिनयताको वर्षाले भात पकाउन नपाउँदा भोकभोकै परेका छन् । जसोतसो ओत लागे पनि त्रिपालभित्रै पानी पसेपछि उनीहरूको चुलो जलेको छैन । 

चिसोमा दलित परिवार भोकै

‘पानी परिरहेकाले दुई दिनदेखि खाना पकाएका छैनौं,’ काखे छोरीलाई दुध चुसाईरहेकी कारी महराले भनिन् ‘पानी दर्किएको दर्कियै छ, चिउरा–मुरही खाएर धानिएका छौं ।’ फुको चिउरा चपाउन नसक्दा बच्चा र वृद्धवृद्धालाई समस्या छ ।


थातथलो उजाडिएपछि पीडित परिवारलाई नगरपालिकाले एक थान त्रिपाल, एक थान म्याट, तीनवटा कम्बल, ५० किलोग्राम चामल, डेढ किलो दाल, नुन, तेल, चिउरा, मुरही र ५ क्विन्टल दाउरा उपलब्ध गराएको थियो ।


नगरपालिकाले उपलब्ध गराएको चामलसमेत सकिएको पीडितले गुनासो पोखे । बस्तीमा विभिन्न संघसंस्थाका व्यक्ति चिल्लो गाडी चढेर आए पनि राहत नपाएको उनीहरू बताउँछन् । पानी परेर चिसो बढेपछि ६ परिवार झन् बिचल्लीमा परेका छन् । ‘त्रिपालले समेत पानी थेग्न छाडेको छ,’ महराले भनिन्, ‘अझै पानी परिरहे बाँच्ने आशा मारेका छौं ।’


त्रिपालमा बस्दै आएका ७० वर्षीय रामजी महरा थलिएका छन् । ‘चिसो झन् बढेपछि श्वास फेर्न गाह्रो हुन्छ,’ उनले भने, ‘थातथलो पनि उजाडियो, चिसोले त्रिपालमैं मरिन्छ जस्तो लाग्न थालेको छ ।’


राति त्रिपालमै स्यालले दु:ख दिने गरेको उनीहरूले सुनाए । एकै त्रिपालमुनि कारीका दुई छोरीसहित ६ जनाको परिवार कोचिन बाध्य छ । घर उजाडिएका सबैजसो परिवारले मजदुरीमा खटेर गुजारा चलाउँदै आएका थिए ।

‘रातभर शीतले छपक्कै ढाक्दा चिसो सहिनसक्नु हुन्छ,’ रिझो महराले भनिन्, ‘लालाबाला यही चिसोले लैजान्छ कि भन्ने पीरले रातभर निद्रा पर्दैन ।’ त्रिपालमा बिछ्यौना भनेको पराल मात्र छ । रिझोका चार सन्तान र पति त्यहीँ बस्छन् ।


सिरहा नगरपालिका–१ का दामोदर प्रधानांगले आफ्ना बाजे लालबहादुरले मन्दिरलाई दिएको जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै गत पुस ६ गते रामजी महरा, रामवृक्ष, रिझो, फूल्चो, समतौलिया, नीलम महरालाई त्यहाँबाट हटाएका थिए । घरमा डोजर चलाइएपछि उनीहरूले नजिकैको आँपबगैचामा आश्रय लिएका छन् । बाबुबाजेको पालादेखि बस्दै आएको जग्गाबाट उठिबास भएपछि कहाँ गएर बस्ने भन्ने पिरलो भएको उनीहरूले दुखेसो पोखे ।


अतिक्रमित जग्गा खाली गर्न पटकपटक सूचना दिए पनि अटेर गरेपछि अदालतको फैसला अनुसार घर भत्काएको जग्गाधनी प्रधानांगको भनाइ छ । उनका अनुसार बाजे लालबहादुरले सय वर्ष पहिला नै राधाकृष्ण मन्दिरका नाममा नीजि गुठी बनाएर कित्ता नम्बर २६८ देखि २७२ सम्म करिब चार बिघा जग्गा राखेका थिए । त्यसमध्ये एक कट्ठा उनीहरूले अतिक्रमण गरेको र पटकपटक हट्न भन्दा पनि नमानेपछि अदालत गएको प्रधानांगको भनाइ छ ।


जिल्ला अदालत सिरहाले ती घरटहरा हटाउने फैसला गरेको थियो । घर भत्काउन समय माग्दा पुलिससहित आएर जबरजस्ती डोजर लगाइएको पीडितको गुनासो छ ।

प्रकाशित : पुस २०, २०७६ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?