२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सुत्केरीलाई किनाइन्छ निःशुल्क औषधि

यस वर्ष जिल्ला जनस्वास्थ्य कार्यालयले नै औषधि नपठाएकाले बिरामीलाई उपलब्ध गराउन सकेनौं : अस्पताल
भरत जर्घा मगर

सिरहा — सरकारले आमा सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा निःशुल्क प्रसूतिसेवासहित सुत्केरीलाई यातायात खर्चसमेत उपलब्ध गराउँछ । तर सिरहाको रामकुमार–उमाप्रसाद स्मारक अस्पतालमा प्रसूति हुन आउनेहरू यातायात खर्चबाट त वञ्चित छन् नै, निःशुल्क दिइने औषधिसमेत किन्नुपर्ने बाध्यतामा छन् ।

सुत्केरीलाई किनाइन्छ निःशुल्क औषधि

सखुवानन्कारकट्टी–३ की पुनमदेवी यादवले राउ स्मारक अस्पतालमा पुस ३ गते छोरा जन्माइन् । आमा र शिशुको रगत फरक देखिएपछि चिकित्सकले प्रसूति भएको ७२ घण्टाभित्र एन्टी डी इन्जेक्शन दिनुपर्ने भन्दै किनेर ल्याउन सुझाए । निःशुल्क प्रसूति सेवा दिने भनिएको अस्पतालका चिकित्सकले इन्जेक्सन नलगाए अर्को पटक गर्भपतन हुने डर देखाएपछि आफन्तले महंगोमा किनेर ल्याए ।


पुस ९ गते सोही अस्पतालमा छोरा जन्माएका लहान नगरपालिका–२४ की मन्जुकुमारी साह र सप्तरीको खड्ग–७ की रोशा खातुनलाई पनि आमा र बच्चाको रगत नमिलेको भन्दै चिकित्सकले एन्टी डी इन्जेक्सन किन्न लगाए । अस्पतालमा यो औषधि उपलब्ध नभएकै कारण उनीहरूले बाहिरबाट किन्नुपर्‍यो । बाहिर पसलेले त्यो औषधिलाई ५ सयदेखि ४ हजार रुपैयाँसम्म मनपरी मूल्य लिने गरेका छन् ।


‘निःशुल्क प्रसूतिसेवा र यातायात खर्च पाईन्छ भनेर अस्पतालमा सुत्केरी गराउन आयौं,’ मन्जुले भनिन्, ‘यातायात खर्च त पाएनौं नै, उल्टै औषधिसमेत किन्नुपर्‍यो ।’


अघिल्लो वर्षसम्म जिल्ला जनस्वास्थ्य कार्यालयले एन्टी डि इन्जेक्सन उपलब्ध गराए पनि यस वर्ष नपठाएकाले बिरामीले खरिद गर्नुपरेको अस्पतालले जनाएको छ । ‘पहिला औषधि नहुँदा सुत्केरीले खरिद गरे पनि बिल राख्न भनेका थियौं, पछि बजेट निकासा भएपछि बिलअनुसार रकम दिने गरेका थियौं,’ मेडिकल रेकर्डर अधिकृत बुदुर भगतले भने । अहिलेसम्म कुनै कार्यादेश नआए पनि सुत्केरीलाई औषधिको बिल राख्न भनेको उनले जानकारी दिए । रकम निकासा भए फेरि पनि बिलअनुसार उपलब्ध गराउने भगतले बताए ।


अस्पताल आएका सुत्केरी यातायात खर्चबाटसमेत वञ्चित छन् । रकम निकासा नभएकै कारण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सुत्केरी हुनेले यातायात खर्च पाएका छैनन् । अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि पुस १५ सम्म १ हजार ६ सय ५४ जनालाई प्रसूति गराइएको छ । अस्पतालले ती सबैलाई यातायात खर्चबापत एक हजार रुपैयाँ उपलब्ध गराउनुपर्छ । गर्भवती अवस्थामा चारपल्ट जँचाएको कार्ड ल्याए ८ सय थप रकम दिनुपर्ने हुन्छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाले आमा सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्यसंस्थामा नियमित जाँच तथा प्रसूति गराउनेलाई प्रदेश सरकारमार्फत रकम उपलब्ध गराउने व्यवस्था छ । तर, चालु आर्थिक वर्षको ५ महिना बित्तिसक्दा समेत रकम नआएको हो । रकम निकासा नभएकाले पछि दिने वाचासहित सुत्केरीको सम्पर्क नम्बर लिएर घर पठाउने गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित : पुस १९, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?