विवादकै बीच नगरपरिषद्

कान्तिपुर संवाददाता

(रौतहट) — फतुवा विजयपुर नगरपालिकाले ६ महिना ढिलो गरी परिषद् सम्पन्न गरेको छ । विवादका बीच भएको परिषद्लाई उपमेयरले बहिष्कार गरिन् । स्थानीय तहले असार मसान्तभित्र परिषद् गरी प्रदेश र संघीय सरकारलाई जानकारी गराउने प्रावधान रहे पनि यहाँ मेयर गोपाल राय यादव र उपमेयर कान्तिदेवी महतोबीचको विवादले ढिलाइ भएको हो । 

ZenTravel

चार दिनअघि परिषद्बारे मेयर यादवले जानकारी दिए पनि उपमेयर महतोले ठाडै अस्वीकार गरेकी थिइन् । दुवैबीच बजेटको भागबन्डामा सहमति हुन सकेको थिएन । महतोले मेयर यादवले एकलौटी ढंगले परिषद् गरेकाले मान्य नहुने बताइन् । ‘बहुमत आफ्ना पक्षमा भए पनि केही साथीलाई विभिन्न किसिमले आफ्नो पक्षमा पारेर परिषद् गरेको छ,’ उनले भनिन, ‘बिनाजानकारी गराइएको परिषद् मान्दैनौं । यसका लागि कानुनी बाटो खोज्छौं ।’

Meroghar

मेयर यादवले तेस्रो नगर परिषद्मा ५० करोड ४१ लाख ७० हजार ३ सय २३ रुपैयाँ बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । परिषद् नभएकै कारण साउनदेखि नगरपालिकाभित्रका शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीले तलब पाएका थिएनन् । यो नगरमा मेयर यादव र उपमेयर महतोले एकले अर्कालाई अनियमितता गरेको आरोप लगाउँदै आएका छन् । मेयर कांग्रेस र उपमेयर नेकपाका हुन् । अधिकाश वडामा नेकपाकै वर्चस्व छ ।

उपमेयर महतोले आफ्नै पार्टीका जनप्रतिनिधिलाई प्रलोभनमा पारेर बहुमत भन्दै हस्ताक्षर गराई विमतिबीच परिषद् गरिएको आरोप लगाइन् । मेयर यादवले भने बहुमत जनप्रतिनिधिकै आधारमा सम्पन्न भएको दाबी गरे । ‘धेरै समय परिषद् नहुँदा अन्योल बन्यो । विकास निर्माणलगायत सबै काम अवरुद्ध भयो,’ उनले भने, ‘सबैको साथ र सहयोगले परिषद् भएको हो । यसमा उपमेयरज्यूले चित्त दुखाउनुपर्ने ठाउँ छैन ।’ यहाँ उपमेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोक्काबिच पनि विवाद थियो ।

उपमेयर महतोले अधिकृत रोक्का र मेयर यादवले लालबकैया नदीको ग्राभेल, ढुंगा, गिट्टी र बालुवाको निकासी ठेक्कामा आफ्नो मानिस खटाएर रकम असुलेको आरोप लगाएकी थिइन् । पछि रोक्का आफैले सरुवा मागेर गए । बजेट बाँडफाँट, योजना अनुगमन, कार्यपालिका बैठकलगायत विषयमा मेयरले बाइपास गरेको उपमेयरले आरोप लगाउँदै आएकी थिइन् । उनले छानबिनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रहसमेत गरेकी थिइन् ।

यता देवाही गोनाही नगरपालिकामा मेयर धर्मेन्द्र पटेल र उपमेयर पनरनिया देवीबीचको विवादले परिषद् अन्योलमा परेको छ । दुवैबीच बजेट बाँडफाँटमा सहमति हुन सकेको छैन । उपमेयर पनरनियाले मेयरको भागमा रहेजतिकै बजेट आफूलाई चाहिने बताएकी छन् । यसबीच प्रमुख प्रशासकीय अधिकृत शिकन्दरप्रसाद साहले दुवैलाई राखेर सहमतिको प्रयास गरेका थिए ।

उपमेयरले विभिन्न बखेडा निकाल्दै आएको मेयर पटेलको आरोप छ । ‘सहमति गरौं । परिषद् नहुँदा सन्देश राम्रो गएन भन्ने हाम्रो भनाइ हो,’ उनले भने, ‘बजेट यति चाहियो र उति चाहियो भनेर मागेपछि कसरी सहमति गर्ने ? उहाँकै कारण परिषद् हुन सकेको छैन ।’ झन्डै ४० करोड बजेट रहेको यो नगरपालिकामा गत वर्ष पनि परिषद् हुन सकेन । विभिन्न शीर्षकको २० करोड त्यत्तिकै खर्च गरिएको थियो । अहिले कोष तथा नियन्त्रकको कार्यालय गौरले नगरपालिकाको बजेट निकासा रोकेकाले कुनै काम हुन सकेको छैन ।

प्रकाशित : पुस १८, २०७६ ०९:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चौदण्डीगढी घुम्न पर्यटकलाई निम्तो

कान्तिपुर संवाददाता

(उदयपुर) — नेपाल भ्रमण वर्ष २०२० सन्दर्भमा चौदण्डीगढी नगरपालिकाले ऐतिहासिक चौदण्डीगढी दरबार क्षेत्र घुम्न पर्यटकलाई निम्ता दिएको छ । दरबार क्षेत्रमै विशेष कार्यक्रम आयोजना गरी यसरी निम्तो गरिएको हो । दरबार क्षेत्र पुग्न यातायात, होटल, विद्युत् र सञ्चारलगायत पूर्वाधार तयार भएको नगरपालिकाले जनाएको छ । चौदण्डीगढी जिल्लाकै प्रमुख ऐतिहासिक र पर्यटकीय गन्तव्य मानिन्छ । 

उत्तरमा दूधकोशी नदी र दक्षिणमा चुरे पहाड रहेको तत्कालीन सेन वंशीय राज्यको राजधानी चौदण्डीगढी नेपालकै एक ऐतिहासिक र पुरातात्विक स्थल हो । इतिहासमा उल्लेख भएअनुसार विसं. १७९० देखि जगत सेन, विक्रम सेन, हरि सेनलगायतका चार पुस्तालेचौदण्डीगढी दरबारमा रहेर राज्य चलाएका थिए ।

गोर्खालीहरूको विजय अभियानसम्म पनि पूर्वको महत्वपूर्ण राज्यको राजधानीका रुपमा रहेको यो ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थानमा हाल भग्नावशेष मात्र बाँकी छ ।

‘नगरपालिकाको नामसँग जोडिएको चौदण्डीगढीमा पुरातात्विक महत्व बोकेका देवीदेवताका मूर्ति, ढुंगाका सामग्री छन्,’ नगरप्रमुख खगेन्द्र राईले भने । ‘चौदण्डीगढीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिँदै छ’ १ नम्बर वडाध्यक्ष रोहित तामाङले भने, ‘भम्रण वर्षको शुभारम्भसँगै दरबार क्षेत्रबाटै पर्यटक (आन्तरिक/बाह्य) लाई निम्ता गरिएको छ ।’ पर्यटकको सुविधाका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले भ्रमण वर्षको अवसरमा देश विदेशबाट पर्यटक चौदण्डीगढी घुम्न आउने विश्वास गरिएको उनले बताए ।

भ्रमण वर्षको शुभारम्भ गरेकै दिन बुधबार करिब ७ हजार आन्तरिक पर्यटक चौदण्डीगढी दरबार क्षेत्रमा आएको नगरपालिकाले जनाएको छ । दरबार क्षेत्रमा आउने पर्यटकका लागि वर्षैभरि स्थानीय उत्पादन कोदो, मकै, भटमास, गुन्द्रुक, सिस्नो, स्थानीय कुखुरा, खसीबोका र सुँगुरको मासुका परिकारले स्वागत गरिनेछ । त्यसैगरी विभिन्न जातजातिका साँस्कृतिक पहिचान झल्किने कार्यक्रम (लोक नृत्य) समेत प्रस्तुत गरिने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस १८, २०७६ ०९:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×