कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

अवैध सम्बन्ध सजायमा भेदभाव

ओमप्रकाश ठाकुर

सर्लाही — एकैखालको गल्तीमा पनि महिलालाई विभेद र लाञ्छना तथा पुरुषलाई उन्मुक्ति हुने गरेको छ । प्रहरीले पनि यस्ता घटनामा मिलापत्र मात्र गराउँछन् ।

एउटै गल्ती गर्ने पुरुष समाज र परिवारमै बसेका छन् भने महिलाको सहारा माइती तथा वृद्धाश्रम बनेको छ । महिला तथा उनका आफन्त कानुनी उपचार खोज्नुको साटो लाजले यस्ता घटना लुकाउने गर्छन् । जसले महिला प्रताडित हुँदै आएका छन् । महिला र पुरुषको अवैध सम्बन्धले बसेको गर्भपतन गराएर गरिने मिलापत्रले महिलालाई प्रताडित बनाउँदै आएको छ ।


लालबन्दीका एक पुरुष, जसका श्रीमती र दुई छोरा–छोरी छन् । केही दिनअघि उनी वीरगन्जको एक होटलबाट अर्की महिलासित पक्राउ परे । उनलाई त्यहाँको प्रहरीले सर्लाही पठायो । वाग्मतीकी एक महिलालाई उनले ललाइफकाइ मायाजालमा पारेर वीरगन्ज लगेका रहेछन् । महिलाका पनि दुई छोरा छन् । उनी पतिसहित परिवारमा घुलमिल गरेर बस्दै आएकी थिइन् ।

केही वर्षअघि सामाजिक सञ्जालमा उनको भेट लालबन्दीको ती पुरुषसँग भयो । सामाजिक सञ्जालमार्फत नजिक भएका यी दुवै विवाहित जोडी होटलबाट पक्राउ परे । पक्राउ परे पनि जाहेरी नपरेकाले मुद्दा चलाउन सकस भएपछि प्रहरीले मिलापत्र गराइदियो । दुवै वयस्क भएका र बहुविवाहको मुद्दा पनि नपरेकाले प्रहरीले उनीहरूलाई राखेर मुद्दा चलाउन मानेन । यी दुवैलाई अभिभावकको जिम्मा लागाइदियो । पुरुषलाई उनकी श्रीमतीले बुझेर लगिन् भने महिलाले भने माइतको सहारा लिनुपर्‍यो ।


मिलापत्रपछि लालबन्दीका पुरुष श्रीमती र बच्चासँगै बसेका छन् भने महिलाको बिजोग छ । उनका श्रीमान् तथा परिवारले उनलाई घर लान मानेको छैन । महिलालाई श्रीमानसहित बच्चासँग पनि भेट्न छटपटी भएको छ । तर भेट्न पाएकी छैनन् । उनलाई प्रलोभनमा पारेर गरिएको गल्तीको पछुतो छ । एकै प्रकारको गल्तीमा पुरुष समाज र परिवारमा बस्न पाउने तर महिला भएकै कारण प्रताडित बन्नुपरेको उनको दुःखेसो छ ।


‘मायाजाल देखाएर गल्ती गर्न लगायो । गलत गर्ने र गलत गर्न लगाउनेले परिवार र श्रीमतीको माया पाउने र उक्साहटमा आउने म जस्ताले लाञ्छना र विभेद सहनुपर्ने । यो कस्तो समाज हो,’ उनले भनिन्, ‘पुरुष प्रधान देश कायमै छ, पुरुषले जति गल्ती गरे पनि केही नहुने, हामी महिलाले सजाय भोग्नुपर्ने ।’ यस्तै, मलंगवामा पनि अर्को पुरुष, जसका दुई छोरी एक छोरा छन् । उनले पनि केही दिनअघि स्थानीय एक युवतीलाई मायाजालमा पारे । दुवैको अवैध सम्बन्धले युवतीको गर्भ बस्यो । गर्भ बसेपछि पुरुष युवतीसँग टाढिए । मुद्दा प्रहरीमा पुग्यो । पछि सहमतिमा पुरुषले युवतीलाई रकम दिएपछि मुद्दा ओझेलमा पर्‍यो ।


यी दुवै घटनामा पुरुषका श्रीमतीले विरोध गरेको पाइँदैन । उनीहरू विरोध गरे घरबाट बाहिरिनुपर्ने डरले चुप लागेर बसेको हुन सक्ने प्रहरीको अनुमान छ । यस्ता घटनामा पुरुषको श्रीमतीले विरोध नगर्दा वा मुद्दामा सहयोग नगर्दा पछि घरमै महिला हिंसाका घटना बढेको प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए । यस्ता घटनाको प्रहरीले मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाउँदा अदालतमा निजका श्रीमती प्रहरीविरुद्ध नै खनिने गरेको बताए । रिस, राग र झूटा मुद्दामा फसाउन खोजेको आरोप प्रहरीमाथि नै लाग्ने गरेको उनको बुझाइ छ । ‘मैले मेरो श्रीमान्‌को विरुद्धमा आवाज उठाएँ भने खान, लाउन पनि समस्या हुन्छ । घरपरिवारबाट पनि बाहिरिने डर देखाउँछन्,’ उनले भने, ‘अहिले परस्त्रीसँग सम्बन्धको कुरो आएको छ । कानुनी उपचार खोजिएन भने पछि घरमै महिला हिंसाका घटना हुन सक्छ ।’ उनले घरका पुरुषले बहुविवाह तथा अन्य महिलासँग राख्ने सम्बन्धको बारेमा बोल्न नसक्दा यसले जिल्लामा घटना बढाएको बताए ।

ईश्वरपुरकी एउटी महिला, जसका तीन बच्चा छन् । उनका दुई बच्चा आफ्‌नो श्रीमान्‌को र एक बच्चा देवरको सम्बन्धबाट जन्मियो । ६ वर्षअघि मागीविवाह गरेका महिलाको दुई बच्चा हुर्कन लाग्दा उनको पालनपोषण र भविष्य बनाउन आर्थिक उपार्जनका लागि श्रीमान् वैदेशिक रोजगारमा गए । श्रीमान् विदेशमा बस्दा उनी देवरसँग नजिकिइन् । देवरसँगको लसपस देखेर सासू–ससुराले उनलाई घरबाट निकाले । उनी अहिले वृद्धाश्रममा आश्रय लिएर बसेकी छन् । तर देवर भने घरपरिवारमै छन् । श्रीमान्ले पनि घर फर्केपछि अर्को बिहे गरेको उनले सुनाइन् ।

सर्लाही, हरिवनकी अर्की महिला, जसको एक छोरा एक छोरी छन् । उनको छोरा–छोरी क्याम्पस पढ्ने भएका छन् । सीप सिकेकी उनले व्यावसायिक रूपमा लाग्दा घरपरिवार र श्रीमान्ले परपुरुषसँग सम्बन्ध रहेको भन्दै घरबाट निकाले । श्रीमतीमाथि अविश्वास बढ्दा उनको दूरी बढेको हो । घरबाट निकालिएकी उनी केही दिन माइतमा बसिन् । अहिले उनी आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारमा गएकी छन् ।

प्रकाशित : पुस १६, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?