१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चिसोमा छतविहीन घरमा बास

जनता आवास कार्यक्रम महोत्तरीमा अलपत्र परेपछि ७ सय ५३ घरपरिवार शीतलहरसँगै बढ्दो चिसोमा खुला आकाशमुनि रात काट्न बाध्य
सुनिता बराल

(महोत्तरी) — चिसोका कारण गरिब, दलित, पिछडिएका जाति तथा समुदायको जीवन कष्टकर बनेको छ । जनता आवास कार्यक्रम महोत्तरीमा अलपत्र परेपछि ७ सय ५३ घरपरिवार शीतलहरसँगै बढ्दो चिसोमा खुल्ला आकाशमुनि रात काट्न बाध्य छन् । 

चिसोमा छतविहीन घरमा बास

महोत्तरीको भंगाहा नगरपालिका ३ की रजिया देवी सदालाई साँझ पर्न थालेपछि रात काट्ने चिन्ताले सताउन थाल्छ । उनी दिनमा भन्दा रात कटाउन गाह्रो हुने बताउँछिन् । नौ जनाको परिवारको बस्ने घर र ओढ्ने–ओछ्याउने अभावमा कैयौँ रात घुर तापेरै बिताउने गरिएको रजियाले बताइन् ।


लक्षित वर्गका लागि संघीय सरकारको नयाँ दुई कोठे पक्कि घर बनाइने योजनाअनुरुप पुरानो घर भत्काइदिएपछि वर्षायामको झरी र जाडोमा शित छल्ने घरसमेत नहुँदा ३ वर्षदेखि महोत्तरीका आर्थिक रूपमा विपन्न परिवार कष्टकर जीवन बिताउँदै छन् ।


सरकारले घर बनाइदेला र नयाँ घरमा बसौला भनेर खुसी भएका जनता अहिले निराश बनेका छन् । महोत्तरीको भंगाहा नगरपालिका ३ की ७० वर्षकी मुनेश्वरी सदाले नयाँ घरमा बस्ने आश नै मरिसकेको बताइन् । ‘झुप्रोनै भएपनि ओत लाग्ने ठाउँ थियो हाम्रो,’ उनले भनिन्, ‘भएको घर भत्काएर घर न घाटको बनाइदियो सरकारले ।’ आठ जनाको परिवार सुत्ने–बस्ने ठाउँ नभएपछि आफ्नो परिवारको बिचल्ली भएको सदाले बताइन् ।


आर्थिक वर्ष ०७२/७३ मा महोत्तरीमा थालिएको जनता आवास कार्यक्रमले भंगाहा नगरपालिकाभित्रका ५ वटा वडामा ६३ वटा घरको निर्माण सुरु भए पनि अहिलेसम्म त्यो घरहरू अलपत्र नै छ । काँखका २ बच्चा लिएर त्रिपालमुनि बसेकी भंगाहा ४ की सरस्वती सदा आफ्नो पुरानै घर सम्झिरहेकी छिन् । ‘पक्की घर बनाइदिने भयो सरकारले भनेर मख्ख परेका थियौँ,’ सरस्वतीले भनिन्, ‘भएको घर पनि भत्काइयो । तर, ३ वर्षसम्म कोही फर्केर आएका छैनन् । आफ्नो बिजोग कसैले नदेखेको उनले गुनासो गरिन् ।


आर्थिक वर्ष ०७२/७३ बाट महोत्तरीमा सुरु भएको कार्यक्रमअन्तर्गत सो वर्ष ५ सय १२ घर निर्माणको काम अघि बढेको थियो । घर निर्माणको काम ३ वर्ष बित्दा पनि ६२ घरका मात्रै छाना लगाइएको छ । अन्य ४ सय ५० घरमा अधिकांश जग मात्रै राखेर छोडिएको छ भने केही घरका पर्खाल उठाएर छाडिएका छन् । जनता आवासका घर निर्माण संघीय संरचनापछि प्रदेशको जिम्मामा छ । संघले प्रदेशलाई जिम्मा लगाएपछि भवन निर्माणको काम भनेजसरी अघि बढ्न सकेको छैन् । प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअर्न्तगत सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरले पुरानो घरको तथ्यांक नपाएका कारण काम अघि बढ्न नसकेको जनाएको छ ।


संघीयतापछि कार्यालयको जिम्मेवारी बाँडफाँड र कार्यालयमा समयमा कर्मचारी परिपूर्ति नहुँदा र पुराना तथ्यांकहरू पहिलेको कार्यालयले उपलब्ध नगराएका कारण अलपत्र अवस्थामा रहेका भवन निर्माणको काम अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरका प्रमुख विनोद यादवले बताए ।


जस्तापाताले छाएको दुई कोठे भवनका लागि अहिले सरकारले लाभग्राहीलाई तीन किस्तामा भुक्तानी गर्ने गरी ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । घर बनाउन बाँकी व्यक्तिले कति किस्ता लिएको र कति घर बनेको छ भनेर कागजपत्र लिएर भवन निर्माण कार्यालयमा गएपछि मात्रै अब घर निर्माणको काम अघि बढ्ने प्रमुख यादवले बताए ।


महोत्तरीमा राजनीतिक खिचातानीका कारण २ आर्थिक वर्षमा लाभग्राहीको सूची नै तय हुन सकेन । अगाडि बढेको काम पनि अलपत्र हुँदा स्थानीय निराश छन् । आर्थिक वर्ष ०७५/७६ को बजेटमा निर्माण सुरु भएको २ सय ४१ घरको भने महोत्तरीमा राम्रो प्रगति विवरण रहेको भवन निर्माण कार्यालय जनकपुरका इन्जिनियर नरेन्द्र झाले बताए ।


शीतलहर प्रभावितलाई कम्बल

रौतहट (कास)– शीतलहरबाट प्रभावित बस्तीमा सोमबार नेकपाका नेता माधवकुमार नेपालले कम्बल वितरण गरेका छन् । जाडोबाट प्रभावित बनेका स्थानीयले कम्बल पाएका हुन् । गढीमाई नगरपालिको ९ वटै वडामा झन्डै २ सय ७० थान कम्बल नेपालले वितरण गरेका हुन् । दलित गरिब र असहायलाई नेता नेपालले कम्बल वितरण गरेका थिए । उनले चिसोले जनजीवन प्रभावित भइरहेका बेला ओढ्नसमेत नभएकालाई कम्बल वितरण गरिएको बताए ।

प्रकाशित : पुस १५, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?