कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चिसो भुइँमै पढाइ

बसबरिया–६ को जनता आधारभूत माविका कक्षा २ र ३ का विद्यार्थीलाई डेस्कबेन्च छैनन् । चिसो भुइँमा बस्नुपर्दा उनीहरु विद्यालय जानै छाडेका छन् ।
ओमप्रकाश ठाकुर

सर्लाही — शीतलहरले बस्ती छपक्कै छोपेको छ । त्यसमाथि चिसो भुइँमा बस्नुपर्ने बाध्यता । त्यसैले बसबरिया गाउँपालिका–३ का सरोज यादवलाई विद्यालय जानै मन लाग्दैन । उनी जनता आधारभूत विद्यालयको कक्षा २ मा पढ्छन् । कक्षा २ र ३ का १ सय २० जना विद्यार्थीलाई डेस्कबेन्च नै छैन ।

चिसो भुइँमै पढाइ

यहाँ यस वर्षदेखि दस कक्षा पढाइ हुन थालेको छ । तल्लो कक्षाका डेस्कबेन्च उपल्लो कक्षाकाले लैजाँदा साना बालबालिका बोरा ओछ्याएर बस्छन् । चिसो लागेसँगै कक्षा २ र ३ का धेरैजसो विद्यार्थी विद्यालय आउनै छाडेका छन् । उपस्थित भएकाहरू पनि अभिभावकले करले मात्र आएका हुन् ।


गर्मीमा खासै महसुस नभए पनि कात्तिकदेखि भुइँमा चिसो आउन थाल्ने यादवले बताए । ‘पटकपटक शिक्षकलाई भन्दा बस्ने बेन्चसम्म पनि दिनु भएन,’ उनले भने, ‘भुइँमा बस्नुपर्ने भएकाले मेरा साथी विद्यालय नै आउन छाडे, मलाई पनि आउन मन लाग्दैन ।’ कक्षा ३ की संगीता कुमारीले पनि चिसो भुइँमा बस्नुपर्दा सहपाठीहरू विद्यालय नआएको बताइन् । उनले ओछ्याउन जुटको बोरा र गुन्द्री ल्याएकी छिन् ।


‘कतिपय विद्यार्थी बस्ने बोरा पनि ल्याउँदैनन्, उनीहरूले मोटो खाले कपडा पनि लगाएका हुँदैनन्, हाम्रो पीडा कसैले बुझ्ने प्रयाससमेत गरेको छैन,’ उनले भनिन् । चिसोमा बस्दा छोराछोरी बिरामी पर्लान् भनेर कतिपय अभिभावकले नै विद्यालय जान दिएका छैनन् । आफूहरूले डेस्कबेन्चसँगै शैक्षिक गुणस्तर सुधार्न जनप्रतिनिधि र प्रधानाध्यापकलाई पटक–पटक भने पनि सुनुवाइ नभएको स्थानीय राजिव साहले बताए । ‘मेरो बच्चा पनि कक्षा २ मै पढ्छ, चिसो लागेर एक पटक बिरामी नै पर्‍यो, उपचारमा हजारभन्दा बढी खर्च गरे,’ उनले भने, ‘जबसम्म डेस्क बेन्चको जोहो हुँदैन तवसम्म उसलाई घरमै राख्छु ।’


दैनिक ५० विद्यार्थी आउने कक्षाकोठामा अहिले २० जना पनि पुग्न मुस्किल रहेको विद्यालयले जनाएको छ । स्रोत नभएका कारण सबै कक्षालाई डेस्कबेन्च पुर्‍याउन नसकिएको प्रधानाध्यापक रामबाबु यादवले बताए । ‘सानासाना नानीबाबुको ख्यालै नगरी माथिल्लो कक्षा सञ्चालनमा ल्याइएकाले यो समस्या निम्तियो,’ उनले भने । गाउँपालिका कार्यालयअगाडि नै रहेको उक्त विद्यालयबारे जनप्रतिनिधिको ध्यान पुग्न सकेको छैन ।


विद्यालयमा शिक्षकको पनि अभाव छ । अहिले नौ जना शिक्षक मात्र कार्यरत्त छन् । बाल कक्षादेखि १० सम्म झन्डै पाँचसय विद्यार्थी छन् । डेस्कबेन्च र शिक्षक अभावबारे गाउँपालिकामा पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि सुनुवाइ नभएको प्रधानाध्यापक यादवले बताए । ‘विद्यालयको कक्षा अपग्रेड गर्ने बेलामा गाउँपालिकाले दुइवटा शिक्षकको बजेट दिन्छु भन्यो, वडा कार्यालयले पनि सहयोग गर्छु भनेर चलाउन लगायो, पछि धोका दिए,’ उनले भने, ‘वर्षभरिमा दुई लाख मात्र आम्दानी छ, त्यसले पुर्‍याउन सकिँदैन ।’


गाउँपालिका अध्यक्ष रामअयोध्या यादवले बसबरियामा शिक्षक नै आउन नमानेको बताए । विद्यालयलाई अपग्रेड गरिए पनि बजेट र आन्तरिक स्रोत नहुँदा समस्या परेको उनले जानकारी दिए । ‘विद्यालयको अवस्थाबारे म जानकार छु, शिक्षकसहित डेस्क बेन्चको व्यवस्थापनमा जुटेको छु । तर शिक्षक आउन नमान्ने, बजेट अभावजस्ता कारणले शिक्षा क्षेत्र पछाडी परेको छ,’ उनले भने, ‘डेस्क बेन्च अभाव भएको ठाउँमा दस दिनभित्रै उपलब्ध गराउँछु ।’ २०२१ सालमा स्थापित यो विद्यालय जिल्लाकै पुरानामध्ये पर्छ ।


विद्यालयले आफनो नाममा रहेको छ बिघा जग्गा ठेक्कामा लगाएर बर्सेनि दुई लाख रुपैयाँ आम्दानी गर्दै आएको छ । आम्दानी स्रोत हुँदा हुँदैपनि जनप्रतिनिधि र प्रधानाध्यापकको बेवास्ताले विद्यालय दयनिय अवस्थाबाट गुज्रिरहेको स्थानीय नागरिक अगुवा गजेन्द्र साहले बताए । ‘यो अवस्था सुधार गर्न जनप्रतिनिधिले पनि पहल गरेका छैनन्,’ उनले भने, ‘आन्तरिक आम्दानी राम्रो भए पनि विद्यालय प्रभावकारी रुपमा सञ्चालन गर्न जनप्रतिनिधिले चासो दिनुपर्छ ।’


स्कुल बन्द

चिसो बढेपछि लालबन्दी नगरपालिकाभित्रका विद्यालय ९ दिनका लागि बिदा दिइएको छ । चिसोले पठनपाठन गर्न मुस्किल भएको भन्दै सोमबारदेखि पुस २२ सम्मलाई विद्यालय बन्द गरिएको हो । नगरपालिकाका शिक्षा शाखाप्रमुख बासुदेव तिमल्सिनाले आइतबार सूचना जारी गरी विद्यालय बिदा दिइएको बताए । अहिले दिइएको बिदा बर्षे बिदाबाट कट्टी गरिने पनि उनले जानकारी दिए । ‘चिसो दिनप्रतिदिन बढ्दै छ, बालबालिका विद्यालयमै लगलग काम्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छौं,’ तिमल्सिनाले भने, ‘चिसोले विद्यालयमा विद्यार्थीको चाप पनि घट्दै गएको छ ।’


बिरामी बढे

जनकपुर– लगातार बढिरहेको चिसोले तराई–मधेसको जनजीवन प्रभावित बनेको छ । अस्पतालमा चिसोका बिरामीको संख्या बढेको छ । पठनपाठन गराउन मुस्किल भएपछि जनकपुर उपमहानगरपालिकाले ५ दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको छ । जनकपुरको आइतबारको अधिकतम तापक्रम १७ र न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ । उपमहानगरपालिकास्थित शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव मेहीलाल यादवले चिसोले बालबालिकाको स्वास्थ्यमा असर पर्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए । उपमहानगरपालिकाको शैक्षिक क्यालेन्डरमा पुस २७ देखि माघ ३ सम्म जाडो बिदा थियो ।


प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार जिल्लाका १८ वटै स्थानीय तहमा हुनेले नहुनेलाई कम्तीमा एक थान न्यानो लुगा बाड्ने, धूनी लगाउने तथा स्वास्थ्यसंस्थालाई सतर्क रहने निर्देशन दिइएको छ ।

प्रादेशिक अस्पताल जनकपुरका स्त्रीरोग विशेषज्ञ डा. रामनरेश पण्डितले रुघाखोकी, दम, कोल्ड डायरिया तथा वाथका विरामीको संख्या ह्वातै बढेको बताए । ‘बालबालिकामा कोल्ड डायरिया, निमोनिया तथा वृद्धवृद्धाहरूमा वाथ तथा निमोनिया देखिएको छ,’ उनले भने । शरीरलाई न्यानो बनाई राख्न तथा तातो खानेकुरा मात्र खान उनले सुझाए ।


आगो ताप्दा एकको मृत्यु

बारा– चिसोबाट जोगिन आगो ताप्ने क्रममा जलेर घाइते भएका २ मध्ये १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । करैयामाई गाउँपालिका–२ करैयाकी ७५ वर्षीया जोखनीदेवी चमारको कलैया अस्पतालमा शनिबार मृत्यु भएको अस्पतालका स्वास्थ्यकर्मी मनोज यादवले बताए । चमार पुस ८ गते आफ्नै घरअगाडि बलिरहेको घुरमा लडेकी थिइन् । यसै गरी सिम्रौनगढ नगरपालिका–८ कचोर्वा गाउँका ओसी हवारीकी ५ वर्षीया छोरी खुसनसिबा हवारी घाइते छिन् । उनको स्थानीयस्तरमै उपचार भइरहेको छ । स्थानीय तहले आगो ताप्दा सावधानी अपनाउन आग्रह गर्दै आएका छन् ।

प्रकाशित : पुस १४, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?