१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

चिनी उद्योगको बदमासी, भुक्तानी नदिँदा व्यवहार चलाउन धौ-धौ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको बगदहस्थित महालक्ष्मी चिनी उद्योग सञ्चालनको तयारी गरेसँगै शुक्रबार किसान गतवर्षको भुक्तानी माग्दै उद्योगमा पुगेका छन् । किसानहरूले गतवर्षको भुक्तानी चुक्ता नगरेसम्म उखु क्रसिङ गर्न नदिने चेतावनी दिएका छन् । 

चिनी उद्योगको बदमासी, भुक्तानी नदिँदा व्यवहार चलाउन धौ-धौ

सरकारले यसवर्षका लागि उखुको मूल्य तोकेसंगै उद्योग सञ्चालनको तयारीमा रहेको उद्योगमा गतवर्षकै भुक्तानी माग्दै शुक्रबार दर्जनौंको संख्यामा किसानहरू उद्योग परिसर पुगेका हुन । उद्योगमा किसानहरूको भीड देखेपछि उद्योग प्रशासन बेपत्ता भएको उनीहरूको आरोप छ । भुक्तानीका लागि उद्योग परिसरमा जम्मा भएका किसानले पुरानो सहमति कार्यान्वयनको माग गरे ।


हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ सुरु गरे पनि गत वर्षबाट सुरु महालक्ष्मी र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनमा आउन सकेको छैन । किसानको भुक्तानी नदिएर बदनामी कमाएका महालक्ष्मीका सञ्चालकले गत वर्षकै भुक्तानी बाँकी राखेर यस वर्षको उखु क्रसिङ गर्ने तयारी गरेपछि किसानले विरोध गरेका छन् ।


उनीहरूले किसानहरूसँग महिनौं अघि भएको सहमति कार्यान्वयनको माग गरे । ‘गतवर्ष महालक्ष्मीबाट भुक्तानीका लागि हामी आन्दोलन गर्‍यौं, पछि प्रजिअसहितको टोली समक्ष काात्तिकभित्र सम्पूर्ण भुक्तानी दिने भनेर उद्योगपतिले सहमति गर्‍यो, तर अझैसम्म पाएका छैनौँ,’ किसान संघर्ष समितिका संयोजक रामसोगारथ रायले भने, ‘पुरानो भुक्तानी नपाएसम्म हामीले उद्योग सञ्चालन गर्न दिन्नौं, जबर्जस्ती गरे आन्दोलनमै उत्रिन्छौं ।’


मिहनेत र ठूलो लगानी गरी उखु उत्पादन गरेपनि समयमा भुक्तानी नपाउँदा घरव्यवहार धान्न धौ–धौ परेको किसानको दुःखेसो छ । सरकारले उखुको प्रतिक्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोके पनि महालक्ष्मीले ५ सय रुपैयाँ मात्र दिने भनेर नेट पुर्जीमा उल्लेख गरी किसानलाई ठग्ने गरेको स्थानीय किसान जयमंगल साहले बताए । उनले किसानलाई सरकारी अनुदानबापत आउने रकम पनि उद्योगपतिले राखेको दुःखेसो पोखे । ‘सरकारले तोकेको मूल्य उद्योगपति दिन मान्दैनन्, किसानलाई कम रकम दिएर अनुदानबापतको रकम आफैले कुम्ल्याउनलाई नेट पुर्जीमा ५ सय मात्र उल्लेख गर्छन्,’ साहले भने, ‘एक त रकम पनि थोरै र उखु कमसल भएको भन्दै २० प्रतिशतसम्म काट्ने गरेको छ ।’


यस क्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत उखु खेती नै हो । उनीहरू उखुबाट आएको आम्दानीले परिवार पालनपोषण गर्दैआएका छन् । यसअघि धनकौलस्थित अन्नपूर्णमा उखु बिक्री गर्दै आएका किसानले भुक्तानी नपाएपछि नयाँ स्थापना भएको महालक्ष्मीमा उखु बिक्री गरेका थिए । तर, महालक्ष्मीले पनि गत वर्षको भुक्तानी नदिँदा किसानहरूको मन कुडिएको छ ।


उनीहरूलाई खर्च अभावले घर व्यवहार धान्नुको साथै उखु खेतीका लागि लिएको ऋणको ब्याज समेत तिर्न नपाएको गुनासो पोखे । यस क्षेत्रका किसान आफूले बेचेको उखुको भुक्तानीका लागि छटपटीमा परेका छन् । यहाँका केही किसान भने भुक्तानीकालागि सरकारलाई गुहार्न संघीय राजधानी काठमाडौं पुगेका छन् । उनीहरू अन्नपूर्णको मुख्य कार्यालयमा ताला बन्दी गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उद्योगले गत वर्षको भुक्तानी नदिएकाले काठमाडौंमा आएर आन्दोलन गर्नुपरेको किसान हरिश्याम रायले बताए । उनले आफूले उत्पादन गरेको उखुको भुक्तानी लिन यो चिसो सिरेटोमा राजधानी आउनु परेको टेलिफोनमा कान्तिपुरलाई सुनाए ।


उखु नगदेबाली भनिए पनि काट्ने बेलामा नगदमा बिक्री नहुने, उधारोमा चिनीमिललाई बुझाउनु परेको छ । गत वर्ष उधारोमा बेचेको उखुको भुक्तानी यस वर्षसम्म पनि नपाएको किसानको गुनासो छ ।


सिँचाइ सुविधा नहुँदा यस क्षेत्रका किसानसँग उखु खेतीको विकल्प छैन । उद्योगलाई उखु बेचेपछि मूल्यका लागि किसानले भने पीडा खेप्दै आएका छन् । तीन वटा चिनी उद्योग रहेको सर्लाही मुलुकमै सबभन्दा बढी उखु खेती हुने जिल्ला हो । यहाँ यस वर्ष २६ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको छ ।

प्रकाशित : पुस १२, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?