३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राजगढ गाउँपालिकामा तालाबन्दी

अवधेशकुमार झा

(राजविराज) — सप्तरीको राजगढ गाउँपालिकामा बुधबारदेखि तालाबन्दी भएको छ । गाउँपालिका कार्यालयमा तीन जना वडाध्यक्षसहित स्थानीयले अनियमितता गरेको भन्दै बुधबार बिहान ११ बजेदेखि विरोध प्रदर्शनसहित तालाबन्दी गरेका हुन् । 

सात दिनअघि राजगढ गाउँपालिकाका वडाध्यक्षहरूले विभिन्न माग राखी गाउँपालिका अध्यक्ष परमानन्द यादवलाई ज्ञापनपत्र बुझाएपछि अध्यक्ष यादवले कुनै सुनुवाइ नगरेको भन्दै बुधबार बिहानैदेखि जनप्रतिनिधिसहित गाउँपालिका कार्यालय अगाडि प्रदर्शन गरेका साथै तालाबन्दी पनि गरेका हुन् । गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले गाउँसभा बोलाएकै दिन बुधबार गाउँपालिका कार्यालयमा तालाबन्दी भएको हो । कार्यालय अगाडि एकातर्फ गाउँसभाका लागि बोलाइएका प्रतिनिधिको जमघट रहेको थियो भने अर्कोतर्फ गाउँपालिकामा भ्रष्टाचार भएको भन्दै विरोध र तालाबन्दी गर्ने समूहको प्रदर्शन गरिएको थियो । बुधबार बिहानैदेखि स्थिति तनावपूर्ण रहेकाले नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।


कुल ६ वडा रहेको गाउँपालिकाको वडा २ का अध्यक्ष ललित सिंह, वडा ४ का हेमनारायण साह र वडा ६ का कमलदेव यादवले गाउँपालिका अध्यक्षले अनियमितता गरेको भन्दै विरोध प्रदर्शनको नेतृत्व गरेका हुन् । गत आर्थिक वर्षमा २५ लाख रुपैयाँ बराबरको औषधि खरिदमा अनियमितता भएको, म्याद गुज्रिसकेको औषधि खरिद गरी वितरण गरिएको वडाध्यक्ष सिंहको आरोप छ । ‘बस्तीमा न त सिटामोल वितरण गरियो न त जीवनजल नै,’ वडाध्यक्ष सिंहले भने, ‘विपद व्यवस्थापनको ५० लाख रुपैयाँ पनि केमा र कसरी खर्च गरियो, हामी बोर्ड सदस्य भए पनि केही जानकारी छैन ।’


नागरिकता, घरबाटो प्रमाणितलगायत वडाको अधिकार पनि गाउँपालिका अध्यक्षले कुण्ठित गरेको, जनप्रतिनिधि निर्वाचित भएदेखि नै खरिद गरिएका सामग्रीहरूको कुनै लेखाजोखा नदिने गरेकाले बाध्य भएर विरोधमा उत्रिनुपरेको वडाध्यक्ष सिंहले आरोप लगाउँ । ‘हामी योजना छनोट गरेर दिँदा पनि गाउँपालिका अध्यक्ष आफ्नो मनोमानी गरेर योजना राख्छन्,’ वडा ४ का अध्यक्ष साहले भने, ‘गाउँपालिका अध्यक्षको व्यवहारले गाउँपालिकामा भ्रष्टाचार बढ्यो ।’


विरोधमा रहेका तीन जना वडाध्यक्षले गाउँपालिकाभित्रका प्रत्येक वडाध्यक्षको समान अधिकार भए पनि गाउँपालिका अध्यक्षले पार्टी अनुसार व्यवहार गर्ने गरेको, कार्यपालिका बैठकबारे तीन दिन अगाडि सूचना दिनुपर्नेमा सो नदिइएको, कार्यपालिकाको निर्णय तीन दिनभित्र कार्यालयमा पठाउनुपर्ने कानुनी व्यवस्था पालना नभएको आरोप लगाएका छन् । यस्तै गाउँसभा गर्दा आयव्यय पेस गरी सातवटा चरण पार गरी मात्र सभा गर्नुपर्नेमा एकैचोटि सभा गर्न लागेको, गाउँपालिकामा कार्यरत कर्मचारीको तलबभत्ता खान पनि भेदभाव हुने गरेको, ज्येष्ठ नागरिक, असहायलगायतको सामाजिक सुरक्षा भत्ता वितरण नगरेको, करारमा कर्मचारी नियुक्ति गर्दा नियम कानुनको वास्ता नगरिएको, उपभोक्ता समिति गठन गर्दा वडाध्यक्षलाई जानकारीसमेत नदिने गरेको विरोधमा रहेका तीनै जना वडाध्यक्षको आरोप रहेको छ ।


यता गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकामा कुनै किसिमको भ्रष्टाचार नभएको दाबी गरे । उनले वडाध्यक्षले बिना कारण आरोप लगाएको बताउँदै कानुन विपरीत आफू जान नसक्ने बताए ।


उनले गाउँपालिका कार्यालयमा तालाबन्दी भए पनि बुधबार मध्यरातिसम्म भए पनि गाउँसभा गर्ने बताए । ‘गाउँपालिका कार्यालयमा तालाबन्दी छ, हामी अन्तै बसेर भए पनि बुधबार रातिसम्म पनि गाउँसभा सम्पन्न गर्नेछौं,’ गाउँपालिका अध्यक्ष यादवले भने ।


प्रकाशित : पुस १०, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?