कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राजविराज विमानस्थलमा नयाँ टर्मिनल

राजविराज — राजविराज विमानस्थलमा सोमबारबाट नयाँ टर्मिनल भवनबाट सेवा सुरु भएको छ । वषौंदेखि जीर्ण रहेको भवनबाट सेवा दिँदा असुविधा हुँदै आएको थियो । पछिल्लोपटक राजविराज विमानस्थलमा विमान सेवा सुरु भएपछि पुरानो भवनलाई मर्मत गरी काम चलाइएको थियो । 

राजविराज विमानस्थलमा नयाँ टर्मिनल

करिब ३ करोड रुपैयाँको लागतमा निर्माण भएको टर्मिनल भवनबाट सोमबारदेखि सेवा सुरु भएको राजविराज विमानस्थलका प्रमुख भीमदत्त पन्तले जानकारी दिए । नयाँ टर्मिनल भवनमा भीआईपी कक्ष, सुरक्षा जाँच कक्ष, यात्रु प्रतीक्षालय, शौचालय, स्मोक सेन्सर कक्ष छन् । ‘सेवा र सुरक्षा दुवै हिसाबले नयाँ टर्मिनल भवन आवश्यक थियो,’ पन्तले भने, ‘निर्माण भएपछि सेवा दिन सहज र सुरक्षित भएको छ ।’

टर्मिनल भवन बनेसँगै अब जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइने उनले बताए । विमानस्थलको धावनमार्गको दायाँ र बायाँ खाली जग्गा रहनुपर्नेमा अहिले नहुँदा समस्या भइरहेको उनले बताए । ‘धावनमार्गको दायाँ र बायाँ जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढिइसकेको छ,’ उनले भने । यस्तै भवन निर्माणका लागि पनि जग्गा आवश्यक रहेको उनले बताए ।

राजविराज विमानस्थलवाट अहिले श्री एयरलायन्सले साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्दै आएको छ । यसैबीच बुद्ध एयरले समेत आगामी फ्रेबअरी १ बाट राजविराज उडान गर्ने भएको छ । विमानस्थल प्रमुख पन्तका अनुसार बुद्धले राजविराजमा कार्यालयसमेत खोलिइसकेको तथा विमानस्थलमा पनि आवश्यक प्रक्रियाहरू पूरा गरिसकेको छ ।

बुद्धले दैनिक उडान गर्ने जनाएको छ । सप्तरी, सिरहा र उदयपुर तथा सीमावर्ती भारतीय क्षेत्रका यात्रुहरूको चाप राजविराज विमानस्थलमा हुने गरेको छ । विसं २०१६ मा तत्कालीन मन्त्री गणेशमान सिंहद्वारा उदघाटन भएको केही दिनभित्रै राजविराज विमानस्थलमा विमान सेवा बन्द भएको थियो । कच्ची धावनमार्ग तथा अन्य प्राविधिक समस्याका कारण राजविराज विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन ।

पछिल्लो समय राजविराज विमानस्थलको धावनमार्ग पक्की भएपछि नियमित उडान सुरु भएको हो । एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा धावनमार्ग पक्की भएको छ । यस्तै ९० मिटर लामो र ६० मिटर चौडा एप्रोन तथा १ सय १० मिटर लामो तथा २० मिटर चौडा ट्याक्सी वे कालोपत्रे भइसकेको छ ।

प्रकाशित : पुस ९, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?