मन्दिरको जग्गा भन्दै सिरहाको दलित बस्तीमा डोजर

भरत जर्घामगर

सिरहा — तराईमा चिसोकाे कहर सुरु भएसँगै दलित बस्तीका घरहरु भत्काइएको छ । सिरहा नगरपालिका ६ स्थित सुकुम्बासी दलित महरा बस्तीमा जग्गा खाली गर्ने भन्दै जमिन्दारले डोजर लगाएर शनिबार ६ परिवारको घर भत्काइदिएका हुन् ।

मन्दिरको जग्गा भन्दै सिरहाको दलित बस्तीमा डोजर

दामोदर प्रधानांगले आफ्नो बाजे लालबहादुरले मन्दिरलाई दिएको जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै शनिबार रामवृक्ष, रिझो, कारी, फूल्चो, समतौलिया महराको घर भत्काईदिएका हुन् ।


घर भत्काइएपछि जाडोमा बालबालिकाको बिचल्ली भएको रिझो महराले गुनासो गरिन् । ‘हामीलाई घर भत्काउन समय दिनुस् भन्दा समेत मानेनन्,’ उनले भनिन्, ‘पुलिससहित आएर जबर्जस्ती डोजर लगाएर घर भत्काइदिए, हामी कहाँ जाउँ हजुर ?’ थातथलो उजाडिएपछि रिझोले ७ वर्षीय छोरा रवि, अरविन्द, अस्मिता, काखे छोरा परविनलाई च्यापेर खुल्ला आकाशमुनि रात काटेको सुनाइन् ।



‘जाडोले कठ्यांग्रिएर रातभर सुत्न सकेको छैन’ उनले दुःखेसो गरिन् ‘आगो तापेर रात काट्यौं ।’ दिनभर मजदुरी गरेर गुजारा चलाउँदै आएका बस्तीका उनीहरुलाई वैकल्पिक व्यवस्था नभई घर उजाडिदा छाक टार्न समेत समस्या भएको छ ।


बाबु बाजेको पालादेखि बस्दै आएको जग्गाबाट उठिबास भएपछि कहाँ गएर बस्ने भन्ने पिरलो भएको कारी महराले दुखेसो पोखिन् । ‘पति रामवृक्ष भारतको पञ्जाबमा मजदुरी गर्छन, यता थातथलो उजाडियो, हामी कहाँ जाऔं अब’ ४ महिने काखे छोरी रोचितालाई च्यापेकी कारीले भनिन् ‘यो जाडोमा दैवले पनि हामी गरिबलाई नै दु:ख दियो ।’

पति रामवृक्ष पञ्जाबमा मजदुरी गर्न गएपछि भूमिहीन सुकुम्बासी कारीले गाउँघरमा मजदुरी गरी चार छोरी विनिता, पुनिता,रमिता र काखे रोचिताको लालन पालन गर्दै आएकी थिइन । ‘एकातिर बास उजाडियो, जाडोमा बालबच्चा कसरी जीउँदो राख्नु पिरलो थपियो,’ उनले दु:खेसो पोखिन, ‘अर्कातिर छाक टार्न समेत समस्या भयो ।’ घर उजाडिएपछि बिचल्लीमा परेका परिवारले जनप्रतिनिधिलाई गुहारेपनि कुनै सुनुवाई नभएको गुनासो गरे ।


अतिक्रमित जग्गा खाली गर्न पटक पटक सूचना दिएपनि अटेर गरेपछि अदालतको फैसला अनुसार घर भत्काएको जग्गाधनी दामोदर प्रधानांगले बताए ।

प्रकाशित : पुस ६, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?