१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पुसकाे जाडाे : परालकै सिरक, परालकै डसना !

डोम, मुसहरलगायत विपन्न परिवार आर्थिक अभावका कारण पराल ओछ्याएर सुत्छन्। परालै ओढ्छन् । राति पनि पराल बालेर जाडो छलिरहेका हुन्छन्।
ओमप्रकाश ठाकुर

काठमाडौँ — कविलासी नगरपालिका–१ पिपरियाकी ५५ वर्षीया सेवतिया मल्ली बुधबार अपराह्न घरमा ओछ्याएको पराल बाहिर निकाल्दै थिइन् । घरको चिसो भुईंमा ओछ्याएर राखिएको पराल ओसिएपछि सुकाउनलाई उनले बाहिर निकालेकी हुन् । उनलाई राति सुत्नलाई ओछ्यानको रूपमा प्रयोग हुने पराल दैनिक सुकाउनु पर्ने बाध्यता छ । दुई दिन यता घाम नदेखिए पनि हावाकै भरमा उनले पराल सुकाउँदै आएकी छिन् ।

पुसकाे जाडाे : परालकै सिरक, परालकै डसना !

दुई दिनदेखि पश्चिमी हावासँगै चलेको शीतलहरका कारण सर्लाहीवासीको जनजीवन कष्टकर बनेको छ । जारी शीतलहरका कारण सबभन्दा बढी पीडा डोम, मुसहरलगायत विपन्न परिवारमा छ । चिसो बढेपछि विपन्न मानिएको मुसहर र डोम समुदायको चिन्ता यतिवेला बढेको छ ।

प्रत्येक वर्ष जाडोमा कष्टपूर्ण रूपमा जीवन बिताउँदै आएका विपन्न तथा मुसहर समुदाय यस वर्ष पनि ओढ्ने र ओछ्याउनेकै चिन्तामा छन् । उनीहरू पराल र पातलो ओढ्नेको भरमा शीतलहर झेलिरहेका छन् । चारैतिरबाट हावा पस्ने बाँसको टाटीले बेरेको घरमा उनीहरूलाई रात कटाउनै मुस्किल परेको छ । आर्थिक अभावमा रहेका उनीहरू पराल ओछ्याएर सुत्छन् । परालै ओढ्छन् र राति पनि पराल बालेर जाडो छलिरहेका छन् ।

मंसिर महिनामा बिहान र बेलुकीको जाडो जेनतेन काटिए पनि पुस महिना सुरु भएसँगै चलेको पश्चिमी हावा र शीतलहर झेल्न कष्ट भइरहेको मल्लीले बताइन् । लखनदेही नदीको किनारमा रहेको एलानी जग्गामा घर बनाएर बसेकी उनी चिसोले थप पिरोलिएकी छिन् । नदी किनारमा चिसो मौसममा कम तापक्रम हुने गरेकाले जीवनयापन गर्न कष्ट ब्यहोर्नु परेको उनको भनाइ छ । ‘दुई दिनदेखि जाडो बढेको छ, जाडोमा हाम्रो सहारा भनेको पराल नै हो, राति ओछ्याएको पराल ओसिएपछि सुकाउँदैछु, राति फेरि यसमै सुत्नुपर्छ,’ उनले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएकाले नै सिरक र डसना बनाउन पाएको छैन, घर पनि टुटेको छ, नदी किनारको एलानी जग्गामा बस्नुपर्ने हाम्रो बाध्यता हो ।’

मल्ली जस्तै अधिकांश डोम, मुसहर तथा विपन्न परिवारको अवस्था उस्तै छ । यतिबेला अति विपन्न तथा मुसहर समुदायका महिलामध्ये कसैले परालको चटाई बुन्नमै व्यस्त छन्  भने केहीले जाडो काट्नका लागि जुटको बोरा जोडेर भित्र पराल हालेर सिरक तथा डसना बनाएका छन् । उनीहरू जाडोबाट बच्नका लागि परालले बुनेको चटाइ तथा पराल राखेको सिरक ओढ्ने गर्छन् ।

‘यसवर्षको जाडो छल्न जुटको बोरामा पराल हालेर सिरक तथा डसना बनाएका छौं, अझै जाडो बढ्यो भने त्यसको विकल्पका लागि चटाई बुन्दै छु,’ स्थानीय शान्ति माझीले भनिन्, ‘जाडोमा हाम्रो परिवारको सहारा पराल राखेको सिरक र डसना बन्ने गरेको छ ।’

अधिकांश मुसहर तथा विपन्न प्रत्येक वर्ष जाडो मौसम सुरु हुनासाथ केहीले गाउँको धनीसँग पुराना कपडा मागेर जाडो छल्ने गर्छन् । केहीलाई विभिन्न संघ संस्थाले चिसोबाट बच्न कम्बल पाउने गरेका छन् । तर गतवर्ष पाएको कम्बल राख्ने ठाउँ नभएर मुसाले काटेर टुक्रा टुक्रा बनाएको चक्रघट्टाकी पुसनी देवी माझीले बताइन् । उनलाई यसवर्ष जाडो काट्नका लागि कम्बल माग्न पनि अप्ठेरो लागेको छ । ‘गतवर्ष विद्यार्थीले मलाई कम्बल दिएका थिए, त्यो वर्ष त राम्रै तरिकाले जाडो कटाइयो, तर कम्बल राख्ने ठाउँ भएन, बाहिर राख्दा मुसाले काटिदियो,’ उनले भनिन्, ‘यसवर्ष कसैसँग कम्बल माग्न पनि अप्ठेरो लागेको छ, यसवर्ष फेरि पराल नै सहारा बनेको छ ।’

शरीर ढाक्ने न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा उनीहरूको दैनिकी कष्टकर छ । विपन्न तथा मुसहर परिवार जाडो महिनामा दिन अलिअलि घामको सहाराले बिताए पनि रात कटाउन निकै गाह्रो हुने गरेको बताउँछन् । उनीहरू राति घुर तापेर बस्ने तथा सुत्ने गरेका छन् । घुरले घर तातो बनाउने गरेको उनीहरूको अनुभव छ । तर यसले आगलागीको पनि जोखिम बढाएको छ ।

निरन्तरको शीतलहर र चिसोले यहाँको विपन्न तथा मुसहर बस्ती र दैनिक ज्यलादारीमा काम गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् । बाक्लो हुस्सु र चिसो पश्चिमा हावाका कारण उनीहरूको जनजीवन झन् झन् कष्टकर बन्दै गएको छ ।

चिकित्सकले जाडोबाट बच्न न्यानो लुगा लगाउनुपर्ने बालबालिकालाई झोलिलो र तागतिलो खानेकुरा खुवाउन बताए पनि उनीहरू गरिबीका कारण छोराछोरीलाई न्यानो लुगा किनिदिन र तागतिलो खाना खुवाउन सक्ने अवस्थामा छैनन् । चिसो हावासँगै शीतलहर चले पनि कुनै पनि स्थानीय सरकारले चिसोबाट प्रभावितका लागि कुनै पनि उपाय अपनाएका छैनन् ।

प्रकाशित : पुस ४, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?