कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भिजिट नेपालको तयारी शून्य

शंकर आचार्य

(पर्सा) — संघारमै आई पुगेको भिजिट नेपाल २०२० को पर्सामा योजनाबद्ध तयारी नभएको गुनासो सरोकारवालाले गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघका जिल्ला अध्यक्ष हरि पन्त हालसम्म भिजिट नेपालको तयारी शून्य रहेको बताउँछन् । 

भिजिट नेपालको तयारी शून्य

‘जिल्लामा भिजिट नेपालको प्रभाव शून्य नै छ, चार/पाँच जना व्यक्ति जम्मा भई एक थान सेल्फी खिचेर फेसबुकको वालमा पोस्ट गर्दैमा केही हुन्न,’ उनले भने, ‘२/४ वटा सभा गोष्ठी भए होलान्, तारे होटलमा गरिने यस्ता गोष्ठीले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा माखो पनि मार्दैन ।’ गोष्ठी र छलफलभन्दा यस्ता काममा हुने अनुत्पादक फजुल खर्चलाई यस क्षेत्रको सम्भावित पर्यटकीय स्थलको पहिचान र प्रवर्द्धन गर्नमा खर्च गर्न सकेको भए धेरै लाभ हुने उनको बुझाइ छ ।


वीरगन्ज महानगरले ३/४ महिनाअगाडि केन्द्रबाट महानगरीय पर्यटन प्रवर्द्धन गर्न दबाब आएपछि झारो टार्न एउटा समिति गठन गरेको थियो । त्यो समितिमा आफू पनि रहेको तर हालसम्म बैठकसम्म पनि बस्न नसकेको उनले सुनाए । पर्यटन क्षेत्रको विकाससँगै जिल्लामा भिजिट नेपालको सफलताका लागि होटल तथा पर्यटन व्यवसायीको मात्र एकल प्रयासले सम्भव नरहेको उनको बुझाइ छ । ‘वास्तवमा भन्ने हो भने हामीले त आएका पर्यटकलाई स्तरीय सेवा दिएर उनीहरूलाई खुसी पार्ने मात्र हो, पर्यटक देशमा भित्र्याउन त राज्यनै लाग्नुपर्छ,’ उनले भने, ‘विदेशमा रहेका आफ्ना दूतावासमार्फत यहाँका पर्यटकीयस्थलको प्रचारप्रसार गर्नुपर्दछ, राज्यलाई हाम्रो स्थानीय पर्यटकिय स्थलको प्रवर्द्धन प्रचारप्रसार गराइदेऊ भनेर लबिइङ गर्नुपर्छ ।’


भिजिट मधेस कार्यक्रमका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफका अनुसार पर्सा राष्ट्रिय निकुञ्जको उचित प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्न सके थोरै समयमै यो निकुञ्ज चितवन निकुञ्जजस्तै चर्चित हुन सक्ने सम्भावना रहेको बताउँछन् । यसबाहेक जिल्लाको ठोरी गाउँपालिकामा होमस्टेलगायत पहाडी भूगोल र प्राकृतिक वनजंगलको प्रचुरताको कारण सिंगो ठोरी क्षेत्रलाई चितवनको सौरहाजस्तो विकास गर्न सकिने सर्राफ बताउँछन् । ‘यसबाहेक पारसनाथ मठ, कोइलाभारजस्ता पर्यटकीयस्थल पनि छन्,’ उनले भने, ‘आन्तरिक र बाह्य पर्यटकलाई मधेसको कला संस्कृति देखाउँदै गाउँगाउँमा होमस्टे सञ्चालनका पनि प्रचुर सम्भावना छ ।’ यही कर्तव्यबोध भएर भिजिट मधेस कार्यक्रमले स्थानीय स्तरबाट नै पर्यटकीय स्थलको पहिचान प्रवर्द्धन र प्रचारप्रसार गर्नका लागि परेको उनले बताए ।


वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सराबगी पर्यटन प्रवर्द्धनमा महानगरपालिकाको कार्यालय अत्यन्त सकारात्मक रहेको दाबी गर्छन् । भिजिट नेपाललाई सफल बनाउन महानगरपालिकाको कार्यालयले विभिन्न कार्यक्रम नै तय गरेको र त्यसअनुरूप वर्षभरिनै विभिन्न कार्यक्रम गरिने पनि उनले बताए । पर्यटन प्रवर्द्धनका लागि महानगरपालिकाको कार्यालयले १० लाख रुपैयाँ बजेट छुट्याएको पनि उनले सुनाए ।

प्रकाशित : मंसिर ३०, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?