फरार अभियुक्त धमाधम पक्राउ पर्दै

शिव पुरी

(रौतहट) — जिल्लामा भएका घटनामा संलग्न फरार अभियुक्तलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरीको अपराध अनुसन्धानको टोलीले ‘कर्भट अप्रेसन’ को माध्यमबाट लामो समयदेखी फरार पक्राउ परेका हुन् । उनीहरूविरुद्ध अदालतले कैद र जरिवाना तोकिसकेको छ । प्रहधरीले एक महिनाको अवधिमा थुप्रै फरार पक्राउ गरेका छन् । 

जिल्ला अदालतको फैसला कार्यान्वयनको सिलसिलामा विभिन्न घटनामा संलग्न रहेका अभियुक्त विरुद्ध कैद, जरिवाना तोकिएको र हालसम्म फरार धमाधम पक्राउ पर्न थालेका हुन् । मसिर महिनामा मात्र ३३ फरार पक्राउ परेको जिल्ला प्रहरीका डीएसपी नवीन कार्कीले बताए । ‘घटनापछि फरार रहेकाहरू गाउँ आएको सूचनापछि अपराध अनुसन्धानको टोलीले पक्रन सफल भएको हो,’ उनले भने, ‘अपराध गर्नेहरू जहाँ गए पनि उम्कन पाउँदैनन् । एक दिन पक्राउ पर्छन् ।’ प्रहरीले जिल्ला अदालतबाट फरारको नामावली लिएर खोजतलास सुरु गरेको हो । गरुडा नगरपालिका ६ का उमेश राय यादवलाई डाकाजन्नी मुद्दामा जिल्ला अदालतले २०६५ पुस १६ मा ६ वर्ष कैद र ६७ हजार पाँच सय जरिवाना गरेको थियो । गरुडाकै स्थानीय जोगिन्द्रप्रसाद चौधरीको घरमा २०६५ मसिर २८ मा डकैती गरी धनमाल लुटेको आरोपमा मुद्दा चलेपछि अदालतले कैद र जरिवनाको फैसला गरेको हो । एघार वर्षदेखि फरार यादवलाई इलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक रीपेन्द्रकुमार सिहको कमान्डमा खटिएको टोलीले गाउँबाट पक्रेको हो ।


ठगी मुद्दामा फरार दुर्गाभगवती गाउँपालिका–५ का हरिचन्द्र दासलाई शनिबार साँझ प्रहरीले घरबाट पक्राउ गरेको छ । बोक्सीको आरोपमा मुद्दा चली फरार राजदेवी नगरपालीका ६ का रामनारायण यादवसहित ४ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । प्रहरीले एक महिनाको अवधिमा यति धेरै फरार पक्राउ गरेको यो पहिलोपटक हो । प्रहरीमा आर्थिक वर्ष ०४७/४८ देखि ०७५/७६ सम्मका ५ सय ५० मुद्दाका झन्डै ६ सय आरोपित फरार रहेको अनुमान छ ।


लामो समयदेखि प्रहरीमा दर्ता भएको लागूऔषध ओसारपसार, कर्तव्य ज्यान, सरकारी छाप दस्तखत किर्ते, हातहतियार खरखजना, मानव बेचबिखन, किर्ते नागरिकता प्रमाणपत्र, जबरजस्ती करणी, परीक्षामा अनियमितता, भवितव्य ज्यान, सवारी ज्यान, बम विस्फोट गराई कर्तव्य ज्यान, खुन डाका, सरकारी कागजपत्र नष्ट गरेको, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराधका आरोपित फरार रहेको प्रहरीले जनाएको छ । उनीहरू ढिलोचाँडो पक्राउ पर्ने प्रहरीको दाबी छ । चोरी मुद्दामा २०६८ सालदेखि फरार रहेका गौर १० का रामएकवाल बैठा, धर्मेन्द्र पासवान र अन्य मुद्दाका समेत गरी १३ जनालाई एकै दिन पक्राउ गरेको छ । विभिन्न राजनीतिक दलको आबरणमा लुकेका र संरक्षण पाएकाहरू प्रहरीको फन्दामा पर्न थालेका हुन् । उनीहरू गाउँघरमा प्रहरीको आँखा छलेर लुकेर बस्थे । केही राजनीतिक शक्तिको आडमा खुलेआम हिँड्ने गरेको पाइएको छ ।


पुराना मुद्दाको फाइल हेर्दै

राजनीतिक प्रतिशोध, लेनदेन, फिरौती र अन्य कारणले गोली हान्दै मान्छे मारिएका तर अनुसन्धान नटुंगिएका दर्जनौं घटनाको छानबिनका लागि जिल्ला प्रहरीले फाइल अध्ययन थालेको छ । राजपुर फरदहवामा भएको बम विस्फोटको घटनामा छोरा ओसी अख्तरलाई जिउँदै चिम्नीमा हालेर मारेको भन्दै न्यायको खोजीमा भौंतारिएकै अवस्थामा सरुअठाकी रुक्साना खातुनको पनि २०६४ चैत २७ मा गोली हानी हत्या भएको थियो । यो घटनापछि रहस्यमय बन्यो र अनुसन्धान दरिलो हुन सकेन् । बमकाण्डमा पक्राउ परेका काग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ परेर थुनछेक बहस हुँदा पीडितका कानुन व्यवसायीले रुक्सानाको हत्या पनि बम केशमा जोडेका थिए । र पुन: अनुसन्धान हुनुपर्नेमा जोड दिएका थिए । आलम अहिले पुर्पक्षका लागि कारागार छन् ।


राजनीतिक शक्ति केन्द्रका कारण अनुसन्धान प्रभावित हुने परम्परा रुक्सनाको घटनामा पनि देखियो । राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीलाई गौर ८ स्थित जिल्ला अदालतअगाडि २०६८ असार २३ मा गोली प्रहार गरेको घटनाको प्रहरीले सूक्ष्म तरिकाले फाइल अध्ययन थालेको जनायो । स्थानीयले घाइते अवस्थामै उनलाई नजिकैको गौर अस्पतालमा पुर्‍याए पनि ज्यान बचेन । यो घटना पनि राजनिति प्रतिशोधको कारण भएको बताइएको छ । आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक पाएका उपेन्द्रले विभिन्न कुस्ती प्रतियोगितामा अब्बल क्षमता देखाएका थिए । उनको हत्याको निष्पक्ष छानबिन र दोषी पत्ता लगाउने काममा सधैं अलमल भइरहयो । घटनाको एक सातापछि मृतकका दाइ वीरबहादुर राय यादवले जिल्ला प्रहरीमा सर्फलाल भन्ने सर्फ महतो, जगन्नाथ राययादव, शिवजी धराययादव, सोनफीलाल पासवान, महेश राययादवविरुद्ध किटानी जाहेरी दिए । प्रहरीले सर्फलाल र जगन्नाथलाई अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लियो तर अदालतबाट उनीहरूले सफाइ पाए । त्यसपछि अनुसन्धान ओझेलमा पर्‍यो । उनका जेठा दाइ राजेन्द्रको पनि २०६० पुस २० मा गोली हानी हत्या गरिएको थियो । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहेका बेला तत्कालीन एमालेका समर्थक राजेन्द्रको हत्यालाई राजनीतिक प्रतिशोधका रूपमा हेरिएको थियो ।


२०६३ चैत ७ मा गौरको राइस मिलमा भएको नरसंहारको घटनामा २७ माओवादी कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको थियो । दर्जनौं घाइते भएका थिए । यो घटनामा सयभन्दा बढीको नाममा किटानी जाहेरी परे पनि अहिलेसम्म अनुसन्धान अघि बढेको छैन । मधेसकेन्द्रित दलका नेता उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले गरेको आमसभा स्थलमै तत्कालीन माओवादीले पनि आमसभा गरे पछि भएको झडपको घटनामा माओवादीको मृत्यु भएको हो । एकै स्थानमा दुई फरक शक्तिबीचको आमसभा एकै छिनमा हिंसामा परिणत भएको थियो । यो गम्भीर घटनामाथि न निष्पक्ष छानबिन सुरु भयो न त दोषीलाई कानुनी दायरामा ल्याउने प्रयास नै । राजनीतिक शक्ति केन्द्रको आडमा घटनालाई सामसुम पार्दै मृतकका परिवारहरूलाई आर्थिक सहायता दिएर न्यायको खोजी नगर्ने बनाइयो । नरसंहारको १४ वर्षपछि पनि पीडितका परिवार न्यायको पक्षमा बोल्ने अवस्थामा छैनन् । जिल्लाका कुनै राजनीतिकर्मी यो विषय उक्काउने पक्षमा देखिँदैनन् । जिल्ला प्रहरीले योसहितका घट्नाको फाइल अध्ययन थालेको जनायो ।


देवाही गोनाही नगरपालिकास्थित तत्कालीन गोनाही निमाविका शिक्षक सुनील यादवको २०६५ कात्तिक ७ मा भएको हत्या पनि रहस्यमै छ । विद्यालयभित्रै अतिरिक्त कक्षा पढाइरहेका बेला अपरिचित समूहले उनलाई कक्षाबाहिर बोलाएर गोली हानेको थियो । जिल्ला प्रहरीका एसपी भूपेन्द्र खत्रीले नसुल्झिएका पुराना व्यक्ति हत्याका घटनाको फाइल अध्ययन भइरहेको बताए । ‘विगतमा राम्ररी अनुसन्धान नगरिएका वा दोषी पत्ता नलागेका घटनामाथि हामीले कसरी अनुसन्धान प्रक्रिया अघि बढाउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौ,’ उनले भने ।


प्रकाशित : मंसिर ३०, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?