१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सरकारी विद्यालयमा बेथिति, शिक्षक गफमा मस्त

११ बजेदेखि पढाइ, २ बजे छुट्टी   
६० प्रतिशत विद्यार्थी गयल    
सुनीता बराल

(महोत्तरी) — बिहानको पौने १० बजे विद्यालय पुग्दा सुनासान थियो । कक्षा सुरु हुनुपर्ने समयमा विद्यालयमा न विद्यार्थी थिए, न शिक्षक । सवा १० बजेपछि बल्ल एक/दुई विद्यार्थी आउन थाले । ११ बजेबाट विद्यालय लाग्ने हुँदा उनीहरू ढिला आएका रहेछन् । 

सरकारी विद्यालयमा बेथिति, शिक्षक गफमा मस्त

१० बजेर ३० मिनेट पुग्दासम्म विद्यालयमा पाले दाइले घण्टीचाहिं ३ पटक बजाइसकेका छन् । विद्यार्थी र शिक्षक भने विद्यालयमा आइपुगिसकेका छैनन् । १०:४५ मा उपस्थित विद्यार्थीलाई लाइनमा लगाएर ५ मिनेटजति परेड गराइयो । त्यसपछि पनि विद्यार्थी कक्षामा गएनन् । शिक्षक र विद्यार्थी आउने क्रम पनि जारी नै छ । ११ बजे पढाई सुरु हुन्छ भनिएको विद्यालयमा ११ बजेपछि पनि कक्षा कोठामा धेरै विद्यार्थी प्रवेशै गरेनन् । विद्यार्थीको हूल विद्यालयको गेटबाट निस्किएर दायाँ–बायाँ लागिसके भने केही विद्यार्थी कक्षामा पसे । तर, धेरै विद्यार्थी भने अझै चौरीमै खेलिरहेका थिए । महोत्तरीको बर्दिबास नगरपालिका– १३ बिजलपुरामा रहेको जनता माध्यामिक विद्यालयमा दैनिक यस्तै चल्छ ।


त्यसपछि पनि एक दुई जनाबाहेक शिक्षक कक्षा कोठामा गएकै देखिएनन् । विद्यालयको चौरमा विद्यार्थीहरू खेली नै रहे । विद्यार्थी कक्षामा नगएपछि शिक्षक पनि कक्षामा प्रवेशै गरेनन् । तर विद्यार्थीले खेलेको ठाउँमा शिक्षक उभिएर हेरिरहेका थिए । दुई घण्टा विद्यालयलाई बाहिरबाट अवलोकन गरेपछि भित्र प्रवेश गर्दा केही शिक्षक विद्यार्थीको खेल हेरिरहेका थिए भने अर्कोतिर शिक्षकको समूहचाहिं गफगाफमा मस्किँदै हातमा सुर्ती माडिरहेका थिए ।


बालकक्षादेखि कक्षा १२ सम्म पढाइ हुने जनता माविको चौरको एकछेउमा भने कक्षा २ र ४ का बालबालिकालाई २ शिक्षिकाले पढाइरहेको पाइयो । विद्यालयका प्रधानाध्यापक पनि त्यतिबेला भने कक्षामा गएका रहेछन् । १२ बजेर ३० मिनेटमा भने विद्यालयको परिसर खाली नै भयो । विद्यार्थीहरू जबर्जस्ती कक्षामा लगियो ।


विद्यालयका प्रधानाध्यापक भरतप्रसाद साहले बालमैत्री कक्षा शिक्षण भनिएका कारण विद्यार्थीलाई कक्षामा राख्न नसकिएको बताए । गाली गर्न र पिट्न नपाइने भएकाले विद्यार्थीले भनेको नमान्ने गरेको आफ्नो मनलागी गरेका उनले बताए । आफ्नो स्कुलमा पढाइको गुणस्तर कसैको भन्दा कम नरहेको प्रअ साहले दाबी गरे । अव्यवस्थित समाजको दृष्टिकोणले मात्रै स्कुललाई राम्रो देख्न नसकेको उनले सुनाए ।

११ बजेबाट सुरु हुने विद्यालय २ बजे नै छुट्टी हुन्छ । विद्यालय समयमा विद्यार्थीलाई भोक लागेका कारण पढाइमा असर नगरोस् भनेर सरकारले दिवा खाजाको व्यवस्था गरेको भए पनि जनता माविमा भने खाजा खुवाएर स्कुलले विद्यार्थीलाई घर पठाउने गरिन्छ । बाल कक्षादेखि ४ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजापछि नै छुट्टी दिने गरेको विद्यालयका प्रअ साहले बताए । विद्यार्थी भाग्ने गरेका कारण गाली गरेर र पिटेर राख्न नसकेपछि छुट्टी दिने गरेको उनले सुनाए ।


६० प्रतिशत विद्यार्थी गयल

बाल कक्षादेखि कक्षा १० सम्म १ हजार विद्यार्थी अध्ययन गर्ने जनता माविमा दैनिक ४ सय विधार्थी पनि स्कुल आउँदैनन् । हाजिरी रजिस्टरका अनुसार सबैभन्दा बढी विद्यार्थर्कीो संख्या कक्षा आठमा देखियो । कुल १ सय ३ विद्यार्थीमा शुक्रबार ८ कक्षामा ४८ जना विद्यार्थी उपस्थित थिए । कक्षा ९ र १० मा पनि लगभग १ सयको हाराहारीमा विद्यार्थी छन् । तर हाजिरी रजिस्टरमा भने ४० जना विद्यार्थी पनि उपस्थित भएको देखिँदैनन् । उक्त विद्यालयमा बर्सेनि विद्यार्थीको उपस्थिति कम हुँदै गएको विद्यालयको गेटनजिकै व्यवसाय गर्दै आएकी अम्बिका तामाङले बताइन् । विद्यालयमा पढाइ नै नहुने भएपछि विद्यार्थी पनि विद्यालय नजाने गरेका स्थानीय बताउँछन् ।


मंसिर १० बाट जनता स्कुलमा दरबन्दी परेपछि विद्यालयमा हाजिर भएकी शिक्षिका गायत्री दाहाल कक्षा ४ का विद्यार्थिलाई क, ख र क का, सिकाइरहेकी थिइन् ।


किताबको पाठ्यक्रम पढाउने क्रममा पढ्न नसकेपछि उनले सुरुदेखि पढाउन थालेकी हुन् । विद्यालयमा विद्यार्थी उपस्थित नै नभएका कारण पनि पढाइमा कमजोर देखिएको र अभिभावकले समेत विद्यार्थिको भविष्यप्रति चासो नलिएको दाहाल बनाउँछिन् ।

प्रकाशित : मंसिर ३०, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?