कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सोलार सिँचाइले किसानलाई राहत

पर्सा — छिपहरमाई गाउँपालिका ३ का किसान रामाधार प्रसादलाई यस वर्ष गहुँ बालीमा सिँचाइ गर्न नपाइएला कि भन्ने चिन्ता छैन । उनको खेतमै सोलार प्रणालीको सिँचाइ सुविधा छ । ‘गत वर्षदेखि सिँचाइका लागि आकाशे पानी कुर्नुपर्ने हाम्रो बाध्यताको अन्त्य भएको छ,’ रामाधार भन्छन्, ‘सौर्य ऊर्जाबाट सञ्चालित सिँचाइ प्रणालीले हाम्रो दुःख हटाएको हो ।’

उनको मात्र खेतमा नभई अन्य किसानको खेतमा पनि सिँचाइ सुविधा उपलब्ध रहेको छ । खेतमा जडान गरिएका विशाल सोलार प्यानलबाट यहाँका किसानले घरमै बसेर मोबाइलबाट सिँचाइको पम्पिङ सेट सञ्चालन गर्ने सुविधा पाएका छन् । तराईमै बिल्कुलै नौलो खालको यो सिंचाइ प्रणाली छिपहरमाई गाउँपालिकाको कार्यालयले गत आर्थिक वर्षमा जडान गरेको हो । गाउँपालिकाका अध्यक्ष मनोज साहका अनुसार, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा गाउँपालिकामा ४५ वटा सोलार सिंचाइ प्रणाली जडान गरिएका हुन् । त्यसबाहेक १० वटा यस्तो प्रणाली संघीय सांसद लक्ष्मणलाल कर्णको संसदीय कोषबाट जडान गरिएका छन् । एउटा प्लान्टको लागत ९ लाख ६५ हजार रुपैयाँ परेको छ ।


सिंचाइ प्रणाली जडान गर्न ६० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदान दिएको र बाँकी रकम गाउँपालिकाको कार्यालयले गराएको हो । ४० प्रतिशतमध्ये ३० प्रतिशत गाउँपालिका र १० प्रतिशत किसानको योगदान छ । यसरी गाउँपालिकाले यस कार्यक्रममा १ करोड ५१ लाख रुपैयाँ लगानी गरेको उनले बताए ।


प्रत्येक बोरिङबाट एक दिनमा २ लाख लिटर पानी आउँछ । बिहान ७ देखि साँझ ५ बजेसम्म चलाउन सकिने बोरिङ किसानले घरमै बसेर मोबाइलबाट अफ अन गर्ने सुविधासमेत उपलब्ध छ । सम्पूर्ण बोरिङबाट दैनिक ९० लाखदेखि १ करोड लिटर पानी उपलब्ध भइरहेको छ । २ र ३ हर्स पावरका गरी २ थरी बोरिङ छन् । १ सय २० फिट गहिरो बोरिङ गाडिएका छन् । यसअघि गाउँपालिकमा सिंचाइको ठूलो समस्या रहेकोमा हाल भने धेरै राहत भएको अध्यक्ष साह दाबी गर्छन् । जिल्लामै मात्र नभई सिंगो तराईका जिल्लाहरूमध्ये आफ्नो गाउँपालिकामा यस्तो सिंचाइ प्रणाली पहिलोपटक सञ्चालनमा आएको उनको दाबी छ । २० देखि ४० वर्षसम्म चल्ने दाबी गरिएको यो सिंचाइ प्रणालीअन्तर्गतको सोलार प्यानलको ५ वर्षको ग्यारेन्टी रहेको उनले बताए ।


प्रकाशित : मंसिर ३०, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?