हात्ती आक्रमणको त्रास : रातभरि टिन ठटाउँदै
सिरहा — सिरहाको उत्तरवर्ती चुरे वन क्षेत्रका ३६ बस्तीमा जंगली हात्तीको आक्रमणबाट बर्सेनि जनधनको क्षति हुँदै आएको छ । समस्या समाधान गरिदिन स्थानीयले सरकारी निकायमा पटक–पटक हारगुहार गरे पनि कतै सुनुवाइ हुन सकेको छैन । सम्बन्धित निकायले बेवास्ता गरेपछि स्थानीयहरू रातभरि आगो बाल्ने र टिन ठटाएर जाग्राम बस्ने गरेका छन् । जंगली हात्तीको आक्रमण मंसिरदेखि माघसम्म बढी हुने गर्छ ।
लहान नगरपालिकाका बानो, अमही, मोहनपुर, तरेगनासहित धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकाका तीन दर्जनभन्दा बढी बस्ती बर्सेनि हात्तीको आक्रमणको चपेटामा पर्दै आएका हुन् । ती क्षेत्रका बासिन्दाको हात्तीले ज्यानसमेत लिने गरेको छ । मंसिरदेखि माघसम्मको सिजनमा सबैभन्दा बढी जनधनको क्षति हुने गरेको देखिन्छ ।
वन्यजन्तु विज्ञहरू झापादेखि चितवनसम्मको चुरे क्षेत्र हात्ती हिँड्ने कोरिडोर भएकाले हिउँदयामको मौसममा जंगली हात्तीको खतरा बढी हुन्छ । कोसी टप्पु आरक्ष र उदयपुरको चुरे क्षेत्र हुँदै यस क्षेत्रमा प्रवेश गरेको जंगली हातीको आक्रमणबाट सोमबार सिरहा मिर्चैया नगरपालिका ९ पैनघट्टाका श्रवण महतोका ८ वर्षीय छोरा रवीन्द्रको मृत्यु भयो । बाबुछोरा घरमा सुतिरहेका बेला राति ११ बजे हात्ती आएको चाल पाएपछि छोरा बोकेर बाहिर निस्कन खोज्दा सुँडले लछारपछार गरेपछि रवीन्द्रको मृत्यु भएको थियो । श्रवणले भागेर ज्यान जोगाए ।
तीन दिनअघि सिरहाको उत्तरवर्ती चुरे क्षेत्र प्रवेश गरेको जंगली हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका १० धरमपुरका ५५ वर्षीय कंशलाल लामा घाइते भए । विराटनगरमा उपचार गराइरहेका लामा शौच गर्न घरपछाडि बारीमा निस्कने क्रममा हात्तीले लछारपछार गर्दा घाइते भए । सोही रात हात्तीले गोलबजार नगरपालिका ३ स्थित मुसहर बस्तीका अशोक सदाय मुसहर, बद्री, रामचरित्र र दिलवर सदायको घर भत्काइदिएको छ ।
जंगली हात्तीले धनगढीमाई नगरपालिका १३ का निर्मल योञ्जन, मागैन यादव, रामप्रसाद यादव, भवनाथ दाहाल, विशेश्वर महतो, नागेश्वर महतोको घरमा क्षति पुर्याउनका साथै अन्नपात नष्ट गरेको छ ।
गाउँमा धनजनसहित मानवीय क्षति हुने त्रासले गाउँलेहरू रातभर आगो बालेर पालैपालो जाग्राम बस्न थालेका छन् । ‘त्रासमा रात काट्न बाध्य छौं’ मागैन यादवले भने, ‘रातभर कोही पनि निदाउँदैनन्, युवादेखि ज्येष्ठ नागरिकसम्मैले पालो लगाएर रातभर आगो र टिन ठटाउँदै जाग्राम बस्छन् ।’
बर्सेनि ती क्षेत्रका बासिन्दाले नियन्त्रणका लागि वन कार्यालयलाई पटक–पटक गुहारे पनि सुनुवाइ भएको छैन । जिल्ला वन कार्यालयले चुरे क्षेत्रमा हात्ती धपाउन वन कर्मचारी खटाएको छ । हात्तीको आक्रमणको त्रासले सिरहाको उत्तरी चुरे क्षेत्रका ५० भन्दा बढी घर परिवार विस्थापित भएका छन् । दुई वटाको संख्या रहेको जंगली हात्ती दिनभर जंगल क्षेत्रमा बस्ने र रातपरेपछि गाउँ प्रवेश गरी आतंक मचाउने गरेको पीडितहरूले बताएका छन् ।
जिल्ला वन कार्यालय सिरहाको तथ्यांकअनुसार हात्ती आक्रमणबाट सिरहामा केहीवर्षयता ६ जनाले ज्यान गुमाइसकेका छन् । जंगली हात्तीको आक्रमणबाट यो वर्ष ८ वर्षीय बालक रवीन्द्र महतोले ज्यान गुमाए । गत वर्ष उत्तरवर्ती चुरे क्षेत्र गोलबजार नगरपालिका १० गैरीटोलकी ७० वर्षीया बुद्धिमाया थापामगरको ज्यान गयो ।
छिमेकी गोकुल थापाको घरबाट शुक्रबार राति साढे आठ बजे टीभी हेरेर फर्किने क्रममा जंगली हात्तीले आक्रमण गर्दा वृद्धाको मृत्यु भएको थियो । हात्तीको आक्रमणबाट लहान नगरपालिका १७ का रामवती ठाकुर र रामदेव साफी, ढोढनाका ४२ वर्षीय देवनारायण चौधरी, सुरेश चौधरीले ज्यान गुमाइसकेका छन् ।
एक जनाले पाए क्षतिपूर्ति
सिरहामा जंगली हात्तीको आक्रमणबाट बर्सेनि मृत्यु भए पनि अहिलेसम्म एक जनाले मात्र क्षतिपूर्ति रकम पाएका छन् । राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ३ (घ) मा राष्ट्रिय निकुञ्ज तथा आरक्षभन्दा बाहिर वन्यजन्तुको आक्रमणमा परी धनजनको क्षति भएमा त्यस्तो क्षतिबापत तोकिएबमोजिम राहत दिइने उल्लेख छ ।
जिल्ला वन अधिकृत सुवासचन्द्र दासले आफ्नो कार्यकालमा जंगली हात्तीको आक्रमणबाट गत वर्ष मृत्यु भएकी उत्तरवर्ती चुरे क्षेत्र गोलबजार नगरपालिका १० गैरीटोलकी ७० वर्षीया बुद्धिमाया थापामगरको परिवारलाई १० लाख रुपैयाँ राहत दिइएको जानकारी दिए ।
प्रकाशित : मंसिर २९, २०७६ १३:१५