सिँचाइ नहुँदा सुक्यो नमुना खेती

कृषि गाउँमा कोल्ड स्टोर, माछापोखरी, कृषि उपकरण केन्द्र, माटो परीक्षण केन्द्र बनाउने र नमुना तरकारी तथा फलफूल खेती गर्ने योजना
सुनिता बराल

(महोत्तरी) — महोत्तरीको बर्दिवास नगरपालिकाले गौरवको आयोजना मेयर कृषि कार्यक्रमअन्तर्गत सुरु गरेको ‘नमुना कृषि गाउँ’ मा लगाइएको तरकारी खेती सिँचाइ अभावमा सुक्न थालेको छ । 

१५ लाख लगानीमा करिब १० कठ्ठा जग्गामा लगाइएको काउली, बन्दा, गोलभेडा, खोर्सानी, भान्टा, साँग, धनियाँलगायत तरकारी बाली र आँप, लिचिका विरुवा सुक्न थालेका हुन् । काउली र बन्दा कोभीको बिरुवा सुकेर काम नलाग्ने भैसक्दा पनि नगरको तरकारी खेतीप्रति चासो नदिएको स्थानीय बताउँछन् । बर्दिवास वडा ६ कि गंगादेवी महतोले नमुना खेतीमा नमुना देख्न पाइएला भन्दाभन्दै सबै तरकारी सुकिसक्दा पनि नगरले चासो नदिएको बताइन् ।


बर्दिवास नगरपालिका भित्रका करिब ४६ हजार किसानलाई खेती गर्न सिकाउँदै, खेतीमा आउने समस्या निराकरण गर्न लगाइएको तरकारी खेती नै सुकेपछि बर्दिवास नगरभित्रका नमुना खेति हेरेर खेति गर्न सिक्न चाहने किसान निराश भएका छन् । सबै तरकारी सुकेर माटोमै मिलिसक्दा पनि नगरले गौरवको आयोजनालाई चासो नदिनु त्यो भन्दा नमुना अरु केहि नहुने बर्दिवास ६ का अर्का किसान सन्तोष कुमार सिंहले बताए ।


बर्दिवास नगरपालिका वडा नम्बर २ र ६ को ७५ विघा क्षेत्रफलमा फैलिएको नमुना कृषि गाउँमा कोल्ड स्टोर, माछा पोखरी, कृषि उपकरण केन्द्र, माटो परीक्षण केन्द्र रहने र नमुना तरकारी तथा फलफुल खेती गरिने बर्दिवास नगरपालिकाले जनाएको छ ।


गतवर्ष ५ करोड बजेट छुट्याएर काम गर्न सुरु गरिएको मेयर कृषि कार्यक्रमका लागि यस वर्ष ९ करोड बजेट नगरले छुट्याएको बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले बताए ।

गौरवको आयोजनाअन्तर्गत लगाइएको नमुना तरकारी खेती सुक्नुको कारण भने नगरले पूर्ण तयारी विना गरिएको काम भएकाले कमजोरी भएको बताएको छ ।


सिंचाइका लागि राखिएको डिप बोरिङबाट पानी तान्दै लगाएको खेति मोटरले पानि तान्न छाडेपछि सुक्न थालेको मोडेल एग्रो भिलेजमा तरकारी खेतिको संरक्षणमा काम गर्ने कर्मचारी गंगाराम महतोले बताए ।


३ सय मिटर टाढाबाट पानी बोकेर खानुपर्ने अवस्था भएकाले तरकारीमा पानी हाल्न नसक्दा खेती सुकेको महतो बताउँछन् । आफ्नै कार्यकालमा मेयर कृषि कार्यक्रमलाई सफल बनाउने र पुरा गरेरै छाड्ने नगर प्रमुख विदुर कार्की बताउँछन् ।


मेयर कृषि कार्यक्रमका विभिन्न पाटोबाट काम भइरहेकाले अवको ३ वर्षमा बर्दिवास नगरपालिका भित्रका सबै किसानले यस कार्यक्रमको फाइदा लिन सक्ने मेयर कार्कीले बताए । यसैवर्षबाट बर्दिवास मेयर कृषि कार्यक्रमअर्न्तगत नमुना तरकारी खेती सुरु भएको हो ।


जनताको लगानिबाट सुरु भएको तरकारी खेतिनै सुकेपछि मेयर कृषि कार्यक्रमप्रति जनता निरास देखिएका छन् । उक्त कार्यक्रम सफल बनाउन नगरले समयमै चासोसहित काम गर्नुपर्ने स्थानिय बताउँछन् ।


प्रकाशित : मंसिर २७, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?