कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मोटरसाइकलको सिटमुनि लागूऔषध

पर्सा — मोटरसाइकलको सिटमुनि लुकाएर भारततर्फ लग्दै गरेको ठूलो परिमाणमा लागुऔषध चरेश सशस्त्र प्रहरीले बिहिबार बरामद गरेको छ । जगरनाथपुर गाउपालिका १ स्थित ओरिया खोला क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी बिओपि भिखमपुरको टोलीले ११ किलो चरेस बरामद गरेको हो । 

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय वीरगन्जका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरका अनुसार, सशस्त्र प्रहरी निरीक्षक निरन्जन नायजुको नेतृत्वको गस्ती टोलीलाई देखेर भारतीय नम्बर बिआर २२ जेड ३१२९ नम्बरको मोटरसाइकल छोडेर भागेका थिए । प्रहरी टोलीले चोरीको मोटरसाइकल ठानेर बरामद गरेको मोटरसाइकलको चेकजाँच गर्दा सिट मुनि चरेश लुकाएर राखेको अवस्थामा फेला परेको हो । ५ सय ग्रामका २२ वटा पोकामा रहेको चरेशलाई मोटरसाइकलसहित नेपाल प्रहरीको जिम्मा लगाइएको सप्रउ कुँवरले जानकारी दिए । प्रत्येक पोकामा पेनसिल आकारको बनाई प्लाष्टिकले बेरेर राखेर पोका बनाइएको थियो । ‘अत्यन्तै चलाखीपूर्ण रुपमा मोटरसाइकलको सिटको तल्लो भागलाई काटेर त्यहाँ चरेश लुकाइएको पाइएको छ,’ उनले भने, ‘तस्करीको यो शैली हेर्दा बिगतमा पनि यसै मोटरसाइकलबाट लागुऔषध भारततर्फ लगिएको अनुमान गर्न सकिन्छ ।’


खुल्ला सिमानाको कारण नेपालबाट गाँजा, चरेश जस्ता लागु औषध भारततर्फको तस्करी नियन्त्रण गर्न प्रहरीलाई समस्या हुँदै आएको छ । मकवानपुर तथा धादिङ क्षेत्रमा उत्पादन हुने गाँजा, चरेश जस्ता लागु औषध पर्सा राष्ट्रिय निकुन्जको बाटो वीरगन्ज जिल्लाको ग्रामिण भेगबाट भारतसम्म पुग्ने गरेको छ ।


तस्करले निकुन्जको वन क्षेत्रलाई बिगत देखिनै लागु औषध तस्करीका लागि प्रयोग गर्दै आएका छन् । मानविय उपस्थिति नहुने तथा सुरक्षाकर्मीको पनि पातलो उपस्थिति हुने भएकाले तस्कर समूहले निकुन्जको वन क्षेत्र लागुऔषध ढुवानीका लागि प्रयोग गर्ने गरेका हुन् । निकुन्ज बाहिर मानव बस्तीमा भने भरियालाई प्रयोग गरेर लागु औषध भारतसम्म पुग्ने गरेको छ ।


प्रकाशित : मंसिर २७, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?