कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

११ महिनामा २० को हत्या

धेरैजसो घटनामा आरोपित आफन्त नै छन्, कतिपय पक्राउपछि पुर्पक्षका लागि थुनामा छन् भने कतिपय फरार रहेकाले प्रहरीको खोजी सूचीमा छन् 
अवधेशकुमार झा

(राजविराज) — सप्तरीमा पछिल्लो ११ महिनामा २० जनाको हत्या भएको छ । मानव अधिकार दिवसका अवसरमा राजविराजमा इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा हत्याका अधिकांश घटनाका आरोपीलाई प्रहरीले पक्राउ गर्न नसकेको उल्लेख छ । 

सुरुंगा नगरपालिका–६ कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरीको ०७५ माघ ९ मा रुपनी–१ मा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । प्रहरीमाथि गोली चलाउँदा गरिएको जवाफी कारबाहीमा उनको मृत्यु भएको प्रहरीले जनाएको थियो । चौधरीका परिवारले भने नियन्त्रणमा लिएर प्रहरीले उनको हत्या गरेको आरोप लगाउँदै आएको छ ।


बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको गत माघ १४ मा हत्या भएको थियो । पक्राउ परेका आरोपित उनका बुबा तुरुन्तलाल फागुन ११ देखि पुर्पक्षका लागि राजविराज कारागारमा छन् । अर्का आरोपित आमा ४३ वर्षीया पवनदेवी बडही फरार छिन् ।


खडक नगरपालिका–५ खरचुहियाका ७५ वर्षीय सबुरी साह र उनकी पत्नी ६५ वर्षीया बेचनीदेवी साहको शव डढेको अवस्थामा गत फागुन १४ मा फेला परेको थियो । दुवैको हत्यापछि शव डढाइएको शंका गरे पनि घटनामा संलग्नको अझैसम्म पहिचान भइसकेको छैन । डाकनेश्वरी नगरपालिका–३ तरहीकी ३५ वर्षीया ललितादेवी साहको ०७५ माघ १२ मा हत्या भयो । आरोपित ससुरा ६८ वर्षीय रामदेव साहलाई वैशाख १९ मा प्रहरीले पक्राउ गरयो । जेठ १५ मा पुर्पक्षका लागि तारेखमा रिहा भए । फरार भनिएका आरोपित पति ४० वर्षीय शंकर साह र देवर ३५ वर्षीय राजकुमार भनिने राजीवप्रसाद साह प्रहरीको खोजी सूचीमा छन् ।


हनुमाननगर–कंकालिनी नगरपालिका–१४ का ६५ वर्षीय जगदीश रामको गत वैशाख २१ मा हत्या भयो । उनकै माइला छोरा ३२ वर्षीय देवकुमारले हत्या गरेको किटानी जाहेरी पर्‍यो । आरोपित अझैसम्म फरार छन् । तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराजको पिस जोन मोडेल स्कुलमा पढाउने २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीलाई असार ९ को राति राजविराज–७ खर्साल टोलमा आठ जनाको समूहले कुटपिट गरेको थियो । उनको असार ११ मृत्यु भयो । घटनामा संलग्न भनिएका कोही पनि पक्राउ परेका छैनन् । सुरुंगा–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीलाई असार १९ मा उनकै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुरले हत्या गरे । पक्राउपछि उनी साउन ९ देखि पुर्पक्षका लागि राजविराज कारागारमा छन् ।


सिरहाको गोलबजार नपा–९ चन्द्रोदयपुरका १२ वर्षीय मोहमद तरिक शेख, ३ वर्षीय आसिलम शेख र २ वर्षीया आजमिन खातुन असार २० मा मृत फेला परे । हत्या गरेको आरोपमा पक्राउ गरिएकी आमा ३५ वर्षीया रुक्साना खातुन साउन १५ देखि पुर्पक्षका लागि राजविराज कारागारमा छिन् । आत्महत्याको दुरुत्साहनको अभियोगमा पक्राउ परेका उनका पति तैयव राइनलाई जिल्ला अदालतले ७० हजार धरौटी लिई तारेखमा रिहा गरेको छ । रुक्साना बच्चाहरू लिएर कोसी ब्यारेजमा हाम फालेकी थिइन् । उनी बाँचिन, छोराछोरीको मृत्यु भएको थियो ।


हनुमाननगरकी २५ वर्षीया हीरादेवी मण्डल झुन्डिएको अवस्थामा फेला परिन् । गत असार २७ को साँझ उनका पति बैजनाथ मण्डल, ससुरा उमा मण्डल र सासू लक्ष्मीदेवी मण्डलले हत्या गरेर आत्महत्या देखाउन पासोमा झुन्ड्याइएको भन्दै पिता विष्णुपुर गापा–४ सिम्राहा सिग्यौनका बुधाइ मण्डलले असार २९ मा प्रहरीमा उजुरी दिए । दाहसंस्कारका लागि शव लैजाने क्रममा विवाद भएपछि बैजनाथलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उजुरी प्रहरीले दर्ता नगरी बैजनाथलाई त्यसै छाडेको आरोप हीरादेवीका माइती पक्षले लगाउँदै आए पनि आरोपितले हत्या नभई आत्महत्या गरेको बताउँदै आएका छन् । मधुपट्टी कनकपुरकी १८ वर्षीया पुनम यादवलाई असार ३० मा उनका पति २० वर्षीय सतीशकुमार यादव, ससुरा रामसिमृत, सासू रामसखी र जेठानी किरणले हत्या गरेको भन्दै दाजुले साउन २ मा इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिए । प्रहरीले साउन १३ मा सतीशलाई पक्राउ गर्‍यो । पीडितले विष सेवन गरी आत्महत्या गरेको बताउँदै आएका सतीश एक लाख धरौटीमा रिहा भए ।


अग्निसाइर कृष्णसवरण गापा–३ हरिहरपुरकी १९ वर्षीया गर्भवती रञ्जुदेवी यादवलाई साउन ५ मा हत्या गरेको आरोपमा घटनाको दुई सातापछि सासू लीलादेवी र ससुरा महेन्द्र यादव पक्राउ परे । दुवै पुर्पक्षका लागि थुनामा छन् । डाकनेश्वरी नपा–१ कविलासाकी २७ वर्षीया कञ्चनकुमारी यादवको साउन १८ मा हत्या भयो । पक्राउ परेका पति अरविन्दकुमार यादव भदौ २३ देखि पुर्पक्षका लागि राजविराज कारागारमा छन् । अन्य आरोपित पाँचजना पक्राउ परेका छैनन् । कञ्चनलाई हत्यापछि आत्महत्या देखाउन झुन्ड्याएको माइती पक्षको आरोप छ ।


बोदे बर्साइन नपा–४ की १९ वर्षीया अम्बिकाकुमारी साहलाई असोज १९ मा पति रामचन्द्र साह, देवर रामप्रसाद र सासू किसनीदेवीले पासोमा झुन्ड्याई हत्या गरेको भन्दै पिता शम्भुनाथ नपा–१२ कुशहाका चन्द्रकान्त साहले प्रहरीमा उजुरी दिए । प्रहरीले रामचन्द्र र रामप्रसादलाई असोज १९ मा पक्राउ गरे अभद्र व्यवहारको उजुरी दर्ता गरी कारबाही थाल्यो । महादेवा गापा–१ पकरी कुजराही टोलका ६२ वर्षीय मोहमद गफुर पमरियालाई असोज १९ मा पत्नी जमुनी खातुन र छोरा नइम पमरियाले हत्या गरेको भन्दै भाइ इसराइल पमरियाले प्रहरीमा उजुरी दिए । अदालतको आदेशमा जमुनी साधारण तारेखमा रिहा भइन् भने कात्तिक २० देखि नइम पुर्पक्षका लागि राजविराज कारागारमा छन् ।


बोदे बर्साइन नपा– ७ मानराजा बगबिराकी २५ वर्षीया राजोदवी यादवलाई असोज २६ मा पति विष्णुदेव यादव, उनकी जेठी पत्नी उषादेवी र विष्णुदेवका भतिजीबुहारी ममतादेवी यादवलगायतले हत्या गरेको भन्दै पिता सत्यनारायण यादवले प्रहरीमा उजुरी दिए । विष्णुदेवले विष खाएर सिकिस्त राजोदेवीको उपचारको प्रयास गर्दा गर्दै मृत्यु भएको बताएका छन् । कञ्चनरूप नपा–५ पिप्रा टोलका २३ वर्षीय अजयकुमार मुखियालाई कात्तिक १ राती सोही ठाउँका श्रीलाल सरदार, उनका छोरा विजय सरदार र बबरी भनिने रमेश सरदारलगायतले हत्या गरेको भन्दै पिता जनक मुखियाले प्रहरीमा उजुरी दिए । श्रीलाल र विजय पक्राउ परे, रमेश फरार छन् । अग्निसाइर कृष्णासवरन गापा–१ स्थित मुस्लिम टोलकी ३६ वर्षीया बुलु खातुनको कात्तिक १२ गते अपरिचित व्यक्तिबाट हत्या भएको भन्दै पति इनुस मियाँले कात्तिक १८ मा प्रहरीमा उजुरी दिए । घाँस काट्न निस्किएकी बुलुको शव महुली खोलाको पश्चिम कुलोमा कात्तिक १६ सडेगलेको अवस्थामा फेला परेको थियो । घटनाका आरोपितको पहिचान हुन सकेको छैन ।


राजविराज नपा–२ तेतरी गाछीकी १८ वर्षीया कोमल साफीको मंसिर ४ मा हत्या गरिएको शंकास्पद अवस्थामा घरमै शव फेला पर्‍यो । घरमा एक्लै रहेको अवस्थामा कोठाभित्र बिछ्यौनामा मृत अवस्थामा फेला परेकी साफीको घाँटीमा निलडाम थियो । घटनाको रहस्य खुलेको छैन ।


खडक नपा– १० का १५ वर्षीय सागर सरदारको मंसिर ८ मा हत्या गरेको आरोपमा स्थानीय शिवनारायण साह र ६ जना बालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लियो । उनीहरूविरुद्ध कर्तव्य ज्यानको उजुरी दर्ता गरेको छ । मंसिर ९ मा ७५ वर्षीया अनुरागीदेवी राजविराज नपा–६ मा कान्छा छोरा विनोद दासको घरमा मृत फेला परिन् । नाति दीपेन्द्र दासको उजुरीमा प्रहरीले शव पोस्टमार्टमका लागि धरानको बीपी प्रतिष्ठान पठाएको थियो । हत्या भएको र प्रहरीलाई जानकारी नदिई दाहसंस्कार गर्न थालेको भन्दै उजुरी परेको थियो । विनोदले भने मानसिक रोगी आमा कुर्सीमा चढेर छतमा उक्लिँदा लडेर मृत्यु भएको बताएका छन् ।


अधिकारकर्मी मनोहर पोखरेलले जिल्लामा भएका यी हत्याका घटनामध्ये अधिकांशका आरोपी फरार रहेको, केही घटनालाई आत्महत्याको रूप दिइएको भए पनि प्रहरी अनुसन्धानले प्रस्ट पार्न नसकेकाले जिल्लामा दण्डहीनताले प्रश्रय पाउँदै गएको आरोप लगाए ।



अनुसन्धानमा सीआईबी टोली

कपिलवस्तु – यहाँको पूर्व–पश्चिम राजमार्गस्थित बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा भएको एक जनाको हत्याको अनुसन्धान प्रहरीका लागि चुनौती भएको छ । गत मंसिर १३ मा धनराज पौडेलको शव विभत्स रुपमा हत्या गरिएको अवस्थामा फेला परेको थियो । घटनाको दुई साता हुन लाग्दा पनि पनि संलग्नका बारेका तथ्यप्रमाण बाहिर आउन नसकेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली जिल्ला आएको छ ।


सीआईबीका निरीक्षकको नेतृत्वमा तीन सदस्यीय टोली जिल्ला आएको हो । उनीहरूले अनुसन्धान थालेका छन् । यसअघि उक्त घटनाको छानबिन गर्न ईप्रका गोरुसिंगेका निरीक्षक सुभाष खड्काको नेतृत्वमा अनुसन्धान टोली गठन भएको थियो । अहिले दुवै टोलीले आआफ्नो तरिकाले अनुसन्धान गरिरहेको बताएका छन् ।


सीआईबी टोलीले घटनास्थलको निरीक्षण, परिवार, आफन्त र छिमेकीसँग सोधपुछ गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूले घटनाको प्रकृति र अवस्था, श्रीमान्/श्रीमतीको सम्बन्ध र घटनाका अन्य कुरालाई जोडेर अध्ययन थालेका छन् । हत्या आरोपमा मृतककी बुहारी लक्ष्मी पौडेल पक्राउ परेकी छन् । उनमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । उनले घटनामा आफू संलग्न नरहेको बताउँदै आएकी छन् । पौडेल आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए । मंसिर १३ गते दिउँसो हत्या भए पनि प्रहरीले साँझ ७ बजे मात्र घटनाबारे थाहा पाएको थियो । हत्या लक्ष्मीले नै गरेको मृतकका परिवारको आरोप छ । घटनाका बेला दुबईमा रहेका मृतकका छोरा शंकरले बुबाको हत्या श्रीमतीको संलग्नता हुन सक्ने आरोप लगाए । घटना थाहा पाएर घर फर्केका उनले श्रीमतीले आफूसँग निहुँ खोज्ने र दिनहुँ झैझगडा गरिरहने गरेको गुनासो गरे ।


परिवारका अनुसार घटनाका दिन लक्ष्मी र मृतक पौडेल घरमै थिए । धारिलो हतियार प्रयोग गरेर पौडेलको हत्या भएको छ । प्रयोग गरिएको हतियारको फिङ्गर प्रिन्ट परीक्षणका लागि काठमाडौं पठाइएको छ । उनको शव क्षतविक्षत अवस्थामा थियो । हत्यापछि लक्ष्मीले नै ससुरा हराएको र घरमा चोर आएको विषयमा प्रहरीमा जानकारी गराएकी थिइन् । मृतकका आफन्तले गरेको फोन नलागेपछि खैलाबैला मच्चिएको थियो । खोजबिन गर्दा पौडेल घरकै टीभी कोठामा वीभत्स हत्या गरिएको अवस्थामा भेटिएका थिए । शवलाई सिरक, ब्ल्याङ्केट ओढाइएको थियो । त्यही कपडाका बीचमा बुहारी लक्ष्मीको मोबाइलसमेत भेटिएको थियो ।


मंसिर १२ गते काठमाडौं जान हिँडेकी लक्ष्मी गोरुसिंगेमा रहेको एक होटलमा अर्कैका नाममा कोठा बुक गरेर बसेको भेटिएको छ । उनी होटलमा बस्दा अपरिचित पुरुष आएर भेटघाट गरेको बताइएको छ । ती पुरुषले लक्ष्मीका दुई वर्षीय छोरालाई समेत होटलमा ल्याएका थिए । स्टाफ नर्स पढेकी लक्ष्मीसँग पैसाका विषयमा श्रीमान् र परिवारसँग बारम्बार किचलो हुने गरेको थियो । छिमेकीहरूले घटनामा लक्ष्मीकै प्रत्यक्ष संलग्नता रहेको बताए । पौडेलको घाँटी, टाउको, पेट र शरीरका विभिन्न भागमा गम्भीर चोट थियो । उनी अर्घाखाँचीबाट बसाइँ सरेर गोरुसिंगे आएका हुन् । उनी हराएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजबिन गर्दा कोठामा मृत अवस्थामा फेला परेका थिए । ‘अनुसन्धान जारी छ,’ प्रहरी प्रवक्ता सुनिल मल्लले भने, ‘छिट्टै परिणाम निस्किने अपेक्षा गरेका छौं ।’


प्रकाशित : मंसिर २६, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?