१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

स्थानीय तहमा बेथिति : २६ महिना विरोधमै बित्यो

भरत जर्घामगर

(सिरहा) — सिरहाका धेरै गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको विवादास्पद कार्यशैली र विकासका कार्यमा दलीय आधारमा भेदभाव गरेको भन्दै विरोधको क्रम तीव्र बनेको छ । धेरै स्थानीय तहमा विवादको चुरो ‘आर्थिक पारदर्शिता’ बनेको छ । जनप्रतिनिधिले नेतृत्व लिएको २६ महिना बितिसक्दा पनि विवाद जारी रहनुले स्थानीय निराश बनेका छन् । 

स्थानीय तहमा बेथिति : २६ महिना विरोधमै बित्यो

केही स्थानीय तहका वडा र गाउँपालिका केन्द्रहरूमा दिनहुँ विरोध र्‍याली भइरहेका छन् । सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका छन् । यी स्थानीय तहले सञ्चालन गरेका योजना छनोटदेखि विकास निर्माण विवादमुक्त हुन सकेको छैन । कतिपय स्थानीय तहमा त दलीय उल्झनले योजना छनोटसमेत हुन सकेका छैनन् भने छनोट भएका योजना विवादकै कारण अधुरो छन् ।


खिचातानीकै कारण आइतबार लक्ष्मीपुर पतारी गाउँपालिकाका जनप्रतिनिधिसहित दलका कार्यकर्ता झडपमैं उत्रिए । त्यस क्रममा वडाध्यक्ष राजेश्वर साह सुडी घाइते भए । लक्ष्मीपुर पतारीमा नेकपा र कांग्रेसबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले संघर्ष समिति गठन गरी गाउँपालिका अध्यक्ष रामबल्लभ साह र उपाध्यक्ष आशाकुमारी यादवसँग आय–व्यय सार्वजनिक गर्न माग गर्दै विरोध कार्यक्रम गर्दै आएका छन् ।


नरहा गाउँपालिकामा पनि उस्तै छ । त्यहाँको गाउँपालिका केन्द्रमा पनि वडाध्यक्षसहित कार्यपालिका सदस्यहरूले चरणबद्ध घेराउ र धर्ना कार्यक्रम गर्दै आएका छन् । कार्यपालिका सदस्य संगीताकुमारी यादवको संयोजकत्वमा गत कात्तिक २७ बाट ५ वटै वडामा भण्डाफोरसहित विरोध र्‍यालीपछि दोस्रो चरणमा आइतबारबाट केन्द्रमा घेराउ र धर्नामा सुरु भएको छ । धर्ना बसेकाहरूको एउटै माग छ, ‘गाउँपालिकाले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै आय–व्यय’ सार्वजनिक र योजना छनोटमा ‘गाउँपालिका प्रमुखको मनोमानी’ ।


नरहा गाउँपालिकामा विरोधमा उत्रिएका संघर्ष समितिका सह–संयोजक रञ्जितकुमार यादवले आर्थिक वर्ष ०७४/७५ देखि हालसम्म गाउँपालिकाले कार्यसम्पादन गरेका योजनाहरूको आयव्यय सार्वजनिक गर्न माग गरे पनि सुनुवाइ नगरेकाले विरोधमा उत्रिन बाध्य भएको बताए । ‘हामीले हाम्रा मागहरूसहित गाउँपालिकादेखि जिल्ला प्रशासनमा गत कात्तिक २५ मा ज्ञापनपत्र बुझाइसकेका छौं,’ उनले भने, ‘गाउँपालिकाले सम्पदान गरेका कामको हिसाबकिताब सार्वजनिक नगर्नुको कारण भ्रष्टाचार भएको छ ।’ नरहा गाउँपालिका अध्यक्ष रामशरण यादवले आफूले कार्यपालिका सदस्य २८ जनामाझ वार्षिक आयव्यय सार्वजनिक गर्छु भन्दासमेत नमानेर उनीहरू दलीय प्रतिनिधिसमेत सहभागितामा सार्वजनिक गर्नुपर्ने बखेडा झिकी विरोध गरिरहेको प्रतिक्रिया दिए ।


लक्ष्मीपुर पतारीका संघर्ष समिति संयोजक चतुरानन्द ठाकुरले पतारी पोखरी निर्माण, दुर्गा भगवतीको मूर्ति र शिवलिंग स्थापना, सडक योजनालगायतमा आर्थिक अनियमितता गरेको, विकासका काममा दलीय आधारमा भेदभाव गरेको लगायत माग राखी ज्ञापनपत्र बुझाएर सचेत गराए पनि गाउँपालिका अध्यक्ष साह मनोमानी ढंगले चलेपछि गाउँपालिका घेराउ गर्न बाध्य भएको बताए ।


दलीय उल्झनमा स्थानीय तह

धर्ना र घेराउ भइरहेका स्थानीय तहमा खिचातानी बढ्नुमा दलीय संरचना समस्या बनेको छ । ५ वडा रहेको नरहा गाउँपालिकामा अध्यक्ष रामशरण यादव, उपाध्यक्ष गुलाव चौधरीसहित १, ४ वडामा पूर्वएमाले, ५ नम्बर वडामा पूर्वमाओवादी, २ मा कांग्रेस र ३ मा राजपाले जितेको छ । कांग्रेस, राजपासहित ती दलबाट निर्वाचित जनप्रतिनिधि र कार्यपालिका सदस्यलगायत दल आर्थिक पारदर्शिताको माग राख्दै विरोधमा उत्रिएका हुन् । ६ वडा रहेको लक्ष्मीपुर पतारी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र १, २, ३ वडामा समाजवादी पार्टी, ४ र ५ वडामा कांग्रेस र ६ नम्बर वडामा नेकपाले जितेको छ । कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरूले असार २५ मा सम्पन्न गाउँसभाले पारित गरेका नीति तथा कार्यक्रम पारित गरे पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्षले वडास्तरीय बजेटमा दलीय आधारमा भेदभाव गर्नका लागि विशेष गाउँसभा गरेकाले विरोध जनाएको बताए ।


सुरुआतीदेखिकैं खिचातानी

जनप्रतिनिधि बहाली भएको केही महिनामै स्थानीय तहमा विवादको शृंखला सुरु भएको हो । कर्जन्हा नगरपालिकामा विकृति विसंगति रोक्ने उद्देश्यले नगरपालिमामा भइरहेको गतिविधिको पारदर्शी रूपले सार्वजनिक गर्न माग गर्दै स्थानीय राजनीतिक दलका अगुवा नेता कार्यकर्ताहरूले विभिन्न सूचना तथा विवरण उपलब्ध गराउन नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।


स्थानीय राजनीतिक दलहरूले नगरपालिकास्तरीय १९ सदस्य सर्वदलीय समिति गठन गरी वर्ष ०७४/७५ मा वडा तथा नगरस्तरीय विनियोजन भएका बजेट, योजना इस्टिमेट र खर्चको विवरणलगायत ६ बुँदे मागपत्र नगरपलिकामा बुझाएपछि जिल्लाको स्थानीय तहमा कर्जन्हा नगरपालिकाबाट विवादको शृंखला सुरु भएको थियो । समितिले नगरपालिकाको मूलगेटमै पत्रकार सम्मलेन गरी ०७४/७५ मा वडा तथा नगरस्तरीय खरिद गरेका जिन्सी, सवारीसाधन र लागेको खर्च विवरण, वर्ष ०७५/७६ को योजना, नीति तथा कार्यक्रमको विवरण, कन्टेन्जेन्सी बापत कटाएको रकमबाट भएको काम र लागेको खर्चको विवरण, न्यायिक समितिको कार्यप्रगति विवरण र करको विवरण माग गरेका थिए । त्यस्ताका समितिको संयोजक रामऔतार राई नेतृत्वको टोलीले नगरपालिकाका मेयर गंगा पासमान र उमेयर ज्ञानु श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै माग गरिएको सूचना उपलब्ध गराउन आग्रह गरेका थिए ।


नगरपालिकामा पेस गरेको १५ बुँदे नगरका ११ वटा वडामा एक लाखका दरले विनियोजित ११ लाखको बजेट बिनानिर्णय वडा ६ को एक पोखरीको पुनर्निर्माणमा खर्च गरी अनियमितता गरेको, लोक सेवाको परीक्षा तयारी गर्न ५ लाखको बजेटमा ३ लाखको किताब मात्र खर्च गरी बजेट दुरुपयोग गरेको, निर्णयबिना वडा ६ को वेतहामा सडक निर्माण गर्न लगाई भ्रष्टाचार गरेको, आन्तरिक कोषबाट सवारीसाधन खरिद गरी अख्तियार दुरुपयोग गरेको, वर्ष ०७४/७५ को यथार्थ आय–व्यय विवरण प्रस्तुत नगरी १ करोड ५० लाख अघिल्लो बजेटबाट ल्याएको देखाई बजेट अपचलन गरी भ्रष्टाचार गर्न खोजेका आरोप लगाएका थिए ।


नागरिक समाज सिरहाका अगुवा राजकुमार राउत कुर्मी स्थानीय सरकार गठनसँगै सिंहदरबारको आर्थिक अनियमितताको रोग स्थानीय सरकारदेखि टोलटोलका घरसम्म पुगेको बताउँछन् । ‘स्थानीय सरकारमा दलीय उल्झन, नातागोता आफन्तलाई चेप्ने प्रवृत्ति बढेपछि बजेटको चरम दुरुपयोगसँगै स्वेच्छाचारी ढंगले अघि बढ्दा विकासको साटो विनाश हाबी भएको राउतको भनाइ छ ।


‘त्यही प्रवृत्ति अब विरोधको शैलीमा हरेक स्थानीय तहमा देखिन थालेको छ,’ उनले भने ‘अब जनप्रतिनिधिले आफूलाई सच्याउन ढिलाइ गर्न हुन्न, अझै समय घर्किसकेको छैन ।’

प्रकाशित : मंसिर २५, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?