‘निजगढ विमानस्थल देशकै मेरुदण्ड’

लक्ष्मी साह

(बारा) — बारास्थित प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबारे पछिल्लो समय सर्वोच्च अदालतबाट आएको आदेशप्रति सरोकारवालाको चासो बढेको छ । वातावरण विनाश गरेर विमानस्थल बनाउन नहुने भन्दै सर्वोच्चमा गरिएको रिट दायरपछि भएको प्रारम्भिक सुनुवाइमा विमानस्थलको काम यथास्थितिमा राख्न अदालतले अन्तरकालीन आदेश दिएपछि यसप्रति सरोकारवाला पक्षको चासो बढेको हो । 

‘निजगढ विमानस्थल देशकै मेरुदण्ड’

अदालतको आदेशपछि यहाँका विमानस्थल सार्वजनिक सरोकार समितिलगायतका पदाधिकारी, विमानस्थल निर्माणका लागि निरन्तर आवाज उठाउँदै आएका सामाजिक अगुवा, राजनीतिक दलका नेताहरू झस्केका छन् । त्यसैले निर्माणको लागि दबाब सिर्जना गर्न अदालतको आदेशप्रति उनीहरू चासो देखाएका हुन् । राजनीतिक दलका नेता, पूर्वमन्त्री, सामाजिक अगुवालगायत विमानस्थल निर्माणका लागि बनेको दबाबमूलक विभिन्न सरोकार समितिको चासो बढेको हो । उनीहरूले अदालतको आदेश राष्ट्रको हितमा हुनुपर्ने विश्वास व्यक्त गर्दै न्यायालयलाई सुझाएका हुन् ।


विमानस्थल मुलुकको समृद्धिको मेरुदण्ड भएकाले निर्माणमा बाधा अवरोध नपुर्‍याउन उनीहरूले सामूहिक आग्रह गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका पूर्वसचेतक शोभाकर पराजुलीले मंगलबार सिमरामा पत्रकार सम्मेलन गर्दै मुलुकको समृद्धिलाई पछाडि धकेल्ने मनसायले सर्वोच्च अदालतमा गरिएको रिट खारेज हुनुपर्ने माग गरे । ‘राष्ट्रको पक्षमा आदेश होस्,’ पूर्वसभासदसमेत रहेका कांग्रेस नेता पराजुलीले भने, ‘अदालतले विमानस्थल निर्माणको विषयलाई राष्ट्रको उन्नतिसँग दाँजेर हेरोस् ।’ अन्तरकालीन आदेशको गाँठो फुकाएर विमानस्थल अविलम्ब बन्नुपर्ने उनले बताए ।


‘बारामै विमानस्थल निर्माण गर्न राष्ट्रिय सहमति बनिसकेकाले त्यसलाई बिगार्ने दुष्प्रयास कोही कसैबाट नहोस्,’ उनले भने । यसैगरी दुई दिनअघि आधा दर्जन विमानस्थल सरोकार समितिले विमानस्थल बन्न नदिन षड्यन्त्र भइरहेको आरोप लगायो । समितिले बृहद् विकास रोक्ने तत्त्वको प्रभावमा नपर्न न्यायालयलाई सुझायो । अन्तर्राष्ट्रिय विमानस्थल, फास्टट्र्याक, विशेष आर्थिक क्षेत्र (सेज), ५ लेनको निर्माणाधीन व्यापारिक मार्गलगायत अन्य विकाससित सरोकार राख्ने आधा दर्जन सार्वजनिक सरोकार समितिले यस्तो आरोप लगाएका हुन् । समितिका पदाधिकारीहरूले छुट्टै पत्रकार सम्मेलन गरी विमानस्थल बनाउने विरोधीहरूको अभियान असफल भइरहँदा अब पछिल्लो समयमा आएर अदालतलाई प्रयोग गरी षड्यन्त्र गरिरहेको उनीहरूले आरोप लगाए ।


‘जबजब विमानस्थल निर्माणले गति लिन्छ, तबतब विरोधीहरू सल्बलाउँछन्, विरोधीहरू अहिले अदालतको अन्तरकालीन आदेश लिएर सल्बलाएका हुन्,’ विमानस्थल निर्माण सरोका समितिका संयोजक ढुण्डीराज उप्रेतीले भने, ‘हामीलाई विश्वास छ, विकासविरोधी तथा आत्मघाती रिट अदालतबाट खारेज हुन्छ ।’ पत्रकार सम्मेलनमा युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले देशको अर्थतन्त्र, रोजगारसित सरोकार राख्ने राष्ट्रिय गौरवको आयोजनामा हस्तेक्षप नगर्न सुझाए ।

प्रकाशित : मंसिर २५, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?