कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सडक पक्की, पुल छैन

सर्लाही — जिल्लाको हरिवन–कौडेना क्षेत्रीय कृषि सडक खण्डमा पर्ने लखनदेही नदीमा पुल नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको छ । पूर्व–पश्चिम राजमार्गदेखि हुलाकी सडक जोड्ने उक्त सडकमा साढे तीन वर्षअघि कालोपत्रेको काम सुरु भएको थियो । त्यसबेला कच्ची बाटो र नदी पार गरी राजमार्ग पुग्न स्थानीयले सास्ती खेप्नु नपर्ने सोचेर खुसी भएका थिए ।

पक्की सडक निर्माण गरी ठेकेदारले सडक हस्तान्तरण गर्ने अन्तिम चरणमा पुगेपछि स्थानीय भने निराश बनेका छन् । कच्ची सडक पक्की बने पनि बाह्रै महिना प्रयोग गर्ने हिसाबले बनेको छैन । उक्त सडक खण्डमा पर्ने लखनदेही नदीमा पुल छैन । विश्व बैंकको सहयोगमा १७ करोड ९२ लाख रुपैयाँको लागतमा यो सडकको कालोपत्रे सुरु भएको हो ।


पूर्व–पश्चिम राजमार्गको हरिवनबाट झन्डै ८ किलोमिटरको दूरीमा रहेको नदीमा पुल नहुँदा वर्षा मौसममा स्थानीय १६ किलोमिटरको दूरी पार गरेर घुमाउरो बाटो प्रयोग गर्ने गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र बरहथवा पनि ८ किलोमिटरकै दूरीमा छ । तर वर्षाको मौसममा झन्डै ४० किलोमिटरको यात्रा गरेर जानुपरेको स्थानीयको दुखेसो छ ।


नदीकै कारण बरहथवासम्म पुग्न पैदलयात्रा गर्नुपर्छ, यातायातका साधन चल्दैनन् । वर्षा मौसममा पुलकै कारण ठप्प रहने यो सडकमा सुक्खा मौसममा नदीमा जोखिम मोलेर यातायातका साधन चल्ने गरेका छन् । यसभन्दा अघि सडक पनि कच्ची र नदीमा पुल नभएकाले स्थानीय पैदल तथा साइकलको यात्रा गर्थे । अहिले सडक पक्की बनेको छ ।


यातायातका सवारीसाधन पनि चल्न थालेका छन् । तर नदीमा समस्या हुने गरेको स्थानीय बताउँछन् । स्थानीयलाई सबैभन्दा छोटो बाटो भएकाले यो सडक प्रयोग गर्ने गरेका छन् । सडक पक्की भए पनि नदीमा पुल नहुँदा उक्त सडक उपयोगी बन्न नसकेको कविलासी नगरपालिका–१ का शिवकुमार रायले बताए ।


‘पहिला सडक कच्ची र नदीमा पुल नभएकाले वर्षाको मौसममा यो सडक प्रयोगमा आउँथेन, अहिले सडक पक्की बनेको छ तर पुल नभएकै कारण बाह्रै महिना हिँड्ने सडक बन्न सकेको छैन,’ उनले भने, ‘सडकमा करोडौं खर्च गर्दा पनि पुल नभएकाले हाम्रो दुःख कम भएन ।’


यस क्षेत्रका स्थानीयले पक्की सडकभन्दा पनि पहिले पुलको आवश्यकता रहेको बताए । पुल नहुँदा नदीमा यातायातका साधन फस्ने र भासिने गरेको स्थानीयले जानकारी दिए । साना सवारीसाधनले भने नदीको वारि र पारि यात्रुको पर्खाइमा बस्ने गरेका छन् । भासिने डरले साना सवारी नदीमा चलाउन मान्दैनन् । नदीकै कारण राति असुरक्षा बढेको पिडारी बजारका सञ्जीव साहले बताए । ‘पुल नहुँदा गाडीहरू नदीमै फस्ने गरेका छन्, त्यो डरले साना सवारी ओहोरदोहोर गर्दैन,’ उनले भने ।


पुल नहुँदा पक्की गरिएको सडक पनि चाँडै भत्किन सक्ने प्राविधिकले बताएका छन् । पूर्वाधार विकास सम्पर्क एकाइ कार्यालयका साइट इन्जिनियर अरुण महतोले क्षेत्रीय कृषि सडकमा पुल नहुँदा कालोपत्रे भए पनि बाह्रै महिना सडक सञ्चालनमा आउने अवस्था नरहेको जानकारी दिए ।


उनले पछिल्लो समय व्यस्त बनेको यो सडकमा रहेको नदीमा पुलका लागि विभिन्न निकायमा पहल भइरहेको जानकारी दिए । ‘पूर्व–पश्चिम राजमार्गदेखि हुलाकी सडक जोड्ने लिंक रोड हो तर नदीकै कारण ब्रेक भएको छ,’ उनले भने, ‘कालोपत्रे अन्तिम चरणमा रहेको यो सडकअन्तर्गतको नदीमा पुलका लागि विभिन्न ठाउँमा पहल भइरहेको छ ।’


प्रकाशित : मंसिर २४, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?