कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रवेशद्वारको मुहार फेरिँदै

पर्सा — नेपालको प्रवेशद्वार भनेर चिनिने वीरगन्जस्थित नेपाल–भारत सीमामा रहेको शंकराचार्य प्रवेशद्वार क्षेत्र प्रदूषित, दुर्गन्धित रहेको गुनासो सुनिन्थ्यो । यो क्षेत्रको सरसफाइमा कसैको ध्यान गएको थिएन । सबै गाली गरेर मात्रै पन्छिन्थे । एक महिनायता भने दृश्य फेरिएको छ । प्रवेशद्वार धोइपखाली गरी टल्काइएको छ ।

त्यसमा उम्रिएका झारपात हटाइएका छन् । द्वारमुनि रहेको मिनी बगैंचा पनि गोडमेल गरेर चिरीच्याँट्ट पारिएको छ । वरपरको धूलो घटेको छ । वीरगन्ज महानगरपालिकले सीमामा फोहोर फाल्न बन्द गरेको छ । बटुवालाई यो बाटो भएर सीमावर्ती भारतीय सहर रक्सौलसम्म आउजाउ गर्न नाक थुन्नुपर्ने अवस्था हटेको छ ।


यसअघि नेपाल प्रवेशद्वार मानिए पनि यो क्षेत्रलाई सफा राख्ने कामको थालनी भएको थिएन । यस्तो बिजोग अवस्थामा अघि सरे वीरगन्जेली युवा । भोलुन्टियर्स टिम वीरगन्ज नामक संस्थामा आबद्ध डेढ दर्जन तन्नेरीको प्रयासले नेपालको प्रवेशद्वारा क्षेत्र अचेल सफासुग्घर बन्न पुगेको छ । पर्यटकको अगाडि आफ्नै दुरवस्था र बेथितिले शिर निहुराउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।


यसै शनिबारसमेत गरी यो टिमले लगातार चौथोपटक नेपाल प्रवेशद्वार क्षेत्रको सरसफाइ गरेको छ ।यो काममा उनीहरू आफैं मात्र हातमा झाडु लिएर सडक बढार्न लागिपरेनन् वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीलाई पनि यो अभियानमा साथ दिन आग्रह गरे । मेयर सरावगीले पनि सफाइ अभियानमा साथ दिए । अहिले महानगरपालिकाले फोहोर फाल्न रोक्नुका साथै थुप्रिएका फोहोर माटोले पुर्न थालेको छ । दुर्गन्ध आउन छाडेको छ ।


टिमका संयोजक राजन श्रीवास्तव अभियानमा पछिल्लो समय स्वतःस्फूर्त रूपमा वीरगन्जका सरोकारवालाको सहभागिता बढ्दो क्रममा रहेको दाबी गर्छन् । ‘सुरुमा हामीले यो पहलकदमी गर्दा न्यून सहभागिता थियो,’ उनले भने, ‘अहिले व्यापक जनसमर्थन जुटिरहेको छ, महानगरपालिकाको कार्यालयले दमकल दिएर सहयोग गरेको छ ।


वीरगन्जका संघसंस्था, विद्यालय, कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी सबैलाई यस अभियानमा जोड्ने योजना रहेको टिमका महासचिव श्याम सर्राफले बताए । ‘वीरगन्जको सरसफाइमा सबैको अपनत्व हुनुपर्छ,’ उनी भन्छन्, ‘हामी स्वयम्सेवी पनि दैनिक आआफ्नो पेसा र रोजगारीमा व्यस्त रहन्छौं तर साताको एक दिन हामी स्वयंसेवामा जुट्छौं, अब सबैले हामीसँग हातेमालो गरेर हौस्याउनु जरुरी छ ।’

प्रकाशित : मंसिर २४, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?