स्थानीय तहमा बेथिति, विशेष गाउँसभामा झडप

स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा चार राउन्ड अश्रुग्यास प्रहार, विरोध प्रदर्शनका क्रममा गाउँपालिका वडा ६ का अध्यक्ष राजेश्वर साह सुडी घाइते
भरत जर्घामगर

सिरहा — गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले विकासका काममा दलीय आधारमा भेद्भाव गरेको र मनोमानी ढंगले विशेष गाउँसभा डाकेको भन्दै नेकपा र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि सहित कार्यकर्ताले विरोध जनाउँने क्रममा आइतबार सिरहाको लक्ष्मीपुर पतारीमा प्रहरीसँग झडप भएको छ ।

स्थानीय तहमा बेथिति, विशेष गाउँसभामा झडप

गाउँसभा चलिरहेको स्थलमा विरोधका क्रममा नेकपा र कांग्रेसका कार्यकर्ताले ढुंगामुढा थालेपछि प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । विरोध प्रदर्शनका क्रममा वडा ६ का अध्यक्ष राजेश्वर साह सुडी घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको स्थानीय क्लिनिकमा उपचार गरिएको छ ।


ढुंगामुढाबाट कार्यालयको तीनवटा कम्प्युटर, सीसी क्यामेरा, झ्यालका सिसा फुटेको गाउँपालिकाले जनाएको छ । ६ वडा रहेको गाउँपालिकाका कांग्रेसले जितेका ४ का वडाध्यक्ष विधानन्द साह सुडी, ५ का देवकुमार यादव र नेकपाले जितेको ६ वडाध्यक्ष राजेश्वर साह सुडीलगायत ती दलले संघर्ष समिति गठन गरी १० बुँदे माग र विरोधका कार्यक्रमसहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महतलाई गत मंसिर ११ मा ज्ञापनपत्र बुझाएका थिए ।


स्थानीय सरकार सञ्चालन ऐनविपरीतका गतिविधि नगर्न तीन वडाध्यक्ष सहित दुई दलले ज्ञापनपत्र बुझाए पनि गाउँपालिका अध्यक्ष रामवल्लभ साह र उपाध्यक्ष आशाकुमारी यादवले मनोमानी ढंगले विशेष गाउँसभा गरेपछि गाउँपालिका घेराउ गर्न बाध्य भएको संघर्ष समितिले जनाएको छ ।


संघर्ष समितिका संयोजक चतुरानन्द ठाकुरले पतारी पोखरी निर्माण, दुर्गा भगवतीको मूर्ति र शिवलिंग स्थापना, सडक योजनालगायतमा आर्थिक अनियमितता गरेको लगायतका माग राखी ज्ञापनपत्र बुझाएर सचेत गराए पनि गाउँपालिका अध्यक्ष साह मनोमानी ढंगेले चलेपछि घेराउ गर्न बाध्य भएको बताए ।


६ वडा रहेको लक्ष्मीपुर पतारी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र १, २, ३ वडामा समाजवादी पार्टी, ४ र ५ वडामा कांग्रेस र ६ नम्बर वडामा नेकपाले जितेको छ । कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरूले असार २५ मा सम्पन्न गाउँसभाले पारित गरेका नीति तथा कार्यक्रम पारित गरे पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्षले वडास्तरीय बजेटमा दलीय आधारमा भेदभाव गर्नका लागि विशेष गाउँसभा गरेकाले विरोध जनाएको बताए ।


गाउँपालिका अध्यक्ष साहले कार्यालय भवन तोडफोडमा उत्रनेमाथि कारबाहीको माग गरे । ‘विरोध लोकतान्त्रिक विधिबाट हुनुपर्छ, तोडफोड गर्न कसैलाई छुट छैन,’ गाउँपालिका अध्यक्ष साहले भने, ‘तोडफोडमा उत्रनेलाई कारबाही हुनुपर्छ ।’ आफूमाथि झूटा आरोप लगाएको बताउँदै उनले विपक्षीले केही नपाएर नेकपा र कांग्रेसले विरोधका लागि विरोध गरेको प्रतिक्रिया दिए ।

प्रकाशित : मंसिर २३, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?