२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हातपातको विरोधमा नगरको काम ठप्प

ओमप्रकाश ठाकुर

सर्लाही — जनप्रतिनिधिबीचको विवादले आफैं थलिएको सर्लाहीको हरिपुर्वा नगरपालिकामा थप विवाद चुलिएको छ । प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको भन्दै हरिपुर्वा नगरपालिका कर्मचारीले आइतबार सम्पूर्ण कामकाज ठप्प पारेका छन् । उनीहरूले कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै अनिश्चितकालीन कामकाज अवरोध गरेका हुन् । 

हरिपुर्वा नगरपालिका–५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालयका विद्यार्थीले शुक्रबार साँझ नगरपालिकाको कार्यालयमा तोडफोड गर्नुको साथै प्रमुख प्रशासकीय अधिकृत सकलदेव रायमाथि हातपात गरेको विरोधमा कर्मचारी आन्दोलित बनेका हुन् ।

नगरपालिकाका कर्मचारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षक माग गर्ने बहानामा विद्यार्थीहरूले कार्यालय तोडफोड र प्रमुखमाथि हातपात गरेकाले घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाही नहुन्जेल अनिश्चित कालका लागि नगरको सम्पूर्ण कामकाज ठप्प रहनेछ ।’ कर्मचारी आन्दोलनका कारण कार्यालयबाट पाउने सेवा सर्वसाधारणले पाउन सकेका छैनन् । स्थानीयले वडाबाट सामान्य सिफारिससमेत नपाएको गुनासो गरे ।

विद्यालयका विद्यार्थीहरू शिक्षकको माग गर्दै शुक्रबार विद्यालयमा तालाबन्दी गर्दै नगरपालिकको कार्यालय पुगेका थिए । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रायलाई विद्यार्थीहरूले गुनासो राखेपछि उनले प्रधानाध्यापक रामपृत महतोलाई बोलाउन लगाए ।

छलफलकै क्रममा प्रमुख रायले प्रधानाध्यापक महतोलाई कार्यालयबाहिर निकालेपछि विद्यार्थीहरू होहल्ला गर्न थालेका थिए । यसै क्रममा अधिकृत रायका नजिकका एक व्यक्तिले मोटरसाइकलको हेलमेटले विद्यार्थीलाई कुट्न खोजेपछि विवाद बल्झिएको स्थानीयले बताए । त्यसलगत्तै आक्रोशित विद्यार्थीहरूले कार्यालयमा तोडफोड गर्नुको साथै प्रमुखलाई पनि हातपात गरेका थिए ।

प्राविधिकतर्फ पढाइ हुने सिभिल इन्जिनियरङ संकायका विद्यार्थीले विद्यालयमा प्राविधिकतर्फको शिक्षकको व्यवस्था मिलाउन पटक–पटक माग गरे पनि नगरपालिकाले बेवास्ता गर्दै आएको आरोप लगाए । शिक्षक अभावमा ८ महिनादेखि प्राविधिकतर्फ कुनै विषयमा पढाइ हुन सकेको छैन । पढाइ नभएपछि विद्यार्थीहरू रुष्ट छन् ।

विद्यालयमा लामो समयदेखि सिभिल इन्जिनियरिङ पठनपाठनका लागि नियुक्त गरिएका दुई जना ओभरसियर र एक जना इन्जिनियरको विषयमा विवाद चल्दै आएको छ । विद्यालयले मनोमानी किसिमले शिक्षक नियुक्त गरेको आरोप लगाउँदै अख्तियारमा मुद्दा परेपछि तीनै जना शिक्षकले अध्यापन गराउन पाएका छैनन् ।

यता प्रधानाध्यापक महतोले आफू नगरपालिका कार्यालय जाँदा प्रमुख प्रशासकीय अधिकृत तनावमा रहेको देखेपछि खासै कुरा नभएको बताए । अधिकृत रायले आफूले नै विद्यार्थीलाई उचालेर नगरपालिका कार्यालय पठाएको जस्तो बुझेको भन्दै प्रधानाध्यापक महतोको गुनासो छ ।

प्रमुख प्रशासकीय अधिकृत रायले भने आफूले प्रधानाध्यापकमाथि नराम्रो किसिमको कुनै व्यवहार नगरेको दाबी गरे । उनले नगरपालिका कार्यालय रहेको दोस्रो तल्लाबाट विद्यार्थीलाई तल झर्न आग्रह मात्रै गरेको जानकारी दिए । पछिल्लो समय विभिन्न बहानामा उक्त विद्यालयमा राजनीतिक किचलो हुँदा पठनपाठनमा असर परिरहेको छ ।

केही समयअघि मात्र प्रधानाध्यापकको सरुवाको विषयमा विवाद हुँदा सो विद्यालयमा धेरै दिनसम्म पढाइ नै ठप्प भएको थियो । विद्यालयमा बढ्दो विवादका कारण बालबालिका पढाइबाट वञ्चित हुनुपरेको अभिभावकहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । जारी विवादका कारण यसअघिको परीक्षा पनि रोकिएको थियो ।

विद्यार्थीहरूले गरेको तोडफोडबाट कार्यालयको कम्प्युटर, विद्युतीय उपकरण तथा अन्य फर्निचरका सरसामानमा क्षति पुगेको छ । निर्वाचित भएर आएका जनप्रतिनिधिबीचको किचलोले माथि उठ्न नसकेको नगरपालिका पुनः अर्को झमेलामा फसेको हो । नगर प्रमुख सियाराम रायले नगरपालिकामा भइरहेको विवाद समाधानका लागि पहल भइरहेको जानकारी दिए ।

प्रकाशित : मंसिर २३, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?