कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

४२ हजार टन मल भित्रियो

पर्सा — कृषि सामग्री कम्पनीले महिनायता सिर्सिया सुक्खा बन्दरगाह नाका हुँदै ४२ हजार टनभन्दा बढी युरिया र डीएपी मल भित्र्याएको छ । कम्पनीको वीरगन्ज क्षेत्रीय कार्यालय प्रमुख गोविन्द पराजुलीका अनुसार ४ वटा आयातकर्ता कम्पनीसँगको सम्झौताअनुसार महिनायता क्रमशः युरिया र डीएपी मल आउन थालेको हो ।

युरिया मलको ६० हजार टनको सम्झौतामध्ये हालसम्म २५ हजार टन मल ढुवानी गरिसकेको छ । डीएपी मलको ४५ हजार टन सम्झौता भएकोमा १७ हजार ५ सय टन डीएपी मल पनि भित्रिएको छ । सिंगापुरको विल्सन इन्टरनेसनल कम्पनी र संयुक्त अरब इमिरेट्सको मल्टी कमोडेटिज युरिया मलको आपूर्तिकर्ता हुन् ।


त्यसैगरी, डीएपी मलको आपूर्तिकर्ता संयुक्त अरब इमिरेट्सको स्विस–सिंगापुर कम्पनी र भारतको इन्डियन पोटास लिमिटेड हुन् । ग्लोबल टेन्डरबाट मल आपूर्तिको ठेक्का सकार गरेका यी कम्पनीले महिनायता क्रमिक रूपमा मल सुक्खा बन्दरगाहसम्म ल्याइरहेका छन् ।


बाँकी मल एक महिनाभित्रै नेपाल आइसक्ने पराजुलीको दाबी छ । सबै आपूर्तिकर्ताको मल भारतको कोलकाता बन्दरगाहसम्म आइपुगेको छ । त्यहाँबाट रेलमा लोड गर्ने र नेपालतर्फ पठाउने काम पनि भइरहेकाले आउँदो एक महिनाभित्र सबै मल भित्रिसक्ने उनको अनुमान छ ।


मलको कुल कन्साइन्मेन्टमध्ये २५ हजार टन युरिया र १७ हजार ५ सय टन डीएपी मल कम्पनी वीरगन्ज क्षेत्रिय कार्यालयले पाउनेछ । बाँकीमध्ये आधा–आधा विराटनगर र भैरहवा क्षेत्रीय कार्यालयले पाउनेछन् । विराटनगरको मल केही सुक्खा बन्दरगाहमा र धेरैजसो कोलकाताबाट सोझै सडक मार्ग भएर विराटनगर पुगिरहेको पराजुलीले जानकारी दिए । भैरहवाको मल भने सुक्खा बन्दरगाहमा आइरहेको र यहाँबाट ट्रकमा ढुवानी गरी भैरहवा लगिँदै छ ।


हालसम्म प्राप्त मल माग भएका जिल्लाहरूमा बिक्री वितरणको काम पनि जारी रहेको उनले बताए । कम्पनी वीरगन्ज क्षेत्रीय कार्यालयले प्रदेश २, ३ र १ का गरी डेढ दर्जन जिल्लामा मल उपलब्ध गराउँदै आएको छ । किसानले हाल गहुँ बालीका लागि डीएपी मल छरिरहेको र अधिकांशले डीएपी मल छरिसकेकाले यो मलको माग आउँदो केही दिनभित्रै ठप्प हुने पराजुलीले बताए ।


अब गहुँ बालीमा युरिया मल छर्ने सिजन सुरु हुने र त्यसका लागि हाल भित्रिएको मलले भरथेग गर्नेछ । बाँकी रहेको मल भित्रिएसँगै वितरण पनि क्रमिक रूपमै गरिने भएकाले गहुँ बालीका लागि यस सिजनमा युरिया मलको अभाव नहुने दाबी उनको छ ।


‘हालसम्म भित्रिसकेको र पाइपलाइनमा रहेका मलको कारण यस वर्षको गहुँ बाली सिजनमा युरिया मलको अभाव हुनेछैन,’ उनले भने, ‘शनिबार मात्रै एक र्‍याक मल सुक्खा बन्दरगाहमा आइपुग्यो, यस सिजनका लागि चाहिने युरिया मलको व्यवस्था करिब–करिब भएको छ ।’

प्रकाशित : मंसिर २३, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?