२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मसानघाटमा शव जल्दा विद्यालय बन्द

(कट्टीबलुवा, पर्सा) — गाउँमा कसैको मृत्यु हुँदा त्यहाँको विद्यालय नै बन्द हुन्छ भन्ने सुन्दा अचम्मै लाग्दो हो । गाउँको विद्यालय शोकमा बन्द हुने गरेको धेरैले अनुमान गरिएला । तर यहाँको एउटा विद्यालय शोक नभई त्रासले बन्द हुने गरेको हो ।

मसानघाटमा शव जल्दा विद्यालय बन्द

विद्यालयसँगै जोडिएको मसानघाटको कारण कालिकामाइ गाउँपालिका–४ प्रशुरामपुर कट्टीबलुवास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको पठनपाठन नै प्रभावित हुदै आएको छ । विद्यालयको दक्षिण साँध जोडिएको मसानघाटमा दाह संस्कार भएको दिन मात्र नभई त्यसको तीन/चार दिन सम्म पनि विद्यालयको पठनपाठन प्रभावित हुने गरेको छ ।


विद्यालयको दक्षिणतर्फ मसानघाट छ । मसानघाटमा दाह संस्कार भएको दिन मात्र नभई त्यसको तीन चार दिनसम्म पनि विद्यालयमा पढ्न आउन विद्यार्थी डराउँछन् । कक्षा ७ का विद्यार्थी सन्दिप कुशवाहा विद्यालय सञ्चालन भएको समयमा दाहसंस्कार गरिँदा चिताको धूवाँ कक्षाकोठासम्म पनि आउने गरेको बताउँछन् । ‘कोठासम्मै धूवाँ आउँदा हामीलाई डर लाग्छ, श्वासप्रश्वासमा पनि समस्या हुन्छ,’ उनले भने, ‘त्यसको ३/४ दिनसम्म विद्यालय आउन डर लागि रहन्छ ।’


विद्यालयका प्रधानाध्यापक इन्द्रदेवप्रसाद कुर्मी मसानघाटको कारण विद्यार्थीको बालमनोविज्ञानमा पनि नकारात्मक असर पर्ने गरेको बताउँछन् । ‘विद्यालयमा पठनपाठन भइरहेको बेला दाहसंस्कार गरिए विद्यार्थी तर्सिएर घर भाग्छन्,’ उनले भने, ‘त्यसको तेस्रो चौथो दिनसम्म पनि विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन्छ, यसरी विद्यालयको समग्र शैक्षिक वातावरण प्रभावित हुन्छ, वर्ष दिनमा गाउँमा ८ देखि १ दर्जन व्यक्तिसम्मको मृत्यु हुने र यही मसानघाटमा अन्तिम संस्कार गरिन्छ ।’ विद्यालयमा हाल ५ सय ९७ विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए ।


हाल रहेको मसानघाट नजिक जलाशयसमेत छैन । जसले गर्दा स्थानीयलाई पनि समस्या हुने गरेको छ । गाउँको बाहिर कट्टी मठको जग्गा रहेको र मठ व्यवस्थान नयाँ मसानघाटका लागि जग्गा दिन तयार रहे पनि परम्पराको नाममा केही स्थानीय बासिन्दा हालकै मसानघाटलाई निरन्तरता दिनुपर्ने अडानमा रहेकाले समस्या भइरहेको प्रअ कुर्मी बताउँछन् । समस्याबारे वडाध्यक्षदेखि गाउँपालिका प्रमुख सम्मलाई पटकपटक मौखिक तथा लिखित जानकारी गराउँदा पनि समस्याको समाधान हुन नसकेको उनले गुनासो गरे । गाउँपालिका अध्यक्ष नथुनी कुशवाहाको प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क स्थापित हुन सकेन ।

प्रकाशित : मंसिर २२, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?