१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

वाग्मती पुल अलपत्र

शिव पुरी

(रौतहट) — पुरानो दररेटमा काम गर्न नसकिने भन्दै निर्माण कम्पनीले निर्माण रोकेपछि दुर्गा भगवती गाउँपालिका ५ स्थित रौतहट–सर्लाही सीमाक्षेत्रको बडहर्वानजिक वाग्मती नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । निर्माण कम्पनीले ठेक्का रोक्न आरबिटेसन बोर्डमा निवेदन दिएका छन् । 

स्थानीय भने समयमै पुल नबन्दा सास्ती खेपिरहेका छन् । तराई जिल्लाका सदरमुकाम जोड्ने महत्वकांक्षी परियोजनाअन्तर्गत निर्माणाधिन वाग्मती नदीको पुल ठेकेदारको किचलोले अलपत्र परेको स्थानीयको भनाई छ । हुलाकी सडक आयोजना अन्तरर्गत दुवै जिल्लाको सीमा जोड्ने गरी वाग्मतीमा पुल निर्माणको ठेक्का पाएको लुम्बिनी बिल्डर्स, सिद्धार्थनगरले आरबिटेसन बोर्डमा निवेदन हालेको हो । दुई महिनादेखि ठेकेदार र हुलाकी सडकबीच विवाद जारी छ । सम्बन्धित निकाय र ठेकेदारबीच विवाद भएको अवस्थामा मध्यस्थता गर्ने र समस्या मिलाउने काम बोर्डको हो । यसअघि ठेकेदारले ठेक्का रद्दको माग गर्दै सर्वोच्चमा समेत मुद्दा हाल्ने तयारी गरेको थियो ।


आरबिटेसन बोर्डमा नगई सिधै अदालत आउन नमिल्ने भनेपछि निर्माण कम्पनीलाई फर्काइएको थियो । त्यसपछि ठेकेदारले बोर्डमा ठेक्का रद्दको निवेदन दर्ता गराएको हो । अव कहिले निवेदनमाथि छिनोफानो हुने र कहिलेबाट सुरु हुने भन्ने अन्यौल रहेको हुलाकी सडक निर्देशनालयका प्रमुख अशोक तिवारीले बताए । ‘ठेकेदारले अहिलेको दररेटमा काम गर्न सक्दैनौ भनेर एक तर्फि रुपमा ठेक्का रद्दका गर्न बोर्डमा निवेदन दिएको छ, ’उनले भने, ‘ हेरौ अब कहिले छिनोफानो हुन्छ । त्यस पछि मात्र काम सुरु हुन्छ ।’ यसअघि साबिकको स्थान भन्दा पूर्वबाट खोला बग्न थाले पछि निर्माणको काम तत्कालै रोकिएको थियो ।


लुम्बनी बिल्डर्सले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयामा ठेक्का सकार गरेको थियो । ठेकेदार कम्पनीसित ०६७ जेठ ३१ मा निर्माण सम्झौता भएको हो । ०७० जेठ ३० मा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, सम्झौता सकिएको ६ बर्ष नाघिसक्दा पनि निर्माण पुरा हुन सकेको छैन् । ठेक्का लुम्बिनीले सकार गरे पनि निर्माणको काम पप्पु कन्सन्ट्रक्सनले थालेको थियो ।


ठेक्का सकार गर्ने बेला पप्पुको निर्माण कम्पनि कालोसूचीमा परेको थियो । उसले लम्बिनीको नाममा ठेक्का लिएर काम गरेको हो । अब काम सुरु गर्नु पर्ने अवस्था आयो भने पप्पुलाई नदिने निर्माणकर्ताले जनाएको छ ।


नदिले धार परिवर्तन गरे पछि झन्डै ५ वर्षदेखि निर्माणको काम बन्द छ । निर्देशनालयले निर्माण सुरु गर्ने विषयमा निर्णय लिन ढिला गरेको भन्दै निर्माण कम्पनीले एकतर्फी ठेक्का रद्दको निवेदन दिएको छ । निर्देशनालयका प्रमुख तिवारीले ठेकेदारले डिजाईन गलत भएको भन्दै एकतर्फी रुपमा ठेक्का रद्द गरेको पत्र पठाएको जनाए । ‘ठेकेदारले आफ्नो तर्फबाट ठेक्का तोडि सक्यो,’ उनले भने,‘नयाँ दररेटमा कुरा मिल्यो भने निर्माण थाल्ने भन्ने उनीहरूको अडान छ ।’ पहिले पुल निर्माण सुरु गरेको भन्दा ८ सय मिटर पूर्वबाट खोला बग्न थाले पछि काम रोकिएको थियो । पुल एकातिर र नदि अर्कोतिर हुन थाले पछि तत्कालै निर्माणको काम रोकिएको थियो ।


पुलको लम्बाई ६३३ मिटर हो । चौडाइ डबल लेन्थको छ । पुलको १७ वटा पिलरको काम सकिएको छ । अव सुपर स्टक्चरको काम बाँकी छ । पुलको उचाइ केही बढाउने योजना रहेको निर्देशनालयले जनायो । निर्देशनालयका अनुसार अहिले सम्म ६० प्रतिशत बढी काम सकिएको छ । ठेकेदार मुद्दामा गएकाले निर्माणको काम अन्यौल बनेको हुलाकी सड्क योजना पर्साका योजना प्रमुख दीपेन्द्र पाण्डेले जनाए ।


‘ठेकेदारले आरबिटेसन बोर्डमा निवेदन दर्ता गराएको छ । यस्तो अवस्थामा कहिले काम सुरु हुने भन्ने यकिन गर्न गार्‍हो छ,’ उनले भने,‘ यसले निर्माणधीन पुलको डिजाइन रिभ्युको प्रतिबेदन समेत प्रभावित भएको छ ।’ गृह जिल्ला र निर्वाचन क्षेत्र समेत भएकाले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलान्यास गरेका थिए ।


अहिले पिलरको काम बाहेक अरु केही भएको छैन । लामो समयदेखि पुल अलपत्र रहेको भन्दै नेपालले काम सुरु गर्न दबाब दिदै आएका छन् । निर्देशनालयले काम सुरु गर्न निर्माण कम्पनिलाई पटक /पटक पत्राचार गरेको थियो । ठेकेदार, हुलाकी सडक निर्देशनालय र पुल महाशाखाका प्रतिनिधिबीच पटक–पटक छलफल समेत भइसकेको छ ।


निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका ठेकेदार लंक केसीले प्राविधिक कारण देखाएर काम बन्द भए पछि समयमा निर्माणको साईड उपलब्ध नगराएको र पुरानो दररेट तथा सम्झौताको अवधि सकिएकाले आफ्नो पक्षबाट ठेक्का तोडेको बताए । ‘लामो समयसम्म साइड उपलब्ध गराउन सकेन् । ढिला भए पछि पुरानै दररेटमा काम गर्न सक्ने अवस्था पनि छैन् । त्यसैले ठेक्का रद्दको लागि आरबिटेसन बोर्डमा निवेदन दर्ता गराएका हौ,ं’ उनले भने, ‘चाँडै छिनोफानो हुन्छ होला । जे हुन्छ राम्रैको लागि हुन्छ ।’


ठेकेदारले काम सुरु गर्न लाग्दा उसै बेला स्थानीयस्तरमा अवरोध भएपछि झन्डै १३ महिना साइड उपलब्ध हुन सकेन । त्यसपछि सुरु गरेपछि नदीले धार परिवर्तन गरेको भन्दै काम रोकेको थियो । निर्माणकै क्रममा काम बन्द भएपछि निर्देशनालयले गत जेठमामा पुलको उचाइ २ सेमि बढाउने गरी काम सुरु गर्न ठेकेदारलाई पत्राचार गरेको थियो ।


प्रकाशित : मंसिर २१, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?