१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भारतले नहरमा पानी छाडेन, किसान निराश

किसानले महँगोमा बीउ र मल किने पनि यस वर्ष भारतले नहरमा पानी नछाड्ने व्यहोराको पत्र पठाएपछि किसान तनावमा छन् 
शंकर आचार्य

(पर्सा) — भारतले यस वर्ष गण्डक नहरमा हिउँदे बाली लगाउने सिजनका पानी नदिने भएपछि किसान निराश बनेका छन् । नहरमा पानी आउने आशामा खेतमा गहुँको बीउ छरिसकेका किसानलाई अब कहाँबाट सिँचाइका लागि पानीको व्यवस्था गर्ने भन्ने चिन्ता छ । 

भारतले नहरमा पानी छाडेन, किसान निराश

नहरमा पानी नआउने भएपछि पर्सा र बाराका किसानले ठूलो क्षति व्यहोर्ने कृषकका अगुवाहरूले बताएका छन् । किसान हक हित संघर्ष समितिका जिल्ला अध्यक्ष सहरूम राउत गद्दीलेहिउँदे बालीमा सिँचाइ गर्न नहरमा पानी नआए आफूहरू ठूलो समस्यामा पर्ने बताए । ‘नहरमा पानी नआए हामी किसान मर्छौ,’ उनले भने, ‘महगो बिउ र मल किनेका हामीले नहरबाट पानी नपाए हाम्रो बाली मर्छ, यसले हामीलाई दोहोरो–तेहरो मार पर्छ ।’ नहरको उत्तरी भेगका किसानले पम्पिङ्ग सेट, कुलो लगायतबाट जसोतसो सिँचाइ गरे पनि दक्षिणी भेगका किसान पूर्णरूपले नहरकै पानीमा आश्रित रहेकाले पानी नआउदा विशेष गरी गहुँ बाली बिग्रने उनले बताए ।


अर्का किसान पृथ्वी साह कानुले भने, ‘भारतीय पक्षले पानी दिन नसक्ने जानकारी किसानलाई गहुँ छर्नु अघि दिएको भए वैकल्पिक बाली लगाउने सोच त बनाउँथ्यौं । ढिलो गरी सूचना दिएपछि किसानलाई ठूलो नोक्सान हुन्छ । ’ उनले थपे, ‘गहुँ बाली लगाउन नसक्ने अवस्थामा हामी तोरी वा अन्य सिँचाइ कम लाग्ने बाली लगाउथ्यौं, तर अन्तिम समयमा आएर यसरी पानी दिन नसक्ने भारतले जनाउँदा २ जिल्लाका किसानलाई ठूलो मर्का परेको छ ।’


भारतीय भूभागमा नहरको मर्मत कार्य गरिने जनाउसहितको पत्र भारतीय पक्षले नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जलाई हालै पठाएको छ । नेपाल र भारत बीचको गण्डक सम्झौताअनुसार, गहुँ बालीका लागि भारतले बर्षेनी डिसेम्बर २५ देखि मार्च २५ सम्म नहरमा पानी छोड्ने गरेको छ ।


कार्यालयका इन्जिनियर एवम् सूचना अधिकृत सुरेशप्रसाद साहले भारतीय पक्षको पानी छाड्न नसकिने व्यहोरा सहितको पत्र सोमबार कार्यालयमा प्राप्त भएको जनाए । ‘भारतको रामनगरस्थित दोन कनाल डिभिजन कार्यालयका एक्जुकेटिभ इन्जिनियर शैलेन्द्र कुमारको हस्ताक्षर सहितको पत्र सोमबार प्राप्त भएको हो,’ उनले भने, ‘पत्रमा भारतीय भूमिमा गण्डक नहरको १०६ दशमलव ४५ आरडीमा गर्न लागिएको क्रस ड्रेनेजको निर्माणका कारण यस बर्ष हिउँदे बाली सिजनमा नहरमा पानी दिन नसक्ने व्यहोरा उल्लेख छ ।’ त्यहाँ रहेको क्रस ड्रेनेज क्षति भइसकेकाले भारतले नयाँ क्रस ड्रेनेज निर्माण गर्न लागेको साहले बताए । क्रस ड्रेनेजबाट नहरमुनि खोला नाला जस्ता प्राकृतिक बहावलाई पास गरिएको हुन्छ । भारततर्फ गण्डक नहरको संरचना लामो रहेको तथा त्यहाँ खोला नाला पनि नेपालको तुलनामा बढी रहेकाले त्यता क्रस ड्रेनेज, साइफन, नहरको किनार आदि संरचनामा बढी क्षति हुने गरेको छ । तिनको नियमित मर्मत सम्भार तथा नया संरचना निर्माण पनि गर्ने गरिएको साहले बताए ।


गण्डक नहरको संरचना नेपाल भन्दा भारतमा बढी छ । नहरको भार क्षमता नेपालको भन्दा भारतीय नहरको बढी छ । यो नहर नेपालमा पर्साको जानकीटोलाबाट प्रवेश गरेर रौतहटको वाग्मतीमा झर्दा ८१ किमि यात्रा तय गर्छ । नवलपरासीस्थित नेपाल भारत सीमाबाट सुरु हुने नहर पर्साको सीमासम्म आउँदा भारतमा ९२ किमि लामो छ । नेपालतर्फ नहरको भार क्षमता ८ सय ५० क्युसेक हो भने भारतमा यसको भारत क्षमता २ हजार ५ सय क्युसेक छ ।

इन्जिनियर साह भने भारतीय पक्षले क्षतिग्रस्त क्रस ड्रेनेजको ठाउमा नया ड्रेनेज निर्मांणको काम रवि बाली सिजनमा नगरे आउदो धान बाली सिजनमा नहरमा पानी आउने सम्भावना झनै कम हुने बताउँछन् । ‘हाल भारतले गर्न चाहेको क्रस ड्रेनेजको निर्माण कार्य रोकेर गहुँ बालीका लागि नहरमा पानी छोडे आउँदो धान बाली सिजनमा पानी आउने सम्भावना झनै कम हुन्छ,’ उनले भने, ‘त्यतिजेन्ल क्रस ड्रेनेजको निर्माण कार्य सकिने अवस्था हुँदैन, जसले किसानलाई झनै बढी घाटा हुन सक्छ ।’ गहुँलाई कम सिँचाइ र एक पटक थोरै सिँचाइ भए पनि पुग्ने साह बताउँछन् ।


प्रकाशित : मंसिर २१, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?