कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मापदण्डबिनाका सडकले दुर्घटना

स्थानीय तह र संसदिय कोषमार्फत बिस्तारित सडकका प्राविधिक उपभोक्ता समितिका पदाधिकारी र डोजर चालक भएकाले दुर्घटनाको जोखिम बढी
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीलाई सडक सञ्जालसँग जोडिँदै छ । जताततै सडक निर्माण थालिएका छन् । भएका सडको स्तरोन्नती हुँदैछ । मापदण्डको ख्यालै नगरी बनाइएको सडकले भने दुर्घटना बढाएका छन् । चिल्ला सडकमै गाडी पछारिने र पल्टिने घटना बढेको हो । 

मापदण्डबिनाका सडकले दुर्घटना

सडक बिस्तार गर्दा ग्रेड तथा घुम्ती मिलाइएको छैन । ग्रामिण क्षेत्रमा विजुलीको पोल बीच सडकमा छोडेर कालोपत्रे गरिएको छ । सडक निर्माणमा खेलाँची गरिंदा सर्लाहीमा दिनहुँ दुर्घटना भइरहेका छन् । स्थानीय तह र संसदीय कोषमार्फत बिस्तार भएको सडकमा उपभोक्ता समितिका पदाधिकारी र डोजरका चालक नै प्राविधिक बन्दा दुर्घटनाको जोखिम बढेको हो ।


हरिवनबाट गोडैता घरतर्फ फर्किदा शम्भु साह जानकीनगरमा दुर्घटनामा परे । हरिवन–कौडेना सडकखण्डमा पर्ने जानकीनगरको घुम्तीमा मोटरसाइकल अनियन्त्रित भएर साह दुर्घटनामा पछारिएका थिए । उनले दुई साता वीरगन्जस्थित निजी अस्पतालमा उपचार गराए । साहले घुम्तीमा रहेको सडकको ग्रेड नमिलाई कालोपत्रे गरिएको हुनाले आफु दुर्घटनामा परेको सुनाए । उनको दाहिने खुट्टाको हड्डी भाँचिएको छ । ‘मोटरसाइकलको गती सिमित थियो, घुम्तीमा मोड्न खोज्दा मोटरसाइकल अनियन्त्रित बन्यो, रोक्न खोजेपनि ढल्क्या–ढल्क्यै भयो,’ उनले भने, ‘घुम्ती साँघुरो र ग्रेड नमिलेकाले दुर्घटना हुँदा अस्पतालको बास बस्नुपर्‍यो, खुट्टा फेक्चर भयो ।’


यहाँका स्थानीयले दिनहुँजसो यो घुम्तीमा सानासवारी साधन अनियन्त्रित भएर दुर्घटना भइरहेको बताए । हेमपुरका अनिल यादव पनि पिडारी बजारबाट फर्किने क्रममा पिपरियामा दुर्घटनामा परे । यादव एकातिर बीच सडकमा रहेको बिजुलीको पोल छल्न र अर्कोतिर बच्चालाई जोगाउन खोज्दा दुर्घटनामा परेका हुन् । स्थानीयले उनलाई स्वास्थ्य संस्थामा लगे । गम्भिर चोट लागेका उनलाई आफन्तले उपचारका लागि बिरगंज पुर्‍याए । चिकित्सकको सल्लाह अनुसार उनी एक महिना लामो बेड रेस्टमा बसे ।


कविलासी नगरपालिका–२ मा नगरपालिकाले करिब एक किलोमिटर सडक कालोपत्रे गरेको छ । कालोपत्रे गर्दा बिजुलीको पोल हटाइएको छैन । त्यसमाथी स्थानीयले टायर गाडा, ट्र्याक्टर, जिप र निर्माणका समाग्री सडकमै राखेका छन् । जसले सडक साँघुरो भएको छ । सडक साँघुरोकै कारण केहीदिन अघि स्थानीय रजनिश साहका ५ वर्षकी छोरीलाई ट्र्याक्टरले किच्यो । बालिकाको घटनास्थलमै मृत्यु भयो । बाटो फराकिलो

भए पनि बिजुलीको पोल, सवारीसाधन र निर्माण समाग्रीले सडक साँघुरो भएको र यही कारणले बालिकाले अकालमै ज्यान गुमाउनु परेको स्थानीयको भनाई छ ।


सर्लाहीमा दैनिकजसो हुने दुर्घटनामा चालकको लापरबाहीसँगै सडकको अवस्था पनि दोषि रहेको प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौरले बताए । उनले जीर्ण सवारीसाधन, ट्राफिक नियमको उलंघन र फैलिएको नयाँ सडकमा घुम्ती नमिलेकाले दुर्घटनाको मुख्य कारण रहेको जानकारी दिए । ‘स्थानीय तह तथा उपभोक्ता समिति र ठेकेदारको ध्यान सडक बिस्तार गर्नेतिर मात्र केन्द्रित छ, सडक बिस्तार गर्दा यात्रुको सुरक्षा र सडकको गुणस्तर तथा मापदण्डमा चासो छैन,’ उनले भने, ‘यसले दैनिकजसो दुर्घटना भइरहेको छ । स्थानीयले अकालमै ज्यान गुमाउनुपरेको छ ।’


सडक निर्माणमा ध्यान पुर्‍याउन नसक्दा वा चालकको लापरबाहीले बर्सेनी ठुलो संख्यामा मानवीय क्षति व्यहोर्नुपरेको स्थानीयको भनाइ छ । ‘पछिल्लो समय ग्रामिण सडक स्तरोन्नती भइरहेको छ । तर सडकको लेभेल मिलेको छैन,’ सर्लाहीका नागरिक अगुवा रजनीकान्त झाले भने, ‘गुणस्तरीय र मापदण्ड अनुसारको सडक निर्माणमा नागरिक तहबाटै ठूलो दबाब जरुरी छ ।’ उनले उपभोक्ता समिति र कालोपत्रे गर्ने ठेकेदारले सडकको गुणस्तरमा ध्यान नदिएको गुनासो गरे । झाले सडकको नियमन गर्ने निकाय पनि ठेकेदारले गरेको कामको अगाडि निर्हिय बनेको आरोप लगाए ।


जिल्लाका २० वटै स्थानीय तहले बर्सेनी सडकलाई नै प्राथमिकतामा राखेर काम गर्दै आएको छ । स्थानीय तहले सडकमा लगानी बढाएसँगै दैनिकजसो दुर्घटना भइरहेको छ । जिल्ला प्रहरी कार्यालयले यस आर्थिक वर्षको साढे चार महिनामा ५८ दुर्घटनाको मुद्दा परेको जनाएको छ । जसमा १९ जनाले अकालमै ज्यान गुमाए भने ४५ घाइते भएका छन् । यसबाहेक दर्जनौं दुर्घटनामा पीडित र चालकबीच सहमति भइसकेको छ । सहमति भएकोमा सयभन्दा बढी घाइते छन् ।


ग्रामीण क्षेत्रमा सडक अधिग्रहण गर्दा स्थानीयको अवरोधका कारण घुम्ती नमिलेको र यसले दुर्घटना बढेको प्राविधिक बताउँछन् । हरिवन–कौडेना क्षेत्रिय कृषि सडकको विभिन्न स्थानको घुम्ती स्थानीयकै अवरोधका कारण मिल्न नसकेको सडकको नियमन गर्ने पुर्वाधार विकास सम्पर्क ईकाई कार्यालयले जनाएको छ । स्थानीय तहले निर्माण गरेको सडकमा पनि स्थानीयबासी कै कारण घुम्ती नमिलेको त्यहाँका प्राविधिक बताउँछन् । यी सडकमा दिनहुँ यातायतका साधनको चाप बढ्दो छ । बढ्दो सवारी चाप र मापदण्ड अनुसार सडक नबनेकाले दुर्घटना भइरहेको छ ।


‘सडकको घुम्तीमा स्थानीयले जग्गा दिन नमान्दा उनीहरूसँग सहमति गर्नुपर्‍यो, सहमतिमा घुम्तीको चौडाई केही कम गरेर पनि कालोपत्रे गरियो,’ पुर्वाधार विकास सम्पर्क इकाई कार्यालयका साइट ईन्जिनियर अरुण महतोले भने, ‘घुम्तीमा चौडाई कम भएकाले दुर्घटनाको सम्भावना रहेको जानकारी गराए पनि स्थानीयले मानेनन् ।’


बिजुलीको पोल धराप

स्थानीय तहले बिस्तार गरेको हरेक सडकको बीचमा बिजुलीको पोल छन् । स्थानीय तहले कालोपत्रे गर्दा पनि बिजुलीको पोल हटाएको छैन । सडक कालोपत्रे भएपनि बिजुलीको पोल नहटाउँदा दुर्घटना भइरहेको छ । जनप्रतिनिधिले नेपाल विद्युत प्राधिकरणले पोल सार्न सहयोग नगरेको गुनासो गरेका छन् ।


प्राधिकरणले इस्टिमेट गरेर मात्र बिजुलीको पोल हटाउने अडान राख्दै आएको छ । पुर्व–पश्चिम राजमार्गदेखि हुलाकी सडक जोड्ने कृषि सडकको अधिकांस बस्तीमा रहेको विजुलीको पोल पनि नसारी कालोपत्रेको काम भइरहेको छ । विजुलीको पोल नसारिँदा कतिपय स्थानमा सडकको बीच भागमै पोल ठडिएको छ । यसले पनि दुर्घटना बढाएको छ । बिजुलीको पोल नसारिंदा सवारीसाधन, बटुवादेखि विद्यालयका बालबालिकाका लागि धराप बने पनि सम्बन्धित निकायले तदारुकता देखाउन सकेको छैन ।


यो सडक कालोपत्रेको ठेक्का लिएको पप्पु कन्सट्रक्सनले सडकको बीचमा रहेको पोललाई त्यतीकै छाडेर कालोपत्रेको काम गरिरहेको छ । बर्षौअघि यस क्षेत्रमा विद्युतीकरण गरिएको थियो । त्यसवेला सडक छेउमा गाडिएको पोल सडक विस्तार भएसँगै बीच बाटोमा परेको छ । सडक विस्तार र कालोपत्रेको काम गरिए पनि पोल सार्न प्रयास नै नभएको स्थानीय बताउँछन् । ठेकेदारले पोल नहटाएर कालोपत्रे गर्नथालेपछि आफुहरूले अवरोध गरेपनि ठेकेदार पक्षले जबरजस्ती कलोपत्रे गरेको कविलासी नगरपालिका–१ का स्थानीय रामकैलाश रायले बताए । उनले सडकको बीचमा पोल रहेकै कारण यस क्षेत्रमा दैनिक दुर्घटना भइरहेको जानकारी दिए ।


गुणस्तरहीन सडक

कालोपत्रे भइरहेको हरिवन–कौडेना सडकमा एकतिर कालोपत्रेको काम गर्दैगर्दा अर्कोतिर उप्किन थालेको छ । यो गुणस्तरहीनकै कारणले भएको हो । काम सम्पन्न नहुँदै कालोपत्रे भत्किएको ठाउँ पनि दुर्घटनाको कारण बनेको छ । बागमती–हथियौल सडकको अवस्था पनि उस्तै छ । एक वर्ष अघि बाग्मतीदेखि बरहथवासम्म कालोपत्रे सकेको सडकको दर्जनौं स्थानमा भत्किसकेको छ ।


नवलपुर–मलंगवा र नयाँरोड–मधुवनी सडकमा गरिएको कालोपत्रेको गुणस्तर कमजोर रहेको स्थानीयको भनाइ छ । यी सडकमा गरिएको कालोपत्रे चिल्लो छैन । भर्खरै सकेको कालोपत्रे सडकमा सवारी साधन चलाउँदा सन्तुलन नमिलेको चालक बताउँछन् । जिल्लाका अधिकाँश सडकमा ग्रेड नै नमिलेको सोल्टीका घनश्याम बलमपाखीले बताए । घुमाउरो बाटोमा ग्रेड नमिलेर सवारीसाधन चिप्लिएर दुर्घटनामा पर्ने गरेको बलमपाखीले सुनाए ।


सवारीसाधनको तिव्र गति

वर्षौंदेखि जिल्लामा राजमार्गबाहेक एक किलोमिटर पनि कालोपत्रे थिएन । यहाँका अधिकांश सडकमा ग्राभेल थियो । पछिल्लो दुई वर्षयता सडक कालोपत्रे हुने क्रम तीव्र छ । जिल्लामा झण्डै दुई सय किलोमिटर कालोपत्रे हुन थालेको छ । केही सडक खण्डमा कालोपत्रेको काम सम्पन्नसमेत भइसकेको छ । सडकको स्तरोन्नतिसँगै दुर्घटनाको जोखिम बढाएको छ । सडक कालोपत्रे भएसँगै सवारी साधन तीव्र गतीमा हुँईंकिन थालेका छन् । यसले पनि दुर्घटना बढाएको छ । बर्सेनी ठुलो संख्यामा गाडी दुर्घटना हुनुको अर्को कारण तीव्र गति हो । ग्राभेल सडकमा सवारीसाधन चलाउँदै आएका चालकले कालोपत्रे देखेपछि तीव्र गतीमा कुदाउँन थाल्दा दुर्घटना बढेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । घुम्ती नमिलेको सडकमा अस्वस्थ्य प्रतिस्पर्धाका कारण दुर्घटना बढेको ट्राफिकको भनाइ छ ।

प्रकाशित : मंसिर २०, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?