मेची–काली रेल्वे : मुआब्जा विवाद चर्किंदै

शिव पुरी

(रौतहट) — मुआब्जा निर्धारणमा असन्तुष्टि जनाउँदै चन्द्रपुर ८ बेतौनाका स्थानीयले रेलवे निर्माण कम्पनीका ठेकेदारलाई गाउँ प्रवेशमा रोक लगाएका छन् । मेची–काली रेलवेको सर्भे गर्न आएका ठेकेदारलाई स्थानीयले गाउँमा प्रवेश गर्न दिएका छैनन् । न्यून मुआब्जा तोकेको भन्दै आन्दोलनमा उत्रेका गाउँलेले दुई दिनअघि स्थलगत हेर्न पुगेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को गाडीसमेत घेराउ गरे । 

ZenTravel

स्थानीयले रेलवे निर्माणको ठेक्का पाएको लुम्बिनी, एपेक्स, थानी जेबी कन्स्ट्रक्सनका प्रतिनिधिलाई गाउँ छिर्न दिएका छैनन् । यसले निर्माणको काम प्रभावित भएको छ । मुअब्जा निर्धारण समितिको लापरबाहीले आफूहरू मारमा परेको भन्दै स्थानीयले आन्दोलन चर्काए पनि विवाद चुलिएको छ । रेलको लिक निर्माणको सर्भेकै काममा अवरोध पुगे पछि दुई दिनअघि स्थलगत हेर्न पुगेका प्रमुख जिल्ला अधिकारी किरण थापालाई समेत स्थानीयले घेरेर र्‍याखर्‍याख्ती पारेका थिए । उनले मर्का परेकै हो भनेर गाउलेको फन्दाबाट फुत्केका थिए । गाउँलेले महिनायता रेल मार्ग सर्भेको काममा अवरोध पुर्‍याएका छन् । प्रजिअ कार्कीले मुआब्जा कम भएको विषयमा माथिल्लो निकायमा कुराकानी भइरहेको भनेर पीडितलाई थुम्थुमाएका थिए । ‘तपाईंहरूलाई मर्का परेको भन्ने मैले पनि महसुस गरेको छु,’ उनले भने, ‘यस विषयमा माथिल्लो निकायमा कुरा राखेको छु । हेरौ अब के हुन्छ । मैले मात्र गरेर हुन्न ।’

Meroghar


मेची–महाकाली रेल मार्गको बर्दिबास–निजगढ खण्डको साबिक सन्तपुर र रंगपुर गाविसमा निर्माण हुन लागेको रेलमार्गको रेखांकनभित्र पर्ने जग्गाको गत साउन १२ मा जिल्ला प्रशासनमा बसेको बैठकबाट मुआब्जा निर्धारण भएको थियो । समितिको संयोजक प्रजिअ (सीडीओ) आफैं हुन् । समितिले चाँदी खोला डिलको बाटोसँगै जोडिएको ८ र नजिकको क्षेत्रको ६ देखि गौर रोड क्षेत्रको जग्गाको १६ लाख प्रतिकठ्ठा कायम गरेको थियो । बाटोले नजोडिएकाहरूको हकमा प्रतिकठ्ठा ३ लाख कायम गरिएको थियो । कटानी टोलबाट जंगल टोल जाने बाटो नजोडिएको क्षेत्रको ३ लाख मुआब्जा निर्णय भएपछि स्थानीय विरोधमा उत्रेका हुन् । समितिले बेतौना क्षेत्रको मूल्याकंनमा लापरबाही गरेको आरोप लागेको छ । गत साउनमा किसानको खेत डुबानमा परेको बेला टाढैबाट हेरेर मूल्यांकन गरिएपछि समस्या आएको हो । स्थानीय जग्गावालासँग त्यस बेला समन्वय गरिएको थिएन् ।

जग्गावालाहरू उचित मुअब्जा नपाएसम्म ठेकेदारलाई गाउँ पस्न नदिने अडानमा छन् । गाउँमा कुनै नयाँ मानिस गाडी लिएर पुग्यो भने महिलाहरू बाटोमै तेर्सिन्छन् र घेराउ गर्छन् । रेलवेको हो भने घेरेर राख्छन् । नम्बरी जग्गा कौडीको भाउको मूल्यांकन गर्नेलाई नछाड्ने उनीहरूको अडान छ । समितिले मुअब्जा निर्धारण गरेदेखि नै स्थानीयले सघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् । समितिले सर्भेका लागि आएको ठेकेदार प्रतिनिधिको गाडीसमेत ३ घण्टा घेरेका थिए । त्यसपछि कामै नगरी प्राविधिकहरू फर्किएका थिए । मुआब्जा थोरै भएको भन्दै पुनर्मूल्यांकनका लागि जिल्ला प्रशासन गौरमार्फत गृह मन्त्राललय, रेल्वे विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नापी, मालपोत र नगरपालिकालाई अनुरोध गर्दा अहिलेसम्म कुनै सुनवाइ नभएको रेलवे प्रभावित सघर्ष समितिका संयोजक दिनेश सापकोटाले बताए ।

प्रकाशित : मंसिर १८, २०७६ १०:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

११ ठाउँमा गढीमाई मेला

गढीमाईको प्रसिद्धिका कारण प्रदेशका तीन जिल्ला रौतहटमा ७, सर्लाहीमा २ र बारामा २ ठाउामा लागेको मेलामा श्रद्धालुको घुइँचो
कान्तिपुर संवाददाता

(रौतहट) — प्रदेशको ३ जिल्लाका ११ ठाउँमा पञ्चवर्षीय गढीमाई मेला लागेको छ । गढीमाईको प्रसिद्धिका कारण मध्यतराईका रौतहटको सात, सर्लाहीको दुई र बाराको दुई गरी एघार स्थानमा मेला लागेको हो । मेला क्षेत्रमा ठूलो भीड लागेको छ । मेला भर्न छिमेकी भारतबाट समेत भक्तजन आइरहेका छन् । रौतहटको सुन्दरपुर र बाराको बरियारपुरको गढीमाई मेलामा बलि दिनेको ठूलो भीड लागेको छ । 

५ वर्षमा बाराको बरियारपुर र जितपुरमा गढीमाई मेला लाग्दै आएको हो । रौतहटको गढीमाई नगरपालिकाको तीन स्थानमा ठूलो मेला लागेको छ । बलुवा, सुन्दरपुर, मदनपुर, हरैयामा गढीमाईको धुमधामको साथ मेला लागेको छ । गुजरा नगरपालिकाको कनकपुर, गरुडाको दुधियाभार, माधव नारायणको माधोपुरमा गढीमाईको नामले मेला लाग्ने गरेको छ । सर्लाहीको मिर्जापुर र खौर्वा गाउँमा समेत एउटै तिथिमा गढीमाई मेला लाग्ने गर्छ ।

बाराको बरियारपुर र सुन्दरपुर गाउँमा महिनाअघि नै गढीमाइको मेला सुरु भइसकेको छ । अन्य स्थानमा मंसिर १६ देखि २१ गतेसम्म तान्त्रिक विधिद्वारा पाँच दिनसम्म मेला लाग्ने गर्छ । सबैभन्दा बढी बलि चढाउने भएकाले बाराको वरियारपुर–२ स्थित गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ । पशु अधिकारकर्मीहरूले पशुबलि प्रथाको विरोध जनाउँदै आए पनि परम्परागत मान्यता र भाकल पूरा गराउन सर्वसाधारणले बलि दिने गरेका छन् । यसका लागि भारतबाट ठूलो संख्यामा भक्तजनहरू बलि दिन पशु लिएर आउँछन् । मुसा, परेवा, बोको, राँगो र खरायो गरी पाँच जन्तुलाई पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन् । रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा लाग्ने गढीमाई मन्दिरका अध्यक्ष दीपेन्द्र यादवले सर्लाही, महोत्तरी र छिमेकी भारतको विहारका सर्वसाधारणहरूको समेत मेलामा ठूलो घुइँचो लागेको बताए । ‘मेलामा १ हजार ५ सय राँगा र १० हजारभन्दा बढी बोकाबलि दिईएको यादवले जनाए । यो मेलामा पनि बलि दिनेको संख्या बर्सेनि बढ्दै गएको छ ।

मेलाका लागि भारतबाट सर्कससमेत प्रदर्शन भइरहेको छ । गढीमाई मेलाको एक महिनाअघिदेखी चहलपहल हुने गरेको नगरपालिकाका मेयर श्याम यादवले बताए । ‘बाराको गढीमाईजस्तै यो मेला पनि प्रसिद्ध हुँदै गएको छ,’ उनले भने, ‘भारतबाट ठूलो संख्यामा मेलामा बलि चढाउन आउँछन् । यहाँको पनि छुट्टै पहिचान छ ।’ मेला भर्न आउनेका चाप बढेपछि नगरपालिकाले त्यस क्षेत्रको २० स्थानमा खानेपानी जडान गरेको छ । सार्वजनिक शौचालय, उज्यालो लाइटको व्यवस्थासमेत गरेको छ । नेपाल, भारतलगायतका अन्य स्थानबाट विभिन्न खेल तमासा देखाउनेहरू समेत मेलामा व्यापार गरिरहेका छन् ।

शान्ति सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । मधेसका जिल्लामा मेलाको निकै महत्त्व हुन्छ । यो जिल्लामा कार्तिकेश्वर मेला निकै लोकप्रिय छ । थारू समुदायले समेचकवाको अवसर पारेर चन्द्रपुर ८ सन्तपुरमा कार्तिर्केश्वर मेला लगाउने गर्छन् । दीपावली र छठपछि बर्सेनि यहाँ मेला लाग्ने गर्छ ।

प्रकाशित : मंसिर १८, २०७६ १०:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×