नेपाली सुधारिएको चुलो महँगो

कान्तिपुर संवाददाता

(पर्सा) — सुधारिएको चुलोको कच्चा पदार्थ आयातमा चर्को भन्सार महसुलका कारणले भारतीय र चिनियाँसँग प्रतिस्पर्धा गर्न चुनौती भएको गुनासो उद्योगीले गरेका छन् । कार्बन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको स्वदेशी चुलो उद्योगलाई जोगाउन सरकारी नीतिमा परिवर्तन गर्नुपर्ने उनीहरूको माग छ । 

वीरगन्ज परवानीपुरस्थित हक्स पावर नेपालले २०७३ मंसिरबाट सुधारिएको चुलो उत्पादन गर्दै आएको छ । यसको कच्चा पदार्थ भारतबाट निर्यात हुन्छ । उद्योगका प्रबन्ध निर्देशक मनोज गुप्ता भारत र चीनबाट तयारी चुलो आयात गर्दा केवल १ प्रतिशत भन्सार महसुल लाग्ने तर भारतबाटै यसको कच्चा पदार्थ आयात गर्दा भने ८ देखि ३३ प्रतिशतसम्म भन्सार महशुल लाग्ने गरेको बताउँछन् । जसले गर्दा स्वदेशी चुलो उत्पादक उद्योगलाई ठूलो मर्का परेको उनले गुनासो गरे । चुलो बनाउन लाग्ने फलाम, स्टिल आदि कच्चा पदार्थका लागि भारत माथिनै निर्भर हुनु पर्ने बाध्यता रहेको गुप्ता बताउँछन् ।

नेपालमा चुलो उत्पादन गर्ने ४ उद्योग रहेको उनले बताए । सबै उद्योगले यही समस्या भोगिरहेको उनी सुनाउँछन् । स्वदेशी चुलो भारतीय र चिनियाँ चुलो भन्दा गुणस्तरमा कम नरहेपनि नेपालमा ती चुलो आयात गर्दा न्युन भन्सारका कारण प्रतिस्पर्धा गर्न अत्यन्त गार्‍हो भएको उनले बताए । ‘कि त भारतीय र चिनियाँ चुलोको आयात भन्सार शुल्क बढाउनुपर्‍यो,’ गुप्ता भन्छन्, ‘नत्र स्वदेशी उद्योगलाई संरक्षण गर्न कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाउनु पर्‍यो ।’

उनको उद्योगबाट उत्पादित चुलो इसिमोडको प्रयोगशालाबाट पास भएका ७ चुलो मध्ये एक हो । पछिल्लो डेढ बर्षको अवधिमा नेपालका ६० बढी जिल्लामा १ लाख २५ हजार थानभन्दा बढी चुलो बिक्री भई सकेको बताउदै गुप्ताले स्वदेशी चुलोलाई प्रोत्साहित गर्न सके यसले थप बजार लिने सम्भावना रहेको बताए ।

यस्तो चुलो दाउरा, गुइँठा र पिलेट बाल्न सकिने तथा सुकेको जुनसुकै बायोमास प्रयोग गरेर खाना पकाउन, आगो ताप्न र सेकुवा आदि पकाउन पनि अत्यन्त उपयोगी साबित भई रहेको गुप्ता दाबी गर्छन् । ४ हजार ८ सय रुपैया लागत पर्ने चुलोबाट हाल अधिकांश शहरी भेगका नेपालीको चुलोमा बल्ने एलपि ग्यास भन्दा आधा लागतमा खाना पाक्ने गुप्ता बताउँछन् । आगो बाल्दा सुरुमा थोरै धूवाँ भए पनि पछि दाउरा सल्के पछि चुलोबाट धूवाँ आउँदैन । पछिल्लो समय नेपाललाई खुल्ला दिशामुक्त घोषणा गरेसँगै यो चुलोबाट अब नेपालको प्रत्येक घरलाई धुवा मुक्त गर्न सकिने उनको दाबी छ ।

उद्योगबाट उत्पादित चुलोले वन मन्त्रालयबाट जलबायु परिवर्तन व्यवस्थापन पुरस्कार, वर्ल्ड कन्फेडेरेशन अफ बिजनेश हस्टन टेक्सास अमेरिकाबाट बिजनेश एक्सीलेन्स सर्टिफिकेट २०१८, द हाउस अफ पार्लियामेन्ट
लन्डनबाट ग्रिन एप्पल अवार्ड २०१९ प्राप्त गरेको गुप्ताले बताए ।

प्रकाशित : मंसिर १७, २०७६ १२:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मकैमा फौजी किरा

कान्तिपुर संवाददाता

सर्लाही — सर्लाहीको बाग्मती नगरपालिका–१० सोल्टीका रामबहादुर खत्री धान भित्र्याएपछि बर्षेनी एक विगा खेतमा मकै लगाउंँछन् । गतवर्ष मकैको भाउ राम्रो पाएपछि उनले यसवर्ष १० कठ्ठा थपेर मकै लगाए । रोपेको महिना दिन बित्न नपाउँदै उनलाई मकै खेती गर्नाले पछुतो परेको छ । उनले लगाएको मकैमा फौजी किरा लागेको हो । 

‘मकैको बिरुवा राम्रो थियो, तर एक सातादेखि रोग लागेर गल्न थालेको छ,’ उनले भने, ‘विषादी छर्दापनि किरा मरेन, मकैको बिरुवा सुक्न थालेको छ ।’

खत्री मात्र हैन जिल्लाको पश्चिमी तथा उत्तरी क्षेत्रमा मकै खेती गर्ने अधिकांश किसानको अवस्था उस्तै छ । यस क्षेत्रमा पछिल्लो समय हिउंदे बालीको रुपमा फस्टाइरहेको मकै खेतीमा फौजी किराले सखाप पार्न थालेपछि किसान चिन्तित छन् । लालबन्दी नगरपालिका–१२ जियाजोरका बालकिशोर थापाले पनि दुई बिगामा लगाएको मकैको पात किराले खाएर आधासरो ठुटो बनाएको गुनासो गरे । उनले किरा मार्ने बिषादी तीन पटक छर्दापनि किरा नमरेको र प्रकोप झन् बढेको सुनाए । खेतमा लगाएको मकैलाई किराले बाली सखाप पारिरहेको थापाको भनाइ छ ।

किसानले यस्तो किसिमको किरा यसअघि कहिल्यै पनि नदेखेको उनले बताए । कतिपय किसान किराले मकै सखाप पारेपछि अर्को बाली लगाउन थालेका छन् । स्थानीय सुरेन्द्र महतोको खेतमा लगाएको मकै किराले नष्ट गरेपछि उनले त्यो खेतमा गहुँ लगाउन तयारी गरेका छन् । ‘दुई बिगामा मकै रोप्दा ४० हजार खर्च भयो,’ महत्तोले दुःखेसो पोखे, ‘फौजी किराका कारण मकैको लगानी बालुवामा पानी हाले झैं भयो ।’

जिल्लाको शंकरपुर, राजघाट, जानकिनगर पत्थरकोट, कर्मैया, हजरिया, बरहथवा, मुर्तियालगायतका ठाउँका किसानले ब्यावसायिक रुपमा उन्नत जातका मकै खेती गर्दै आएका छन् । बिगतका वर्षहरूमा फौजी किराको प्रकोप थिएन । यस बर्ष भने मकैसंँगसँगै धान बालीमा पनि फौजी किराको प्रकोप देखिएको किसानको गुनासो छ ।

बसबरिया गाउँपालिका–५ का रामचन्द्र पण्डितले किराले धानको बाला खाएर सखाप पारेको बताए । गतवर्ष प्रतिकठ्ठा पाँचदेखि छ मनसम्म धान उत्पादन गर्दै आएका उनले यस वर्ष प्रतिकठ्ठा तीन मन पनि भित्र्याउन नपाएको दुःखेसो पोखे । ‘धान बाली भित्र्याउने अन्तिम समयमा फौजी किरा देखा पर्‍यो, किराले धानको बाला नै सखाप पारेको छ,’ उनले भने ।

कृषि ज्ञान केन्द्र सर्लाहीले फौजी किरा नियन्त्रण गर्न चुनौती रहेको जनाएको छ । केन्द्रका प्रमुख देवानन्द रायले किराले धान, मकै, रहर, मसुरो र तरकारी बालीमा क्षति पुर्‍याइरहेको बताए । दिउसो लुक्ने र रातीको समयमा मात्र सकृय हुने भएकाले बिषादी सन्ध्याकालिन समयमा छर्नुपर्ने उनले सुझाए ।

प्रकाशित : मंसिर १७, २०७६ १२:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×