मकैमा फौजी किरा

कान्तिपुर संवाददाता

सर्लाही — सर्लाहीको बाग्मती नगरपालिका–१० सोल्टीका रामबहादुर खत्री धान भित्र्याएपछि बर्षेनी एक विगा खेतमा मकै लगाउंँछन् । गतवर्ष मकैको भाउ राम्रो पाएपछि उनले यसवर्ष १० कठ्ठा थपेर मकै लगाए । रोपेको महिना दिन बित्न नपाउँदै उनलाई मकै खेती गर्नाले पछुतो परेको छ । उनले लगाएको मकैमा फौजी किरा लागेको हो । 

‘मकैको बिरुवा राम्रो थियो, तर एक सातादेखि रोग लागेर गल्न थालेको छ,’ उनले भने, ‘विषादी छर्दापनि किरा मरेन, मकैको बिरुवा सुक्न थालेको छ ।’

खत्री मात्र हैन जिल्लाको पश्चिमी तथा उत्तरी क्षेत्रमा मकै खेती गर्ने अधिकांश किसानको अवस्था उस्तै छ । यस क्षेत्रमा पछिल्लो समय हिउंदे बालीको रुपमा फस्टाइरहेको मकै खेतीमा फौजी किराले सखाप पार्न थालेपछि किसान चिन्तित छन् । लालबन्दी नगरपालिका–१२ जियाजोरका बालकिशोर थापाले पनि दुई बिगामा लगाएको मकैको पात किराले खाएर आधासरो ठुटो बनाएको गुनासो गरे । उनले किरा मार्ने बिषादी तीन पटक छर्दापनि किरा नमरेको र प्रकोप झन् बढेको सुनाए । खेतमा लगाएको मकैलाई किराले बाली सखाप पारिरहेको थापाको भनाइ छ ।

किसानले यस्तो किसिमको किरा यसअघि कहिल्यै पनि नदेखेको उनले बताए । कतिपय किसान किराले मकै सखाप पारेपछि अर्को बाली लगाउन थालेका छन् । स्थानीय सुरेन्द्र महतोको खेतमा लगाएको मकै किराले नष्ट गरेपछि उनले त्यो खेतमा गहुँ लगाउन तयारी गरेका छन् । ‘दुई बिगामा मकै रोप्दा ४० हजार खर्च भयो,’ महत्तोले दुःखेसो पोखे, ‘फौजी किराका कारण मकैको लगानी बालुवामा पानी हाले झैं भयो ।’

जिल्लाको शंकरपुर, राजघाट, जानकिनगर पत्थरकोट, कर्मैया, हजरिया, बरहथवा, मुर्तियालगायतका ठाउँका किसानले ब्यावसायिक रुपमा उन्नत जातका मकै खेती गर्दै आएका छन् । बिगतका वर्षहरूमा फौजी किराको प्रकोप थिएन । यस बर्ष भने मकैसंँगसँगै धान बालीमा पनि फौजी किराको प्रकोप देखिएको किसानको गुनासो छ ।

बसबरिया गाउँपालिका–५ का रामचन्द्र पण्डितले किराले धानको बाला खाएर सखाप पारेको बताए । गतवर्ष प्रतिकठ्ठा पाँचदेखि छ मनसम्म धान उत्पादन गर्दै आएका उनले यस वर्ष प्रतिकठ्ठा तीन मन पनि भित्र्याउन नपाएको दुःखेसो पोखे । ‘धान बाली भित्र्याउने अन्तिम समयमा फौजी किरा देखा पर्‍यो, किराले धानको बाला नै सखाप पारेको छ,’ उनले भने ।

कृषि ज्ञान केन्द्र सर्लाहीले फौजी किरा नियन्त्रण गर्न चुनौती रहेको जनाएको छ । केन्द्रका प्रमुख देवानन्द रायले किराले धान, मकै, रहर, मसुरो र तरकारी बालीमा क्षति पुर्‍याइरहेको बताए । दिउसो लुक्ने र रातीको समयमा मात्र सकृय हुने भएकाले बिषादी सन्ध्याकालिन समयमा छर्नुपर्ने उनले सुझाए ।

प्रकाशित : मंसिर १७, २०७६ १२:३६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

२३ विद्यालय जीर्ण

कान्तिपुर संवाददाता

(पर्सा) — पटेर्वासुगौली गाउँपालिका– ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । कक्षाकोठा ४ वटा मात्र छन् । कक्षा २ र ३ को पढाइ एकै कोठामा हुन्छ । निजि श्रोत, करार र सरकारी दरबन्दीका ५ शिक्षक/शिक्षिका कार्यरत रहेको विद्यालयमा १ सय ५० विद्यार्थी छन् । 

विद्यालयका प्रधानाध्यापक सुभाषप्रसाद दास कक्षा कोठा मात्र नभई शिक्षक दरबन्दी कम हुँदा विद्यालय सञ्चालनमा समस्या भएको गुनासो गर्छन् । यो समस्या वनदेवी माध्यमिक विद्यालयको मात्र नभई गाउँपालिकाका अधिकांश विद्यालयको हो । गाउँपालिकामै कूल २३ विद्यालय छन् । तीन उच्च र बाँकी आधारभूत विद्यालय हुन् । टोलटोलमा आवश्यकता भन्दा बढी विद्यालय छन् तर विद्यार्थीको उपस्थिति न्युन छ ।

अधिकांश विद्यालयमा स्थायी शिक्षक न्युन छन् । निजी श्रोतका शिक्षकको भरमा संचालन भएका विद्यालयको अवस्था आर्थिक रुपले रुग्ण छ । गाउँपालिकाकी उपाध्यक्ष ममता थारु पनि गाउँपालिकामा आवश्यकताभन्दा बढी विद्यालय भएको स्विकार्छिन् । ‘एउटा गाउँपालिकामा २३ विद्यालय छन्, तर सबै विद्यालय समस्याग्रस्त छन्,’ उनी भन्छिन् । बिगतमा टोलटोलमा विद्यालय संचालन गर्ने शिक्षा नीति र होडबाजीले हाल यो अवस्था आएको उनको आरोप छ । ‘टोलटोलमा विद्यालय त खोलियो, तर तिनको कुशल व्यवस्थापन भने हुन सकेन,’ उनी भन्छिन्, ‘विद्यालय खोल्नु भन्दा त्यसको उचित व्यवस्थापन जरुरी छ ।’

थारुले गाउँपालिकाकैमोरटोलको आधारभुत विद्यालयमा प्रारम्भिक बाल विकासतर्फ एक मात्र शिक्षक उपलब्ध रहेको बताइन् । गाउपालिका अन्तर्गतका विद्यालयमा के कति शिक्षकको सरकारी दरबन्दी छ भनि गाउपालिकामा यकिनतथ्यांक हाल नरहेपनि अधिकांश विद्यालयमा स्थायी शिक्षक अभाव रहेको उनले बताइन् । ‘कतिपय विद्यालयमा कक्षा कोठाको अभाव छ, अधिकांशमा शिक्षकको अभाव छ,’ उनले भनिन्, ‘कतिपयमा विद्यार्थीको अभाव छ, कतिपयमा डेक्सबेन्च छैनन्, कुनै पनि विद्यालयको अवस्था दुरुस्त छैन ।’

गाउँपालिकामा यति धेरै विद्यालय आवश्यक नभएकाले अधिकांश विद्यालय मर्ज गर्नु आवश्यक रहेको उपाध्यक्ष थारु बताउँछिन् । ‘शिक्षक कम रहेका तथा विद्यार्थी पनि कम रहेका कतिपय विद्यालय जेनतेन सन्चालन गरिरहनु आवश्यक छैन,’ उनले भनिन्, ‘त्यस्ता विद्यालयलाई एक आपसमा गाभ्दा सहज हुन्छ ।’ जिल्ला शिक्षा कार्यालयका अधिकृत वृजकिशोर साह यो समस्या जिल्लाका अधिकांश स्थानिय तहमा रहेको बताउँछन् ।

प्रकाशित : मंसिर १७, २०७६ १२:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×