कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

२३ विद्यालय जीर्ण

(पर्सा) — पटेर्वासुगौली गाउँपालिका– ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । कक्षाकोठा ४ वटा मात्र छन् । कक्षा २ र ३ को पढाइ एकै कोठामा हुन्छ । निजि श्रोत, करार र सरकारी दरबन्दीका ५ शिक्षक/शिक्षिका कार्यरत रहेको विद्यालयमा १ सय ५० विद्यार्थी छन् । 

विद्यालयका प्रधानाध्यापक सुभाषप्रसाद दास कक्षा कोठा मात्र नभई शिक्षक दरबन्दी कम हुँदा विद्यालय सञ्चालनमा समस्या भएको गुनासो गर्छन् । यो समस्या वनदेवी माध्यमिक विद्यालयको मात्र नभई गाउँपालिकाका अधिकांश विद्यालयको हो । गाउँपालिकामै कूल २३ विद्यालय छन् । तीन उच्च र बाँकी आधारभूत विद्यालय हुन् । टोलटोलमा आवश्यकता भन्दा बढी विद्यालय छन् तर विद्यार्थीको उपस्थिति न्युन छ ।


अधिकांश विद्यालयमा स्थायी शिक्षक न्युन छन् । निजी श्रोतका शिक्षकको भरमा संचालन भएका विद्यालयको अवस्था आर्थिक रुपले रुग्ण छ । गाउँपालिकाकी उपाध्यक्ष ममता थारु पनि गाउँपालिकामा आवश्यकताभन्दा बढी विद्यालय भएको स्विकार्छिन् । ‘एउटा गाउँपालिकामा २३ विद्यालय छन्, तर सबै विद्यालय समस्याग्रस्त छन्,’ उनी भन्छिन् । बिगतमा टोलटोलमा विद्यालय संचालन गर्ने शिक्षा नीति र होडबाजीले हाल यो अवस्था आएको उनको आरोप छ । ‘टोलटोलमा विद्यालय त खोलियो, तर तिनको कुशल व्यवस्थापन भने हुन सकेन,’ उनी भन्छिन्, ‘विद्यालय खोल्नु भन्दा त्यसको उचित व्यवस्थापन जरुरी छ ।’


थारुले गाउँपालिकाकै मोरटोलको आधारभुत विद्यालयमा प्रारम्भिक बाल विकासतर्फ एक मात्र शिक्षक उपलब्ध रहेको बताइन् । गाउपालिका अन्तर्गतका विद्यालयमा के कति शिक्षकको सरकारी दरबन्दी छ भनि गाउपालिकामा यकिन तथ्यांक हाल नरहेपनि अधिकांश विद्यालयमा स्थायी शिक्षक अभाव रहेको उनले बताइन् । ‘कतिपय विद्यालयमा कक्षा कोठाको अभाव छ, अधिकांशमा शिक्षकको अभाव छ,’ उनले भनिन्, ‘कतिपयमा विद्यार्थीको अभाव छ, कतिपयमा डेक्सबेन्च छैनन्, कुनै पनि विद्यालयको अवस्था दुरुस्त छैन ।’


गाउँपालिकामा यति धेरै विद्यालय आवश्यक नभएकाले अधिकांश विद्यालय मर्ज गर्नु आवश्यक रहेको उपाध्यक्ष थारु बताउँछिन् । ‘शिक्षक कम रहेका तथा विद्यार्थी पनि कम रहेका कतिपय विद्यालय जेनतेन सन्चालन गरिरहनु आवश्यक छैन,’ उनले भनिन्, ‘त्यस्ता विद्यालयलाई एक आपसमा गाभ्दा सहज हुन्छ ।’ जिल्ला शिक्षा कार्यालयका अधिकृत वृजकिशोर साह यो समस्या जिल्लाका अधिकांश स्थानिय तहमा रहेको बताउँछन् ।


प्रकाशित : मंसिर १७, २०७६ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?