गढीमाईमा एक हजारको भिआईपी पास 

कान्तिपुर संवाददाता

सिमरा — गढीमाई मन्दिरमा दर्शन गर्न मेला व्यवस्थापन समितिले शनिबारदेखि भिआईपी पासको व्यवस्था गरेको छ । भिआइपीहरूलाई दिइने यस्तो पास व्यस्तताका कारण लाइन बस्न नसक्ने सर्वसाधारणका लािग पनि सशुल्क वितरण गरिँदै छ । 

‘दर्शनार्थीले एक हजार रुपैयाँ नगद तिरेर भिआईपी पास लिने व्यवस्था मिलाईएको छ,’ समितिका महासचिव मोतिलाल कुशवाहाले भने, ‘जो सुकैले पैसा तिरेर सजिलै दर्शन गर्न पाउछन ।’ दर्शनार्थीले घण्टौं लाइनमा कुर्नुपर्ने भएकोले पैसा हुनेहरूको लागी विशेष पासको सुविधा दिइएको उनले बताए ।

यस्तो विशेष सुविधा खोज्ने दर्शनार्थीलाई यसअघि उपलब्ध गराउन नसकिएको गढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले बताए । ‘मन्दिरको पश्चिमद्वारबाट विशेष पास लिएका भक्तजनलाई प्रवेश गराइन्छ,’ उनले भने, ‘पश्चिमद्वारमै शुल्क लिएर विशेष पास वितरण भईरहेको छ ।’

पास नलिएका व्यक्तिलाई सुरक्षाकर्मीले पश्चिम गेटबाट प्रवेश गर्न दिँदैनन् । तर, घन्टौंको लाइनबाट मुक्ति पाउन सर्वसाधारण भिआइपी पास लिन तछाडमछाड गरिरहेका देखिन्छन् ।

कलैया उपमहानगरपालिकाबाट आएकी मान्तीदेवी ठाकुरले समितिले भेदभाव गरेको गुनासो गरिन् । ‘मन्दिरमा पुजा गर्न पनि पहुचवाला र पैसावालाका लागि सुविधा थपिएको छ,’ उनले भनिन्, ‘समितिले सेवा गर्न भन्दा पनि पैसा कमाउन यस्तो तरकिब निकालेको हो ।’ पैसा नहुने आफूहरूजस्ताले २/३ घण्टा लाइन दर्शन गरेको ठाकुरले बताए ।

शनिबार पनि गढीमाईमा ठुलो संख्यामा भक्तजन आइपुगेका थिए । मन्दिर परिसर खचाखच थियो । मेला सुरु भएयता सबैभन्दा बढी भक्तजन शनिबारै आएको समितिले जनाएको छ । भीड बढेसँगै मेलामा मिठाइ, प्रसाद, बच्चाहरूको खेलौना, खाना–नास्ताको होटल, पार्किङ्ग व्यवस्थापनमा कारोबार निकै बढेको छ ।

मन्दिरवरपर भिख माग्नेहरू धेरै भएकाले भक्तजनहरू झन्झट मानिरहेका थिए । कलिला बालबालिकादेखि बृद्धबृद्धासम्म सडकमै लम्पसार परेर भिख मागिरहेका हुन्छन् । ‘भीख माग्नेहरू सडकको दुवै पट्टी बसेर दर्शनार्थीलाई बाध्य बनाइरहेका हुन्छन,’ एक दर्शनार्थीले भने । भीख माग्नेहरूलाई मेला व्यवस्थापन समिती र स्थानीय प्रशासनले व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

प्रकाशित : मंसिर १५, २०७६ ११:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गाउँका किशोरीलाई फुटबल सिकाउँदै

सुम्निमा चाम्लिङ

(इटहरी) — कुनै समय टोलका अगुवा खेलाडीहरूको जर्सी लगाउँदै फुटबल खेल्न थालेकी धरानकी भगवती रानामगरको दिनचर्या फेरिएको छ । अचेल उनी सुनसरीका ग्रामीण किशोरीलाई प्रशिक्षण दिन व्यस्त छिन् । 

दुई दशक लामो फुटबल अनुभव बाँड्न उनी छिमेकी उदयपुर तथा मोरङका विकट गाउँसम्म पनि पुग्छिन् । १३ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी उनी अहिले त्यही उमेरका किशोरीहरूलाई प्रशिक्षण दिन पाउँदा दंग छिन् ।

सन् २०१७ मा उनलाई अखिल नेपाल फुटबल संघले फुटबल प्रशिक्षकका रूपमा जिम्मेवारी दियो । उनले फुटबल सिकाउने काम भने ०६१ सालदेखि नै थालिसकेकी थिइन् । सन् २०१० मा एन्फाबाट प्रशिक्षकको लाइसेन्स पाएकी हुन् । उनले त्यस बेला खेल्न थालेकी थिइन् जति बेला महिला फुटबल खेलाडीको अभाव थियो । त्यही बेलै उनलाई खेलाडी उत्पादन गर्नुपर्छ भन्ने लागेको थियो ।
रानामगरले सन् २०१४ मा यू–१४ महिला राष्ट्रिय फुटबल टिमको सहप्रशिक्षक बन्ने अवसर पाइन् । त्यति बेला श्रीलंकामा भएको प्रतियोगितामा नेपाल विजेता बन्यो । सन् २०१८ मा पनि उनी नेपाली महिला राष्ट्रिय टिमको सहप्रशिक्षक थिइन् ।

कुनै समय नेपाली महिला राष्ट्रिय टिमको नेतृत्व गर्छु भन्ने आफूले नसोचेको उनी बताउँछिन् । उनी खेलाडी छँदा हरि खड्काको फ्यान थिइन् । त्यति बेला खड्का महिला राष्ट्रिय टिमका प्रशिक्षक थिए । खड्कासँग टिमको नेतृत्व गर्न पाउँदा आफुलाई निकै गर्व लागेको रानामगर बताउँछिन् । सन् २०१८ मा हिमाली जिल्ला मुगुका किशोरीहरूले युरोपको स्पेनमा डोनास्टी कप प्रतियोगितामा सहभागिता जनाएका थिए । उक्त टोलीको मुख्य प्रशिक्षक उनै थिइन् । राराका किशोरीलाई अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी गराउन पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छिन् ।

अढाई दशकसम्म किशोरीहरूलाई निःशुल्क प्रशिक्षण गराएकी उनले शिक्षण पेशाबाट खर्च टार्ने गरेको सुनाइन् ।

हाल उनैले तयार पारेका सुनसरीका सात खेलाडी जुनियर महिला फुटबल राष्ट्रिय टिममा परेका छन् । यो उपलब्धिप्रति उनी निकै खुसी छिन् ।

स्थानीय सरकारले महिला फुटबललाई त्यति चासो देखाएको छैन । उनी भने आफ्नो पारिश्रमिक र साथीहरूबाट सहयोग जुटाएर प्रतियोगिता नै चलाउँछिन् । ‘महिलाहरूले फुटबल खेल्न पाउनुपर्छ । त्यसैले सक्दो कोसिस गर्दै आएकी छु,’ उनले भनिन् । ग्रासवुडमा खेल्ने खेलाडीहरूसँग जुत्ता र जर्सीसमेत नहुने गरेको उनको अनुभव छ ।

‘खेलाडीहरू जब पहिलोपल्ट जुता लुगाउछन्, निकै खुशी हुन्छन् । त्यो दृश्य मलाई प्रिय लाग्छ,’ उनले भनिन् ।
महिलाहरूलाई मैदानसम्म आइपुग्न निकै कठिन हुने रानामगरको भोगाइ छ । भन्छिन्, ‘फुटबल एउटा माध्यम मात्र हो । महिलाहरू घरमा सीमित नभई आफ्नो प्रतिभा बाहिर ल्याउनुपर्छ ।’ खेलाडी छँदा उनी जिल्ला, क्षेत्र तथा राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन्थिन् । ‘त्यस बेला खेलाडीलाई गाईड गर्ने कोही हुन्थेन, अबको पुस्ताले पनि त्यस्तो अप्ठ्यारो भोग्न नपरोस्,’ उनी भन्छिन् ।

प्रकाशित : मंसिर १५, २०७६ ११:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×