१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बलिको पाडामा ‘कोल्ड डायरिया’

पवन यादव

(सिमरा) — बाराको महागढीमाई नगरपालिका १ बरियारपुरस्थित गढीमाई मन्दिरमा बली दिनका लागि राखिएको पाडामा ‘कोल्ड डायरिया’ को संक्रमण देखा परेको छ । 

बलिको पाडामा ‘कोल्ड डायरिया’

कोल्ड डायरियाकै कारण अहिलेसम्म ६ वटा पाडा मरिसकेका छन । खुला आकाशमुनि रंगशालाभित्र राखिएका पाडामा चिसोको कारण कोल्ड डायरिया भएको हुन सक्ने पशु क्वारेन्टाइन कार्यालय वीरगन्जका प्रमुख डा. हरेराम यादवले जनाए । उनका अनुसार अहिलेसम्म १२ वटा पाडामा कोल्ड डायरिया देखिएको छ ।


‘बलिका लागि राखिएको पाडालाई दाना, पराल, पानीको अभाव देखिएको छ,’ उनले भने, ‘पाडालाई चिसोबाट बच्न, ओत लाग्न छानोको समेत अभाव छ ।’ मेला समितिलाई बलिका लागि राखिएको पाडाको खानपानका लागि पराल, दाना, पानीको व्यवस्था गर्न पाडा व्यवस्थापन समितिसँग बारम्बार आग्रह गरिए पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।


पाडालाई भएको दाना अभावलाई हामी आफैंले व्यवस्था गर्न थालेका छौं । पशु क्वारेन्टाइन कार्यालयका चिकित्सकको आग्रहमा विभिन्न दाना उद्योगसँग समन्वय गरी २ टन दाना र ७ बोरा मिठा रंगशालामा पुर्‍याइएको उनले जनाए ।


निम्बस दाना उद्योग जगरनाथपुर, पोसाक दाना उद्योग परवानीपुर, सुजा पिस सप्लायर्स वीरगन्ज र दिवाकर भेट फर्मा काठमाडौंको सहयोगमा दाना, मिठा पाडाका लागि ल्याइएको उनले जानकारी दिए । शुक्रबार अपराह्नसम्म रंगशालामा बलिका लागि भाकल गरिएका २ हजार २ सय पाडा समितिको जिम्मा लगाइएको उनले जनाए ।


गढीमाईलाई बलि दिन भाकल गरेका भक्तजनले शुक्रबारसम्म रंगशालामा पाडा ल्याउने क्रम जारी रहेको छ । भाकल पूरा भएपछि कोल्हवी नगरपालिका ४ पिपरियाका पाहुन बान्ठा पाडा लिएर शुक्रबार गढीमाइमा आइपुगेका थिए ।


बलि दिने दिनसम्म संरक्षण गरेर राख्न उनले ५ सय रुपैयाँको रसिद कटाएर पाडालाई मेला समितिको जिम्मा लगाएका थिए ।


‘पाडाको लागि दानापानी, पराल खुवाउन नगद पैसा तिरेका छौं,’ उनले भने, ‘भाकलको पाडा ल्याउने सबैले नगद ५ सय समितिलाई रसिद लिएर तिर्ने गरेका छन् ।’ भाकल पूरा भएपछि ३ वर्षअगाडि नै गढीमाईलाई पाडा चढाउने भनेका थियौं । ५ वर्षको अन्तरालमा हुने बलिमा सहभागी गराउन पाडा लिएर आएको उनले जानकारी दिए ।


उनीजस्तै भाकल पूरा भएपछि बाराको श्रीपुरबाट पैदल हिँडेर पाडा पुर्‍याउन एकजना भक्तजन गढीमाईमा आइपुगेका थिए । पशु बलि रोक्न विभिन्न संघ संस्थाले गरिरहेको प्रचारलाई व्यवस्ता गर्दै उनीहरू पाडालाई बलि दिन गढीमाईमा आउन थालेका हुन् ।


‘गढीमाई देवी हुन्, उनलाई रगत नै चाहिन्छ,’ उनले भने, ‘देवीलाई बढी चढाउनबाट भक्तजनलाई कसैले रोक्न सक्दैन ।’ हाम्रो आस्थालाई ठेस पुर्‍याउन काम कसैले गर्न नमिल्ने उनले जिकिर गरे । गढीमाईमा बलि दिन ल्याइएका पाडाको स्वास्थ्य परीक्षण गर्न ठूलो संख्यामा पशु स्वास्थ्यकर्मी परिचालन भएका छन् ।


गढीमाईमा ल्याइएका पशुको स्वास्थ्य परीक्षण गर्न गठन गरिएको पशु सेवा कार्यदलले ३० जनाको संख्यामा चिकित्सक टोली खटाएको छ । टोलीले पशु भित्रिने नाकामा समेत चेकपोस्ट राखेर बलिका लागि ल्याइएको पशुको स्वास्थ्य परीक्षण समेत गर्ने गरेको कार्यदलमा आबद्ध चिकित्सक रामाधार साहले जानकारी दिए ।


पशुको स्वास्थ्यलाई मध्यनजर गरी २४ सै घण्टा रंगशालालाई निगरानी गर्न थालिएको बताए । ‘बलिका लागि पाडा ल्याइएको पाडालाई सुरक्षित राख्न रातदिन खटेका छौं,’ उनले भने, ‘चिसो र उचित खानपानको अभावमा पाडामा संक्रमण देखा पर्न थालेका छन् ।’ बलिका लागि ल्याइएका सबै पाडा निरोगी रहेको उनले दाबी गरे । बलि दिइसकेपछि रोगको संक्रमण फैलिन नदिन स्प्रेको व्यवस्थासमेत गरिएको उनले जानकारी दिए ।


बलि स्थलमा ल्याइएको पाडालाई आवश्यकताअनुसार पराल, दानापानी उपलब्ध गराएको दाबी पाडा व्यवस्थापन समितिले गरेको छ । बलिका लागि ल्याइएको पाडा संरक्षणमा मेला समिति र पशु अधिकारकर्मीसमेतले ध्यान नपुर्‍याएको गुनासो शिक्षक राकेश पाण्डेयले गरे ।

प्रकाशित : मंसिर १४, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?