१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दशगजामै मदिरा र मासु पसल

बिहारमा मदिरा बिक्रीवितरण प्रतिबन्धित भएपछि दशगजामा व्यवसाय चलाएका भारतीयले त्यहीँ विभिन्न संरचना बनाएका छन्
पवन यादव

(सिमरा) — जिल्लाको सीमावर्ती गाउँ मटिअर्वामा दशगजामै मदिरा र मासु पसल खोलिएका छन । भारतीय बासिन्दाले पिलरछेउमै आएर टहरा बनाएका हुन् । १० वर्षदेखि खसीको मासु बेच्दै आएका भारत, जमुनधारका ईस्ताक अन्सारीेले दसगजामा पसल चलाउँदा अहिलेसम्म कसैले नरोकेको बताए ।

दशगजामै मदिरा र मासु पसल

‘अहिलेसम्म न भारतको एसएसबीले रोकेको छ न नेपालको प्रहरीले,’ उनले भने, ‘दशगजामा पसल थाप्न पाइँदैन भनेको भए कसैले पसल राख्दैनथ्यो । नरोकिएकै कारण व्यवसायीले मनोमानी ढंगले पसल खोलेका हुन् ।’ उनीहरूले जंगे पिलर ३८४ (२७) नजिकै पसल राखेका हुन् । पूरै दशगजा क्षेत्र भारतको लालाछपरा र जमुनधाराका एक दर्जन बढी मानिसले ओगटेका छन् । उनीहरूले आफैं झुपडी र टहरासमेत बनाएका छन् ।


भारतको बिहार सरकारले मदिरा बिक्री वितरणमा रोक लगाएपछि उनीहरूले दशगजालाई सुरक्षित क्षेत्र ठानेका छन् । दशगजामै बाली लगाउने, घर बनाउने र पसल थाप्ने प्रवृत्तिप्रति सम्बन्धित निकाय मौन छन ।


जिल्ला प्रशासन कार्यालयले दशगजाभन्दा करीब ३ किलोमिटर टाढा मात्र मदिरा पसल खोल्न पाईने मापदण्ड बनाएको छ । तर यहाँ खुलेआम पसल राखिएका छन् । मटिअर्वास्थित दशगजामा एक दर्जनभन्दा बढी मासु र मदिरा पसल रहेको पसल सञ्चालक सराजुल अन्सारीले बताए । ‘हामी कहा मासु खरीद गर्न अधिकांश भारतिय ग्र्राहक नै आउछन,’ उनले भने, ‘मदिरा पिउने पनि बढी भारतिय ग्राहक नै छन् ।’


त्यहाँका मदिरा पसलमा दिउसैदेखी भारतिय ग्राहक भरिभराउ हुने गरेको कलैया उपमहानगरपालिका–१० मटिअर्वाका रामाधार साहले बताए । ‘दशगज्जामा कसैले केही गर्न पाईदैन,’ उनले भने, ‘तर यहा खुलेआम मदिरा पसल खोलिएका छन्, संचालकलाई कसैले कारवाही गरेको छैन ।’


दशगजामा सञ्चालन मदिरा पसललाई कानुनी दायरामा ल्याउन नसकिने राजस्व अनुसन्धान कार्यालय सिमराले जनाएको छ ।


‘नेपालको सिमाभित्र अनुमति नलिएर चलेको मदिरापसललाई कानुनी दायरामा ल्याउन मिल्छ,’ राजस्वका अधिकारीले भने, ‘मटिअर्वा बजारमा संचालन भएका मदिरा पसललाई अनुगमन गरी कानुनी दायरामा ल्याउदै छौं ।’ दशगज्जामा खोलिएका पसललाई भने केही गर्न नसकिएको उनले गुनासो गरे । दशगज्जामा दुवै पक्षले कुनै गतिविधि गर्न नपाउने कानुनी मामिलाका जानकार राजेश्वर सिंहले जिकिर गरे । ‘दशगज्जा भनेको नो म्यान्स ल्यान्ड हो,’ उनले भने, ‘त्यहा मान्छे बस्न मिल्दैन ।’ दशगज्जाका मदिरा पसललाई दुबै देशका सुरक्षाअधिकारी मिलेर हटाउनुपर्ने उनको भनाइ छ ।


‘सिमास्तम्भबाट ५/५ गज दुबै तर्फ खाली राख्नु पर्छ,’ सिंहले भने, ‘जुन पक्षले अतिक्रमण गरेको छ, उतैको सुरक्षा निकायले खाली गराउनुपर्छ ।’ दशगज्जामा नेपाल र भारत दुवैतर्फबाट अतिक्रमण गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक विकासराज खनालले बताए ।


‘दशगज्जामा कसैले पसल संचालन गरेको छ भने काउन्टर पार्टसंग समन्वय गरी खाली गराउछौं,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारी ज्युसंग यस सम्बन्धमा कुरा गर्छु ।’ दशगज्जामा मदिरा पसल राखेको सुचना आफु कहा नआएको उनले दाबी गरे । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले भने मटिअर्वा स्थित दशगज्जामा पसल राखिएको खबर पाएको बताए । ‘भारतीय अधिकारीसंग समन्वय गरी हटाउछौं,’ उनले भने, ‘दशगज्जामा कसैले कुनै गतिविधी गर्न पाउँदैन ।’ भारत बिहारसंग जोडिएको जिल्लाका १८ स्थानमा सिमा विवाद रहेको र समाधानका लागि आवश्यक पहल गर्न गृह मन्त्रालयलाई जानकारी पठाईसकिएको उनले बताए ।


जिल्लाको सीमावर्ती क्षेत्रमा संचालनमा रहेका मदिरा पसललाई कडाई गर्न प्रहरीलाई निर्देशन दिईसकेको उनले पोखरेलको भनाइ छ ।

प्रकाशित : मंसिर १३, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?