कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मेची राजमार्ग : करोडौं खर्चिंदा पनि भासिएको भासियै

इलाम खण्डको किटेनी, भालुखोप, धजे, राजदुवालीलगायत क्षेत्रमा बर्खामा पहिरो जाने क्रम रोकिएको छैन 
विप्लव भट्टराई

(इलाम) — २०६९ असोजमा मेची राजमार्गको कोल्वुङ–किटेनी खण्डमा कल्पनै नगरिएको ठाउँमा पहिरो खस्यो । १४ जनाले ज्यान गुमाए । पहिरोपछि अझ जोखिमपूर्ण बनेको उक्त ठाउँलाई अहिले मजबुत बनाइएको छ । तर मेची राजमार्गमै यस्ता स्थान छन् जहाँ बर्सेनि ठूलो धनराशि खर्चंदा पनि सडक सुधारिएका छैनन् । धेरैवटा गोलाइ र उकालो–ओरालोका कारण पर्यटनमा पनि नकारात्मक प्रभाव पारेको छ । सडककै कारण दुर्घटनाको जोखिम उत्तिकै छ । 

मेची राजमार्ग : करोडौं खर्चिंदा पनि भासिएको भासियै

मेची राजमार्ग झापाको चारआलीदेखि ताप्लेजुङसम्म २ सय ३० किलोमिटर छ । इलाम खण्डको किटेनी, भालुखोप, धजे, राजदुवालीलगायत क्षेत्रमा बर्खामा पहिरो जाने समस्या रोकिएको छैन । सडक डिभिजन कार्यालयले बर्षेनि ती स्थानमा मर्मतसम्भार गर्छ । तर दीर्घकालीन समाधान खोजिनुपर्ने सरोकारवालाको माग छ । इलाम नगरपालिकाको माइखोलावारिको सडकमा करोडौ लगानी भएको छ । तर बनिनसक्दै भत्किने समस्याले सरोकारवाला निकाय हैरान छन् । यहाँको करिब आठ किलोमिटर क्षेत्रमा सडक भासिने गर्छ । यस क्षेत्रको भौगोलिक बनोट नै कमजोर रहेको प्राविधिकको बुझाइ छ । आर्थिक वर्ष ०७१/७२ मा बढीजसो भासिने स्थानमा नयाँ प्रविधिबाट निर्माण थालिएको थियो । १ सय ५० मिटर क्षेत्रमा एंकरिङ प्रविधिमार्फत पुनर्निर्माण गरियो । तर पुनर्निर्माणपछि पनि सडक फेरि भासिन थाल्यो ।


‘भासिने क्रम नरोकिए पनि केही सुधार भएको छ,’ डिभिजन सडक कार्यालयका इन्जिनियर ध्रुवकुमार झाले भने, ‘अझै माईखोला–भन्ज्याङ खण्ड र इलाम नगरपालिकाकै चुरेघाँटीमा १२ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्नेछ ।’ यसका लागि सडकले ५ करोड रुपैयाँबराबरको ठेक्का प्रकृया सुरु गरेको छ ।


सडककै कारण यस क्षेत्रका चालक र यात्रुले झन्झट बेहोर्ने गरेका छन् । पहिरो खस्न नदिन करिब ६ करोड लागतमा अपनाइएको एंकरिङ प्रविधि नेपालकै दुर्लभ मानिन्छ । सडकछेउमा लगाइएको पर्खालको बीचबीचमा राखिएका पाइपमार्फत २५ मिटरभित्रसम्म ३२ एमएमको रड हालिएको छ । अब त्यहाँ सिमेन्टको घोल हाली भित्रैसम्म पुर्‍याइन्छ । यसबाट सडक दबिने समस्या रोकिने कार्यालयको विश्वास छ ।


यो प्रविधिबाट यसअघि दोलखामा सडक बनाइएको थियो । यो प्रविधि पनि उपयुक्त नभए नयाँ स्थानबाट राजमार्ग लैजानुको विकल्प नहुने सरोकारवाला बताउँछन् । पहाडको अवस्थाले त्यसमाथि रहेका बस्ती र पुवाखोला जलविद्युत आयोजना पनि जोखिममा छ ।


मुलुकका अन्य राजमार्गभन्दा मेची राजमार्गको बनोट पनि कठिन छ । अत्यधिक साँघुरा गोलाइ रहेको यहाँ सवारी साधनको उस्तै चाप हुन्छ । राजमार्गसँग टाँसिएर बनाइएका संरचना, अव्यवस्थित ढंगले शाखा सडक खोलिनु, राजमार्गमै निर्माण सामग्री थुपारिनु, सडकको क्षमताभन्दा बढी भारका गाडीले पनि जोखिम निम्त्याएका छन् । गोदक खण्डको जौवारी क्षेत्रका १२ र सानो गोदकका ९ वटा गोलाइ कठिन मानिन्छन् । यी गोलाइकै कारण यहाँको पर्यटनलाई समेत प्रभाव परेको सरोकारवाला बताउँछन् । फिक्कल, अन्तु, कन्यामलगायत आउने आन्तरिक पर्यटक सडककै कारण सीमापारि दार्जिलिङ र सिक्कमतर्फ मोडिने गरेका छन् ।


मेची राजमार्गको दुरवस्थाका कारण सदरमुकामसहित त्यसभन्दा माथिका बासिन्दालाई प्रत्यक्ष असर परेको भन्दै इलाम बजारबाट छोटो दुरीमा झापाको बिर्तामोड जोड्ने सडकलाई प्राथमिकतामा राखिएको छ । इलामबाट मेचीराजमार्ग भएर बिर्तामोड पुग्न ८३ किलोमिटरको यात्रा गर्नुपर्छ । फास्ट ट्र्याक खुले सदरमुकामबाट बिर्तामोडको यात्रा आधा कम हुन्छ । ‘आउजाउसँगै कृषि उपजको निकासी र पर्यटन प्रर्वधनका लागि पनि द्रुतमार्गले ठूलो सहयोग पुग्नेछ,’ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले भने, ‘यो सडक खुले इलामसहित अन्य पर्यटकीय स्थलको फेरो मार्न पर्यटकलाई सहज हुने भएकाले सिङ्गो इलामलाई फाइदा पुग्छ ।’ ट्र्याक खुलिसकेको यो सडकमा स्तरोन्नतिको काम भइरहेको छ ।

प्रकाशित : मंसिर १३, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?