१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ठाकुरराम बहुमुखी क्याम्पस : आफन्तलाई नियुक्ति दिइएको भन्दै आन्दोलन

भूषण यादव

(वीरगन्ज) — नियम मिचेर परिवार सदस्यलाई शिक्षक नियुक्त गरेको भन्दै विद्यार्थी संगठनले ठाकुरराम बहुमुखी क्याम्पसका निमित्त र सहायक प्रमुखलाई २ घन्टा क्याम्पसमा थुनेका छन् । सहायक क्याम्पस प्रमुख रोशन लामिछाने, निमित्त प्रमुख प्रमोद गुप्ता र प्रशासन शाखाप्रमुख राजकुमार श्रीवास्तवलाई विद्यार्थीले क्याम्पसको सभाकक्षमा बुधबार मध्याह्न साढे १२ बजे तालाबन्दी गरी थुनेका हुन् ।

त्यस क्रममा प्रहरी र विद्यार्थीबीच झडप हुँदा केही विद्यार्थी सामान्य घाइते भएका छन् । मिलेमतोमा प्रध्यापक र कर्मचारीका आफन्त भर्ना गरिएको भन्दै अनेरास्वयु, राष्ट्रिय विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियन विद्यार्थी संगठनले विरोध गर्दै आएका छन् ।


राजनीतिशास्त्र र समाजशास्त्रमा केही आंशिक शिक्षकको आवश्यकता रहेको भन्दै गत कात्तिक २१ गते क्याम्पसको नियुक्ति समितिले सूचना प्रकाशित गरेको थियो । खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिका लागि ७ दिन भित्र दरखास्त आह्वान र मंसिर २८ मा अन्तवार्ता लिइने जनाइएको थियो । तर, कात्तिक २७ मा क्याम्पस प्रमुखले प्राविधिक कारणवश कात्तिक २८ मा राजनीतिशास्त्र र समाजशास्त्र विषयको आंशिक शिक्षकको अन्तर्वाता अर्को सूचना प्रकाशित नहुन्जेललाई स्थगित गरिएको जनाए । जबकि कात्तिक २८ मा अन्तर्वार्ता लिइने कुनै सूचना यसअघि प्रकाशित गरिएको थिएन । त्यसको एक दिनपछि कात्तिक २९ मा पुनः आंशिक शिक्षकको माग राखी सूचना प्रकाशित गरियो । मंसिर ५ गतेसम्म आवेदन लिएर ८ गते अन्तर्वाता र १० गते नतिजा प्रकाशन गरिएको हो ।


समाजशास्त्रमा २ जना आंशिक शिक्षक नियुक्त गरिए पनि विभागीय प्रध्यापकसँग सल्लाह गरिएको छैन । समाजशास्त्र संकायमा विगत १० वर्षदेखि ५ जना विभागीय शिक्षक कार्यरत छन् । गत आइतबार उनीहरूले आफूहरूलाई जानकारी नगराई आंशिक शिक्षक नियुक्ति थालिएको भन्दै विरोध जनाएका थिए । ‘विभागीय सदस्यलाई समावेश गरी छनोट गर्नुपर्नेमा कसैलाई पनि जानकारी नदिई क्याम्पसलाई अनावश्यक व्ययभार हुने गरि शिक्षक नियुक्त गरिएको छ,’ समाजशास्त्रका पूर्व विभागिय प्रमुख वीरेन्द्रप्रसाद शाहले भने । समाजशास्त्रमा नियुक्त भएकी दिप्ती कटवाल सहायक क्याम्पस प्रमुख लामिछानेकी श्रीमती हुन् ।


निमित्त क्याम्पस प्रमुख गुप्ता राजनीतिशास्त्र लगायत १७ वटा विषयको विभागीय प्रमुख र संयोजक हुन् । स्रोतका अनुसार गत वर्ष गुप्ताले रितिका जैसवाललाई केही दिन क्याम्पसमा अध्यापन गराउन लगाएका थिए । ‘विरोध भएपछि करिब ६ महिनादेख जैसवाल क्याम्पस आएकी थिइनन्,’ स्रोतले भन्यो, ‘अहिले उनैलाई आंशिक शिक्षक नियुक्त गरिएको छ ।’


‘क्याम्पसका सबै शाखामा तालाबन्दी हुँदाहुँदै बिनादर्ता–चलानी घरमा बसेर आफ्नो मान्छे नियुक्त गरिएको छ,’ अनेरास्वयुका नेता सन्दीप विक्रम शाहले भने, ‘श्रीमती र नातेदार नियुक्त गरिएको छ ।’ निमित्त क्याम्पस प्रमुख गुप्ताले आवश्यकता देखिएकाले शिक्षक नियुक्त गरिएको बताए । ‘शिक्षक नियुक्तिमा विद्यार्थी संगठनको के चासो,’ उनले भने,‘ चित्त नबुझेकासँग टेबुल टक गर्न तयार छौँ ।’


विद्यार्थीले क्याम्पसको सबै शाखामा तालाबन्दी हुँदा हुँदै शिक्षक नियुक्त भएकोमा आश्चर्य जनाएका छन् । ‘तालाबन्दीका कारण सबै फाइल र कागजात बन्द कोठामा छन्,’ शाह भन्छन्, ‘तर, दरखास्त र अन्तवार्ता लिएर बिना चलानी र दर्ताको नतिजा प्रकाशित भएको छ ।’


प्रकाशित : मंसिर १२, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?