विवाह महोत्सवको तयारी तीव्र

(धनुषा) — जानकी मन्दिरमा मजदुर सजावटमा व्यस्त छन् । साधु सन्तलाई सिता–विवाहको चटारो छ । आगन्तुकको चाप बढदै छ । जनकपुर सरसफाइ, आमन्त्रण, सरसजावट, जन्तीको स्वागत, खानपान, सांस्कृतिक कार्यक्रमको व्यवस्थापनमा मन्दिर परिवार जुटेको छ । सीताराम विवाहपञ्चमी महोत्सवको तयारी चलिरहेको छ । त्रेतायुगमा राम–जानकीबीच विवाह भएको दिनको स्मृतिमा हरेक मंसिर शुक्ल पञ्चमीमा यो परम्परा भव्यतासाथ मनाइन्छ । सातासम्म चल्ने महोत्सवमा नेपाल, भारत र अन्य मुलुकका पाहुना जनकपुर आउने क्रम सुरु भएको छ । महोत्सवमा अयोध्याबाट जन्ती आउने परम्परा छ । 

प्रहरीले विवाह पञ्चमीका लागि भारतीय सुरक्षा निकायसंग समन्वय गरी उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ । भारतबाट आउने जन्ती र भिआइपीलाई सुरक्षाका लागि सीमा क्षेत्रमा निगरानी थालिएको छ ।


अयोध्याबाट विश्व हिन्दू परिषद्का पदाधिकारीले जन्तीको नेतृत्व गर्ने जानकी मन्दिरका उत्तराधिकारी रामरोशनदास वैष्णवले बताए । ‘विवाह महोत्सव वर्षेनि भव्यतासाथ मनाइन्छ,’ उनले भने, ‘समय अनुसार सजावट, सांस्कृतिक कार्यक्रम र अतिथि फेरबदल भएका छन् ।’


मंसिर १३ गते शुक्रबार भारतबाट आउने जन्तीको स्वागत राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तयारी भएको वैष्णवले बताए । राष्ट्रप्रमुखले अध्योध्याका जन्तीलाई स्वागत गर्न लागेको यो पहिलोपटक हो । राष्ट्रपति भण्डारी जानकी मन्दिरमा विशेष पुजा गरी रंगभूमि मैदानमा आयोजना हुने तिलक कार्यक्रममा सहभागि हुनेछिन् । भण्डारीलाई जनकपुरका स्थानीय कलाकारले जानकी लीला समेत देखाउने कार्यक्रम तय भएको छ ।


महोत्सवमा श्रद्धालुहरूलाई भक्तजनलाई निर्बाध रुपमा सहभागि हुन सुरक्षा व्यवस्था गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए । ‘सुरक्षा निगरानि गर्न ७ जना प्रहरी नयाव उपरीक्षकको कमाण्डमा करिब ४ हजार प्रहरी परिचालन गरिनेछन्,’ उनले भने,‘ बोर्डरमा हतियार, विस्फोटक पदाथा भित्रिन नदिन कुकुरसहितको टोली परिचालन गरिएको छ ।


मेलामा अप्रिय घटना हुन नदिन र चोरी नियन्त्रणका लागि १२ समुहमा सादा पोसाकका प्रहरी खटाइएको छ ।’ १ सय वटा सीसी टिभी क्यामेरा जडान गरी मुख्य सुरक्षा कमाण्ड जानकी मन्दिरमा राख्ने तयारी छ । महोत्सवको सात दिवसीय कार्यक्रम मंगलबार सुरु भएको छ ।


प्रकाशित : मंसिर १२, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?