१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

वनले नियन्त्रणमा लिँदै ‘ई–रिक्सा’

शिव पुरी

(रौतहट) — चन्द्रपुर बजारमा यात्रु बोक्न छाडेर जंगलमा दाउरा ओसार्न पल्केका ई–रिक्साहरूलाई डिभिजन वन कार्यालय रौतहटले धमाधम नियन्त्रणमा लिन थालेको छ । पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर–लमाहा खण्डमा हरेक बिहान दाउरा बोकेर फर्किएका इ–रिक्साको लाम लाग्छ  । दिनभर यात्रु बोक्दाभन्दा दाउराबाट धेरै कमाइ हुन थालेपछि इ–रिक्सा चालक जंगल पस्न थालेका हुन ।

वनले नियन्त्रणमा लिँदै ‘ई–रिक्सा’

उनीहरूले काँचो सालको लाथ्रा समेत ल्याउन थालेकाले वनले यस्तो सबारी नियन्त्रणमा लिई कारबाही गर्न थालेको हो । पछिल्लो समय धेरै जसो ई–रिक्सा र टेम्पोले जंगलबाट दाउरा बोकेर बजारका होटलहरूमा बिक्री गर्न थालेका छन् ।


चन्द्रपुर नगरपालीका ६ र ३ नम्बर वडामा पर्ने राष्ट्रिय वनबाट बढी दाउरा ओसार्न थालिएको हो । जंगलबार दाउरा ल्याउने क्रम बढेपछि स्थानीयले वनलाई रोक्न दबाब दिएका थिए । डिभिजन वन प्रमुख विनोद सिंहले वन हानिनोक्सानी हुने गरी काँचो दाउरा ल्याउन थालेपछि नियन्त्रणमा लिइएको बताए । ‘यात्रु बोक्न छाडेर भएभरका तीनपांग्रे सवारीहरू जंगल छिर्न थाले । दिनभरि दाउरा बोकेर होटलमा बेच्न लागे,’ उनले भने, ‘नियम विपरीत दाउरा ल्याउने काम भएकाले नियन्त्रणमा लिई कारबाही थालेका हौं ।’


उनीहरू दैनिक दुई/तीन ट्रिपसम्म दाउरा ओसार्छन् । एक दिनमा ४ हजार रुपैयाँसम्म कमाउँछन् । बजार चोकका होटल व्यवसायी र पाउरोटी कारखानाले एक रिक्सा दाउराको दुई हजार पाँच सयसम्म दिन्छन् । पछिल्लो समय चन्द्रनिगाहपुरमा तीनपांग्रे सवारी अत्यधिक भित्रिएकाले यात्रु पाउनै हम्मे पर्छ । दिनभर कुर्दा हजार रुपैयाँ पनि कमाइ नहुने चालकहरू बताउँछन् । त्यसैले दाउरा बेचेर भए पनि पैसा कमाउने सोचमा उनीहरू पुगेका हुन् । घरायसी प्रायोजनका लागि भनेर ट्राफिक र वनलाई झुक्याउँदै आएका उनीहरू माथि केरकार सुरु गरेपछि बिक्री प्रायोजनको पोल खुलेको हो । केही मजदुरले भने बाध्य भई दाउरा ओसार्नुपरेको दुखेसो पोखे । नगरपालिकालाई चाहिनेभन्दा धेरै बढी तीनपांग्रे सवारी भित्रिएपछि आम्दानी ह्वात्तै घटेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ई–रिक्सा एकाइ समिति चन्द्रनिगाहपुरका पूर्वअध्यक्ष केदार तिमल्सिनाले बताए । ‘४०/५० वटा इ–रिक्सा भए पुग्ने चन्द्रपुर क्षेत्रमा ३ सयभन्दा बढी भइसक्यो । अनि यात्रु कहाँबाट पाउनु,’ उनले भने, ‘दिनभरि यात्रु कुरेर बस्नुभन्दा केही मजदुर साथीहरू जंगलमा दाउरा लिन जानुहुन्छ र यात्रु ओसारेको भन्दा दोब्बर आम्दानी गर्नुहुन्छ । यसमा हामीलाई भन्नु केही छैन् । सकेसम्म जंगल नगइदिए हुन्थ्यो ।’


दैनिक एक दर्जनभन्दा बढी इ–रिक्सा, टेम्पोहरू दाउरा लिन जान्छन् । उनीहरू बिहान र बेलुकी राष्ट्रिय वनभित्र प्रवेश गर्छन् । पछिल्लो समय वनले गौंडा कुरेर नियन्त्रणमा लिन थालेको छ । घरायसी भन्दै धेरैले व्यवसायजस्तै गर्न थालेकाले कडाइ गरेको वनको भनाइ छ । केही समययता दक्षिण भेगका स्थानीयले साइकलमा समेत काँचो दाउरा ल्याउन थालेका छन् । उनीहरूसमेत बिहान लाइन लगाएर जंगल प्रवेश गर्छन् । निस्कने बेला चोरबाट भएर आउँछन् । वन कर्मचारीले पत्तो पाउँदैनन् । फेला पारे साइकल नियन्त्रणमा लिने गरेको वनका जम्दार विनोद श्रेष्ठले बताए । ‘अवैध दाउरा ओसार पसार गर्ने ई–रिक्सा, टेम्पो र साइकल जेसुकै भए पनि नियन्त्रणमा लिन थालेका छौं,’ उनले भने, ‘जथाभावी वन प्रवेश गरी काठ दाउरा तस्कर गर्नेलाई छाड्दैनौं ।’ वनले नियन्त्रणमा लिइएका सवारीलाई सशस्त्र वनरक्षक सुरक्षा गार्डको कार्यालयमा राख्ने गरेको छ । उनीहरूमाथि कस्तो कारबाही सुरु गरेको भन्ने वनले जानकारी दिएको छैन ।


धेरै भए तीनपांग्रे

चन्द्रनिगाहपुर क्षेत्रमा दशकअघिसम्म पाइडल रिक्साको एकछत्र राज थियो । पछि त्यसलाई विस्थापित गरेर ब्याट्रीबाट चल्ने इ–रिक्सा भित्र्याइयो । दुई वर्षअघिसम्म ५० वटा इ–रिक्सा थिए । अहिले ३ सय ५० को हाराहारीमा छन् । टेम्पोको संख्या पनि बढ्दो छ । यी साधानहरूले यात्रु पाएनन् भने सीधै जंगल जान्छन् । दाउरा लोड गरेर आउँछन् । अहिले जंगलमा ढलेपडेको दाउरासमेत पाउन छाडेको छ । बन्द हडतालका बेला तीनपांग्रे सवारीको रजाइँ हुन्छ । अरू बेला झक मारेर बस्नुपरेको मजदुर तिमल्सिनाले सुनाए । ‘चाहिनेभन्दा धेरै भए । जसले पनि तिनपाग्रै नै किनेर चलाएका छन्,’ उनले भने‘नियन्त्रण गर्ने निकाय कुन हो भन्ने थाहा भएन ।’ यस्ता सवारीका डिलरले समेत बिक्रीमा कडाइ गरेको छैन ।


लाइसेन्सबिना चलाउँछन्

चन्द्रनिगाहपुरमा सञ्चालित धेरै इ–रिक्सा चालकहरूको अनुमतिपत्र (लाइसेन्स) छैन । बिनालाइसेन्स चलाउने चालकलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए । ‘हामीले लाइसेन्सबिना चलाउने मजुदर चालकलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरेका छौं,’ उनले भने, ‘लाइसेन्सबिना तीनपांग्रे चलाइँदा दुर्घटना भयो भने समस्या हुन्छ ।’


ट्राफिकले समेत अनुमतिपत्र नभएका तीनपांग्रे सवारी नियन्त्रणमा लिई कारबाही थालेको छ । यातायातले अटो टेम्पो भनेर लाइसेन्स दिने गरेको छ । ई–रिक्सा चलाउनेलाई समेत यस्तै अनुमतिपत्र दिइन्छ । सहर–बजारको क्षमताभन्दा दोब्बर तीनपांग्रे भित्रिएपछि ट्राफिक व्यवस्थापनमा समेत कठिनाइ हुँदै आएको छ । यस्ता सवारी चलाउने अधिकांश सिकारु भएको पाइएको छ । अधिकांशले त्यत्तिकै चलाइरहेका छन् । चालकहरू लाइसेन्स बनाउनै नपाएको गुनासो गर्छन् । उनीहरू चलाउन दक्ष हुँदैन् । जथाभावी साइड नै नहेरी रिक्सा मोडिदिन्छन् । यसले दुर्घटना निम्त्याउने गरेको पाइएको छ । यहाँ ई–रिक्सा दुर्घटनाको बढेको पाइएको छ ।


प्रकाशित : मंसिर ११, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?