गढीमाई वरफर चटारो

किसानहरु मुख्य मेला सुर हुनुअघि नै बाली भित्र्याउन हतारिएका छन् । यसैबाट उनीहरुले पाहुनालाई खानपिन र बसोबासको खर्च जोहो गर्नु छ ।
शंकर आचार्य, पवन यादव

(पर्सा) र (सिमरा) — महागढीमाई नगरपालिका–१ का प्रभु साह गढीमाई मन्दिरमा पूजा सामग्री बेच्छन् । मंसिर १ देखि मेला लाग्न थालेपछि उनलाई भ्याइनभ्याइ छ । यही बेला खेतमा पाकेको धान भित्र्याउने चटारो पनि छ । भन्छन्, ‘यहा व्यापार हेरौं कि खेतमा पाकेको बाली भित्र्याऊ ।’ मंसिर १० देखि मेलामा भीडभाड बढ्छ । त्यसअघि नै बाली भित्र्याइसक्नुपर्छ ।

गढीमाई वरफर चटारो

गढीमाई मेलास्थल वरपरका आधा दर्जन गाउबासी अहिले यस्तै चटारोमा छन् । बरियारपुर, सेमरा, बर्वा, इनर्वा, धरमपुर, दहियार, कवही जब्दी, गन्जभवानीपुरलगायत गाउँमा धमाधम बाली भित्र्याइँदै छ ।


मेला भर्न आउने दर्शनार्थी खेतबाटै हिँड्न सक्ने भएकाले पहिल्यै बाली भित्र्याइने गरेको बरियारपुरका मनोज चौधरी बताउछन् । ‘मेला लाग्ने बर्ष यस्तै हतारो हुन्छ,’ उनले भने, ‘दर्शनार्थीले बाटो भरिने हुदा अधिकांश खेतबाटै हिड्छन्, चारैतिरबाट मानव सागर उर्लिन्छ ।’


यस बर्ष गढीमाइ मेला व्यवस्थापन समितिले वरपरका किसानलाई १० लाख रुपैया बराबरको सारो जातको धानको बिउ दिएको थियो । यो बीउ छिट्टै पाक्छ । धेरैजसो किसानले धान भित्र्याउन भ्याइसके । करिब ६ बिघा बराबरको नपाकेको धान पनि काटेर हटाइएको छ । यसबापत समितिले किसानलाई प्रतिकट्ठा १ हजार रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । गन्जभवानीपुरका शिवशंकर मिश्रा मेलामा अनगिन्ती पाहुना आउने भएकाले पहिल्यै पुग्ने गरी चामल, दाल, आलु, प्याज, नुन, तेल, मरमसला जोहो गर्नुपर्ने बताउँछन् । ‘घरमा चेलीबेटीको विवाहजत्तिकै रौनक हुन्छ, खर्च पनि करीब उत्तिक्कै हुन्छ,’ उनले भने । मिश्राका अनुसार मेलाको समयमा आफन्त मात्र होइन, उनीहरूका इष्टमित्र र छिमेकी पनि आउँछन् । ती सबैलाई स्वागतसत्कार गरिन्छ । भारतबाटसम्म आफन्तहरू आउने भएकाले एक घरधुरीमा सय जनासम्म हुने उनले बताए ।


अन्न बेचेर खर्च जोहो

बारामा पनि गढीमाई मेला नजिकिदै गएसँगै किसानलाई धान भित्र्याउने चटारो छ । धान बेचेर खर्च जोहो गर्न र फुर्सदमा मेला मनाउन उनीहरू यसरी हतारिएका हुन् । ‘धेरैले उत्पादन भएको धान बेचेर मेलाको खर्च जोहो गर्छन्,’ स्थानीय किसुन पटेलले भने, ‘किसानको नगदे आम्दानीको स्रोत नै धान हो ।’


कलैया उपमहानगर–२ औधापुरका राजदेव राम पनि खेतबाट काँधमा बोकेर धान भित्र्याउँदै छन् । ‘ढुवानी खर्च जोगाउन काँधमै ओसारेका हौं,’ उनले भने, ‘यसरी गर्दा ढुवानी खर्च जोगिन्छ र त्यही पैसाले मेला हेर्न पुग्छ ।’ ढुवानी सकेपछि रातको समयमा थ्रेसरले दाइँ गरिने उनले बताए ।


उत्तर झिटकैयाका प्रमोद पटेल खेतमा ज्याला मजदुरी गर्दै छन् । ‘धान दाइँ गर्ने थ्रेसरमा काम गर्दै छु,’ उनले भने, ‘ज्यालाको रकम परिवारको खर्चमा छुटयाउँछौं ।’ मेलाको खर्च जुटाउन ओभरटाइम काम गर्ने गरेको उनले जानकारी दिए । रोजगारीको शिलशिलामा अन्यत्र गएकाहरू पनि अहिले मेला मनाउन घर फर्किदै छन् ।


वैष्णोदेवी गुफा उद्घाटन

गढीमाई मेलाका अवसरमा बनाइएको ‘वैष्णोदेवी माता’को गुफा सोमबार खुला गरिएको छ । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादव र बाराका प्रजिअ फणीन्द्रमणी पोखरेलले संयुक्त रुपमा गुफा उदघाटन गरेका हुन् । मेला भर्न आउने दर्शनार्थी गुफा अवलोकन गर्न छुटाउँदैनन् । भारतको प्रसिद्ध वैष्णोदेवी मन्दिरकै झल्को दिने गरी यो गुफा बनाइएको छ । प्रवेशका लागि शुल्क तोकिएको गुफाको मुखमा आकर्षक मूर्ति राखिएका छन् ।

प्रकाशित : मंसिर १०, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?