कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतीय टेम्पो नेपाल आउन रोक

शिव पुरी

(रौतहट) — सदरमुकाम गौरमा दशकदेखि सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटका टेम्पोलाई उच्च अदालत वीरगन्जले रोक लगाएको छ । सीमावर्ती बजार बैरगनियाबाट निर्बाध आउने गरेका टेम्पो रोक्न परमादेश जारी भएपछि नेपाली चालक खुसी छन् । 

भारतीय टेम्पो नेपाल आउन रोक

भारतीय टेम्पोहरू यात्रु बोकेर भन्सार नतिरीकनै गौर आउँथे । राति यतै पार्किङ गर्थे । यसविरुद्ध नेपाली व्यवसायीले उच्च अदालत बिरंगजमा निवेदन दिएका थिए । न्यायधिश सत्यमोहन जोशी थारु र बिरबहादुर डांगीको संयुक्त इजलासले भारतीय टेम्पो नेपालमा चलाउन नदिन अन्तरिम आदेश दिएको अदालतका श्रेस्तेदार ठाकुर खरेलले बताए ।


भन्सार राजस्व नतिरी दैनिक नेपाली बजारमा चलाइँदै आएका ती टेम्पोलाई स्थानिय प्रशासन, ट्राफिक प्रहरी, भन्सार कार्यालयले समेत कारबाही गर्न सकेको थिएन । नेपाली व्यवसायीका तर्फबाट वीरगन्ज महानगरपालिका–१६ स्थित लक्ष्मी मोटर्स प्रालिका प्रोपराइटर अरुण कुशबाहाले जिल्ला प्रशासन कार्यालय रौतहटलाई समेत विपक्षी बनाई रिट दायर गरेका थिए ।


अदालतको आदेश बारे प्रमुख जिल्ला अधिकारी किरण थापाले अनभिज्ञता प्रकट गरे । ‘अदालतबाट के आदेश भएको हो भन्नेबारे मलाई कुनै जानकारी छैन,’ उनले भने, ‘हामीलाई समेत विपक्षी बनाई मुद्दा दिएका थिए । यस विषयमा थप बुझ्छु ।’ रौतहटमा यातायात नियमावली उल्लंघन गरी टेम्पु, इ–रिक्सा र भारतीय सवारीसाधन चलिरहेको जानकारीमा भए पनि केही प्राविधिक कठिनाइ रहेको उनले सुनाए ।


महँगो नेपाली नम्बरको टेम्पो खरिद गरेर आफ्नै भूमिमा व्यवसाय गर्न खोज्दा भारतीय टेम्पोले विस्थापित हुने अवस्था आएको व्यवसायी सुखल साहका गुनासो छ । ‘अदालतको आदेशले हामि खुसी छौं,’ उनले भने, ‘भारतीय टेम्पोको दादागिरि बढेको थियो । बल्ल ठिक भयो । अव प्रशासनले आदेश कार्यान्वयन गर्नु पर्छ ।’


पाच वर्षअघि भारतीय टेम्पो रोक्न खोज्दा सीमा क्षेत्रमा नाराबाजी गर्दै उनिहरूले केही समय आवागमन बन्द गराएका थिए । त्यसपछि प्रशासनले बेवास्ता गर्दै आएको हो । भारतीय सिमादेखी ४२ किलोमिटर नेपाली भूमिमा भारतीय नम्बर प्लेटका गाडी र मोटरसाइकल निर्बाध कुदिरहेका छन् । ती चन्द्रनिगाहपुरसम्म पनि आइपुग्छन् । एक दिनको भन्सार तिरिहाले पनि त्यसपछि महिनौं तिर्दैनन् । भन्सार अधिकृत आशुतोष राईले भारतीय नम्बर प्लेटको टेम्पो नेपाल प्रवेश गर्दा ४ सयका दरले राजस्व तिर्नुपर्ने बताए । त्यस्तै मोटरसाईकलले १ सय ५० रुपैया तिर्नु पर्छ । अहिले गौरमा भारतीय टेम्पोको संख्या ६० हाराहारी छ । नेपाली टेम्पो पनि उतिकै संख्यामा रहेको ट्राफिक प्रहरीले जनायो ।


प्रकाशित : मंसिर १०, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?