कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तरकारीमा बिचौलिया हाबी

श्यामसुन्दर शशि

(जनकपुर) — जनकपुर रेल्वे स्टेसनस्थित तरकारी बजारमा बिचौलियाको हालीमुहाली छ । आफैंले उत्पादन गरेको फलफूल र तरकारी बेच्न किसानले ठाउँ पाउँदैनन् । तर एउटै बिचौलियाले तीनवटासम्म पसल ओगटिरहेका हुन्छन् । 

बजार व्यवस्थापन समिति भंग गरिएयता बजार अस्तव्यस्त बनेको स्थानीयको भनाइ छ । अहिले त्यहाँ एक दर्जनजति विक्रेताको हालीमुहाली छ । वास्तविक किसान ठाउँ फेर्दै पसल थाप्नुपर्ने बाध्यतामा छन् । बिचौलियाका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको स्थानीय सञ्जय गुप्ताले बताए ।


‘बजार व्यवस्थापन समिति हटेकाले बिक्रेताले बट्टी तिर्नुपर्दैन, त्यसैले एकै जनाले तीनवटासम्म पसल थापेका छन्,’ उनले भने ।


जनकपुर रेल्वेको जग्गामा तीस वर्षदेखि तरकारी बजार लाग्दै आएको छ । पछिल्लो वर्ष त्यहाँ रहेको महावीर मन्दिर व्यवस्थापन समितिले रेल्वेसँग मिलेर बजार व्यवस्थापन गर्दै आएको थियो । ठेक्काबाट आउने रकममध्ये मासिक ७० हजार रेल्वेलाई प्रदान गर्ने सम्झौता थियो । बाँकी रकम मन्दिर व्यवस्थापनको जिम्मा हुन्थ्यो । समिति अध्यक्ष राजेन्द्र साहका अनुसार उक्त रकम बजारको सरसफाइ, मर्मत सम्भार तथा मन्दिर सञ्चालनमा खर्च हुन्थ्यो ।


जनकपुर उपमहानगरपालिकाले २०७५ जेठ ९ गते मन्दिर व्यवस्थापनलाई बजारको ठेक्का तोडी पालिकाको जिम्मा लगाउन पत्र लेखेको थियो । पत्रमा स्थानीय सरकार संचालन ऐन २०७४ को हवाला दिदै बजार संचालनको जिम्मा स्थानीय सरकारको भएको उल्लेख थियो ।


२०७५ साउनदेखि मन्दिर व्यवस्थापनले बजारको ठेक्का बन्दोबस्त गरेको छैन । उपमहानगरले पनि त्यत्तिकै छाडिदिएको छ ।


व्यवस्थापन गर्ने आधिकारिक निकाय नभएपछि बजार भद्रगोल बनेको स्थानीयको भनाइ छ । उपमहानगरले किसानलाई मारेर बिचौलियाको हितमा निर्णय गरेको उनिहरूले आरोप लगाए । ‘व्यवस्थापन अभावमा वास्तविक किसान मर्कामा परेका छन । मन्दिर र रेल्वेको आम्दानी सुकेको छ । जनकपुर उपमहानगरले समेत ठेक्का बन्दोवस्ती नगरेर बिचौलियाहरूलाई फाइदा पुयाएको छ,’ रमेश मलिकले भने ।

प्रकाशित : मंसिर १०, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?