१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राजपा रौतहटमा चरम गुट : तीन अधिवेशन, तीनै अध्यक्ष

शिव पुरी

(रौतहट) — जिल्लामा राष्ट्रिय जनता पार्टी (राजपा) का तीनवटा गुटबीचको विवाद उत्कर्षमा पुगेको छ । गुटकै कारण दुई दिनअघि सम्पन्न जिल्ला अधिवेशनबाट तीन अध्यक्ष चुनिएका छन् । तीनै जनाले आफैंलाई वैधानिक अध्यक्ष दाबी गरिरहेका छन् । 

राजपा रौतहटमा चरम गुट : तीन अधिवेशन, तीनै अध्यक्ष

सदरमुकाम गौरमा तीन छुट्टाछुट्टै अधिवेशन गरिएपछि विवाद झन् सतहमा आएको हो । राजपा केन्द्रिय समितिले खटाएका पर्यवेक्षक सुनिल रोहितको उपस्थितिमा गौरमा सम्पन्न जिल्ला अधिवेशनले लीला साहलाई अध्यक्ष चुनेको छ । उनकै अध्यक्षतामा कमिटी बनाइएको छ । तत्कालीन माओवादीका सक्रिय कार्यकर्ता उनी पार्टीले बेवास्ता गरेको भन्दै राजपामा गएका हुन् ।


गौर नगरपालिकाको सभाहलमा केन्द्रीय महासचिव एवं गौरका मेयर अजय गुप्ताको सक्रियतामा सम्पन्न अधिवेशनले शेख जम्सेदलाई अध्यक्ष चयन गरेको छ । उनी केन्द्रिय नेता राजेन्द्र महतोनिकट मानिन्छन । त्यसै गरी केन्द्रीय सदस्य एवम् प्रदेशसभा सांसद बाबुलाल साहको सहभागितामा गौरस्थित रामजानकी धर्मशालामा भएको जिल्ला अधिवेशनबाट रामप्रवेश दास अध्यक्ष चुनिएका छन् । दास नेता सरतसिंह भण्डारीनिकट हुन । सांसद साहले दास नै आधिकारिक अध्यक्ष भएको दाबी गरे । ‘केन्द्रबाट पठाइएको पर्यबेक्षकको काम जिल्लामा समन्वय गर्नु हो । तर त्यस्तो भएन । पर्यवेक्षककै कारण तिन अध्यक्ष चुनिएका हुन्,’ उनले भने, ‘अध्यक्ष प्रणाली र बहुमत सदस्यका आधारमा दासलाई अध्यक्ष चयन गरेका हौ ।’


राजपाको केन्द्रीय समितिले अधिवेशन गराउन रोहितलाई कातिक ४ गते रौतहट पठाएको थियो । उनकै सहभागितामा सम्पन्न अधिवेशनबाट लिला साहलाई अध्यक्ष बनाइएको पार्टीका सहमहासचिव अनिल सिंहले बताए । ‘केन्द्रबाट तोकिएको पर्यवेक्षकको रोहबरमा भएको अधिवेशनलाई मान्यता दिनुपर्छ,’ उनले भने, ‘जिल्ला तहमा गुट, उपगुट देखिनु राम्रो होइन । यसलाई यथाशक्य मिलाउनुपर्छ ।’


यति बेला राजपाका अधिकांश कार्यकर्ता जिल्लाको आधिकारीक अध्यक्ष को हो भनी टिपणि गरिरहेका छन् । धेरैले यसलाई चरम गुट–उपगुटको उपज भनिरहेका छन् । पार्टीका केन्द्रीय महासचिव अजय गुप्ताले एउटै जिल्लामा तिन अध्यक्ष बन्नु दु:खद भएको बताए । ‘हामी चाँडै विवाद मिलाउने तयारीमा छौं,’ उनले भने, ‘यस विषयमा केन्द्रमा समेत जानकारी भइसकेको छ ।’ निर्वाचनको तालीका समेत नबनाई केन्द्रिय पर्यबेक्षक रोहितको रोहबरमा एकलौटी ढंगले अधिवेशन गरेको भन्दै दास र जम्सेद समूहले बहिष्कार गरेका थिए ।


समाजबादी पार्टीसग एकीकरणको चर्चा भइरहदा राजपालाई जिल्ला तहकै विवाद मिलाउन हम्मे परेको छ । तीनै जना अध्यक्ष पार्टी कार्यालय गएका छैनन । उनिहरूले आफनो पक्षका मानिसलाई राखेर जिल्ला समिति गठन गरिसकेका छन ।


जिल्लामा बिगतमा राजपाका नेता अनिल झा र राजेन्द्र महतोका गुट हाबी थिए । जिल्ला तहको बिवाद मिलाउन केन्द्रले मसिर २५ सम्मको समय दिएको छ । केन्द्रले कातिक ३० भित्र जिल्लाको अधिवेश सक्न निर्देशन जारी गरेको थियो । तर जिल्ला तहमा देखीएको बिवादले ढिलाइ भएको राजपाका सह महासचिव सिंहले जनाए ।


उनले भने, ‘जिल्ला तहमा देखिएको बिवाद र रौतहटमा तिन जना अध्यक्ष चुनिएको बिषयलाई केन्द्रले गम्भिर रुपमा हेरेको छ ।’ मधेश आन्दोलनका बेला अग्रणि भूमिका खेलेको जिल्लामा मधेशबादी दलमै बिवाद देखीनु दुर्भाग्य भएको पार्टीका पुराना जिल्ला नेताको भनाई छ । मधेशबादी ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी(राजपा) गठन भएको हो ।


प्रकाशित : मंसिर ८, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?